चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
छिमेकी भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाण्डिजको ८८ वर्षको उमेरमा निधन भएको समाचार सबैभन्दा पहिले मंगलबार अपरान्ह सामाजिक सञ्जालमा पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताबाट थाहा पाइयो । प्रख्यात समाजवादी नेता भन्दै गुप्ताले गरेको पोष्ट पढेपछि झल्याँस्स २५ वर्षअघिको स्मृतिमा पुगियो । त्यसैक्रममा भारतीय मूल प्रवाहका समाचारहरुमा बेलाबेला ठूल्ठूला शीर्षक बन्ने गरेका फर्नाण्डिजका साथै २५ वर्षअघि आफूले पनि बनाएको समाचार र शीर्षक सम्झना आउनु स्वाभाविकै थियो ।
एक साँझ साथीले “विशेष कार्यक्रम” भन्दै मलाई थापाथलीमा रहेको होटल ब्लूस्टार पुर्याए । मूल सडकमा रहेको गेटदेखि नै फूलका गुच्छा र खादा लिएर हिमाली भेषभुषामा ठूलो संख्यामा मानिसहरुको लाइन प्रतिक्षारत थियो । पुग्नेबित्तिकै स्पष्ट भयो, कुनै विशेष अतिथिलाई स्वागतको तयारी रहेछ ।
भीड चिर्दै तेस्रो तलामा रहेको ठूलो र भव्य हलमा पुग्दा स्पष्ट भयो, यो तिब्बती शरणार्थी र उनका “फ्री तिब्बत” समर्थकहरुको भेला रहेछ । खचाखचबीच पनि भीड छिप्पिँदो रातमा पनि सहभागीका संख्या बढ्दो थियो । त्यस्तोमा पत्रकार दीर्घातर्फ आँखा दौडाउँदा साथीहरु निकै कम संख्या मात्रै देखिए ।
को आउन लागेको ? कसको प्रतिक्षा हो ? सबैमा जिज्ञासा थियो । तर सबैले सबैसँग सोध्ने मात्रै । लाग्थ्यो, कसैलाई थाहा नै थिएन । यसरी झण्डै डेढ घण्टा बितेपछि बल्ल भीडमा आश्चर्यजनक सल्बलाहट हुन थाल्यो । केही मिनेटपछि एकजना सेतो कुर्था–पाइजामा लगाएका, सेतै कपाल भएका व्यक्ति विशेष सुरक्षा घेराबीचबाट हिँड्दै अगाडि आउँदै थिए । उनलाई मूलगेटदेखि नै भव्य स्वागत गरिएको थियो ।
झलक्क देखिनेबितिक्कै भारतीय जस्ता लाग्ने व्यक्तिलाई सरासर भव्य सजाइएको मञ्चतर्फ लगियो । उद्घोषकले परिचय गराए, उनी त छिमेकी भारतका समाजवादी नेता जर्ज फर्नाण्डिज रहेछन् । भर्खरै गोप्य रुपमा भेष बदलेर तातोपानीको बाटो हुँदै अर्को छिमेकी मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत पुगेर त्यहाँको जनजीवन बुझेर आएका रहेछन् ।
छिमेकी मित्रराष्ट्रका एक चर्चित नेताका आकस्मिक भव्य स्वागत त्यो पनि बिना कुनै राजनीतिक र कुटनीतिक भेलामा भएपछि सहभागी सबै चनाखो र सतर्क रहनु स्वाभाविकै थियो । त्यसमाथि त्यहाँ मुख्य अतिथि बनेर पुगेका फर्नाण्डिजले दिनुभएको अभिव्यक्तिले झनै सबैका कानहरु ठाडा–ठाडा भए । त्यहाँ ठूलो तालीको गड्गडाहटबीच फर्नाण्डिजले “तिब्बतमा चीन सरकारले जनतामाथि शोषण र दमन गरिरहेको” भन्दै “आफ्नै आँखाले वस्तुस्थिति हेरेर आएको” भन्दै थिए । उनले स्पष्ट शब्दमै तिब्बतसम्म पुग्न आफूले “नेपालबाट तातोपानी नाका हुँदै नेपाली र चिनिया सुरक्षाकर्मीको आँखा छलेर सीमानाबाट प्रवेश गरेको” वर्णन गरे ।
त्यस कार्यक्रममा नजिकबाट देखिएका फर्नाण्डिज र उनको तिब्बत भ्रमणको वर्णनबाट सहभागी तिब्बती शरणर्थीहरु निकै उत्साहित थिए । म भने यसलाई कसरी समाचार प्रस्तुत गर्ने भनेर सोचिरहेको थिएँ । भोलिपल्ट त्यस भेलाको मुख्य समाचारका रुपमा “तिब्बतमा मावनअधिकारको अपहरण भैरहेको छ” भन्ने शीर्षकमा जर्ज फर्नाण्डिजकै भनाई उदृत गर्दै “न्हूगु विश्वभूमि” नेपालभाषाको सन्ध्याकालीन दैनिकमा मुख्य समाचार प्रकाशित गरियो । त्यसपछिका दिनहरुमा पनि धेरै साप्ताहिकहरुले आ–आफ्ना टिप्पणीसहित त्यसलाई निरन्तर समाचार बनाए । त्यहाँबाट नेपाल, चीन र भारतबीच अचम्मको स्थिति सृजना भयो ।
