वाइडबडी जहाज खरिदमा ४ अर्ब भ्रष्टाचार ठहर, पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित दुईजना पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस

 पुष १८, २०७५ बुधबार ६:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ ।

उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित २ जना पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गरेको हो ।  उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मन्त्री अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ । उपसमितिले पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि दोषी देखाएको छ ।

यस्तै वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि तत्काल निलम्बन गरेर कारबाही गर्न भनिएको छ । उपसमितिले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र अहिले राष्ट्रियसभाका सदस्यसमेत रहेका पूव पर्यटन मन्त्री जितेन्द्र नारायण देवलाई कारबाहीको सिफारिस गरेको छ । 

उपसमितिले वाइडबडीको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन पनि सिफारिस गरेको छ ।

उपसमितिका एक सदस्यका अनुसार कारबाहीको सिफारिस गरिएका सबैले पैसाकै अनियमितता नगरे पनि निर्णयको भूमिकामा जथाभावी गरेकोले कारबाहीको सिफारिस गरिएको हो ।

उपसमितिले तयार पारेको प्रतिवेदन बुधबार बस्ने लेखा समितिको पूर्ण बैठकमा पेश हुनेछ । पूर्ण समितिले प्रतिवेदन पारित गरेमा बाइडबडीमा भएको भनिएको नियमितता अहिलेसम्मकै ठूलो अनियमितता हुनेछ ।

नेपाल वायुसेवा निगमले गएको असार र साउनमा झण्डै २५ अर्ब रुपैयाँ खर्च गरेर एयरबस कम्पनीका २ वटा वाइडबडी जहाज खरिद गरेको थियो  यसमा नागरिक लगानी कोष र सञ्चय कोषको मुख्य लगानी छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया