चीन भ्रमणको विषयमा प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्री र पर...
मंसिर १०, २०८१ सोमबार
मोरङ – बुधबार बिहान झण्डै पौने ५ बजेको थियो । मानिसहरु कोही आगो तापेका, कोही मर्निङ वाकमा निस्किएका थिए । हेल्मेट लगाएका केही व्यक्ति साइकलमा आए ।
ती व्यक्तिलाई देख्नेबित्तिकै विराटनगर महानगरपालिका–५, कोचाखालमा आगो तापेर बसेका स्थानीय झस्किए । बिहानीको झिसमिसे अँध्यारोमै यसरी साइकलमा, त्यो पनि हेल्मेटमा आएका व्यक्ति बिस्तारै साइकलमा कटे । अनी ती साइकलमा आएका व्यक्ति त्यहाँको गतिबिधिको बारेमा बुझ्दै अघि बढे ।
त्यसपछि मात्र पछाडि लेखिएको ‘नागरिक सहयोगी प्रहरी’ स्थानीयले देखे र उनीहरुलाई बोलाएर आफ्ना कुरा सुनाउन थाले । गाउँमा केही व्यक्तिले जाँड खाएर होहल्ला गर्ने अनी घरेलु जाँड–रक्सी ओसार पसारको बारेमा पनि उनीहरुलाई सु्नाए ।
त्यहाँ पुगेको साइकल गस्तीमा भएका प्रहरी टोलीका रुद्र लिम्बू, गंगाराम मण्डल, विजय विष्ट र कर्णबहादुर राईले उनीहरुको समस्या टिपोट गरेर ल्याए ।
हरेक दिन यसैगरी साइकलमा निस्कने प्रहरीलाई सर्वसाधारणले केही न केही समस्या सुनाउँदै आएका छन् । गाउँका समस्या त सुनाउँछन् नै, गाउँमा हुनसक्ने सम्भावित घटनाको बारेमा पनि प्रहरीलाई जानकारी गराउने गरेको वडा प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले बताउनुभयो ।
डीएसपी कार्कीले यसरी बिहानै ४ बजे नै उठेर साइकलमा निस्कने प्रहरीहरुले सर्वसाधारणको घरमा पस्ने अनी पानी मागेर खाने र त्यहाँका विभिन्न उमेर समूहका व्यक्तिहरुसँग पनि छलफल गर्ने गरेको जानकारी दनुभयो ।
पछिल्लो समय साइकल गस्ती शुरु गरेको केही समयमा नै धेरै सूचनाहरु सहज रुपमा प्राप्त गर्न थालेकोमा प्रहरीलाई काम गर्न सजिलो भएको छ । यसरी बिहानै हिँडेको प्रहरीलाई आउने सूचनामा लागुऔषध, गाँजा, मदिराको ओसार पसार र बिक्री वितरण, झै–झगडा, चोरी, घरेलु हिंसाका घटनाहरु रहेका छन् ।
जिल्ला प्रहरी कर्यालय मोरङले असोज ३० गतेदेखि चाडवाड लक्षित सुरक्षा योजना अनुसार शुरु गरेको साइकल गस्ती प्रभावकारी भएपछि अहिले यसलाई निरन्तरता दिइएको हो । साइकल अभियान, इलाका प्रहरी कार्यालय रानी, वडा प्रहरी कार्यालय विराटनगर, वडा प्रहरी कार्यालय हाटखोला र इलाका प्रहरी कार्यालय नेमुवामार्फत साइकल गस्ती गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिनुभयो ।
पहिलो चरणमा विराटनगर लक्षित साइकल गस्ती शुरु गर्नुको कारण महानगर तथा १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगरको सुरक्षा सम्बेदनशीलतासँग पनि जोडिएको उहाँको भनाई थियो ।
अहिले यी क्षेत्रमा २६ वटा साइकल नियमित गस्तीमा हिँड्ने गरेको छ । विशेषगरी साइकल गस्तीले बिहानै मर्निङ वाकमा हिँड्दै गरेका सर्वसाधारणबाट धेरै फाइदा लिएको छ भने मर्निङ वाकमा निस्किएका व्यक्तिलाई पनि सहज बनाएको छ ।
एउटा गस्ती समूहमा ३ वटा साइकल हुन्छ । एकै पटक गस्तीमा २६ वटा साइकल निस्कँदा कुनै घटना भइहाले त्यहाँ तत्काल प्रहरी पुग्न सजिलो भएको एसपी केसीले बताउनुभयो ।
विराटनगरमा गएको असोज ३० गतेदेखि शुरु भएको प्रहरी साइकल अभियानले अपराध रोकथाममा सहज भएपछि प्रहरीले अब रुट बढाउने तयारी थालेको छ । रुट बढाउनभन्दा पहिला अहिले भएका साइकलमा जीपीएस जडानको तयारी गरेको छ ।
एसपी केसीका अन्ुसार जीपीएस जडान गरेपछि कुन साइकल गस्तीको टोली कहाँ पुगेको छ भन्ने कार्यालयबाट नै थाहा हुने भएपछि त्यसलाई प्रभावकारी बनाउनको लागि साइकलमा जीपीएस जडान गर्न लागिएको हो । अब साइकलमा जीपीएस जडानसँगै साइरन र लाइटको व्यवस्थाले प्रहरीलाई गस्तीमा धेरै सजिलो हुने उहाँको तर्क छ ।
एसपी केसी भन्छन्, ‘माताहत कार्यालयबाट क्युआरटीमा सधैँ साधन माग्दा मोटरसाइकल माग्ने गरेको छ । मोटरसाइकल र गाडीको काम भनेको गर्नु पर्ने काम गरेर फर्किने नै हो तर गस्ती गर्न जाँदा त आम नागरिकसँग बस्ने कुरा गर्ने र उनीहरुको दुःख सुखको कुरालाई सुन्नु र नागरिकसँग नजिकै रहेर काम गर्नु पनि हो । त्यसको लागि साइकल नै प्रभावकारी हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।