फर्नाण्डिजको त्यस भाषण तरंगपछि चिनिया सरकारकातर्फबाट दबाव परेकाले हरेक पटक झैं “तिब्बत मामिलामा नेपालको भूभाग प्रयोग हुन नदिने” दृढ संकल्प तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट आयो । पत्र–पत्रिकामा चीन र भारतबीच वाक्युद्ध चर्किएको देखियो । नेपालभित्रबाटै पनि कतिपय राजनीतिक दल साथै संघ–संस्थाहरुबाट विभिन्न भनाइका साथ वक्तव्यको ओइरो लाग्न थाल्यो । धेरैको भनाई जर्ज फर्नाण्डिजको सुटुक्क गरिएको तिब्बत भ्रमण नेपाल–चीन मित्रतामा भाँजो हाल्ने र सार्वभौमिकतामै आक्रमण गर्ने नियतका साथ गरिएको भन्ने थियो । यसमा तिब्बती शरणार्थी भड्काएर चीनबाट तिब्बती भूभाग अलग्याउने भारतको अन्तर्निहीत स्वार्थ प्रकट भएको आशयहरु बहिरियो । त्यस घटना लगत्तै नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई धरपकडको क्रम व्यापक रुपमा बढाइयो ।
यो घटनाले नेपालको राष्ट्रिय अखण्डतामा हस्तक्षेप नै भएको भन्दै तत्कालीन जनवादी मोर्चा नेपालका प्रवक्ता ज्योतिरत्न शाक्यकातर्फबाट पनि वक्तव्य जारी गरिएको थियो । यसै क्रममा फर्नाण्डिजको निधनमा दुःख प्रकट गर्दे लेख्नुभएका जयप्रकाश गुप्ताले पनि उनी नेपालका घनिष्ट मित्र, प्रजातन्त्र स्थापनाको आन्दोलनमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालालाई प्रवासमा रहँदा जीवन रक्षाका लागि अमेरिका जान भारतीय ट्राभल डकुमेन्ट उपलब्ध गराएको, नेपाली प्रजातन्त्रका लागि भारतीय संसदमा लबिङ गरेको, नेपाल सोलिडारिटी समूह गठन गरेको, नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको सदस्यता दिलाएको, सशस्त्र कारबाहीको गतिविधि गरिरहँदा इजरायलबाट हतियार उपलब्ध गराएको जस्ता महत्वपूर्ण कार्यले नेपालको प्रजातन्त्र उहाँको ऋणी रहेको साथै तिब्बती नागरिकको मानवअधिकारको प्रखर वकालत गरेको उल्लेख गरिएको छ ।
फर्नाण्डिजको निधनमा मंगलबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रकाशित वक्तव्यमा उनलाई “ग्रेट डिफेन्स मिनिस्टर” भनिएको छ । सबैजसो प्रकाशित समाचारमा उनी अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्री हुँदा गरिएको पोखरण आणविक परीक्षणका प्रमुख पक्षपातीका रुपमा दर्शाइएको छ ।
फर्नाण्डिजको भाषण प्रकरणपछि नेपाल–तिब्बत प्रमुख नाका तातोपानी–लिपिंग क्षेत्र पनि पुगियो । त्यतिबेला पनि नेपाली नागरिकका लागि आवत–जावत सहज नाकामा सानातिना तस्करी सामान्य रुपमै हुने गरेको थियो । चिनियाँ सुरक्षाकर्मीहरुले समेत नगरेका सुरक्षा जाँच ठाउँ–ठाउँमा ढाटले छेकेर नेपाली सुरक्षाकर्मीहरुले सर्वसाधारणलाई हैरानीमा पारेको देखिन्थ्यो । सानातिना झोले व्यापारीहरु पनि त्यस्ता सुरक्षाकर्मीलाई झुक्याउन सिपालु भैसकेका देखिन्थे ।
२५ वर्षपछि आजको वास्तविकता हेर्दा बाढी, पहिरो र भूकम्पले तातोपानी नाकासम्म पुग्ने बाटो ठप्प छ । त्यस नाकाबाट हुने गरेका व्यापार व्यवसाय सुकेका छन् । उत्तरतर्फको “गुलजार” शहरहरु “खण्डहर” जस्तै देखिन्छन् । यसका बावजुद पनि चीन सरकारकै सहयोगमा बन्दै गरेको काठमाडौं–कोदारी राजमार्ग आगामी मे १ तारिखका दिन खोल्ने सूचनाले त्यस क्षेत्रका वासीन्दा र व्यवसायीको आशा जगाएको छ । अब फेरि त्यस्तो दुरुपयोग वा घुसपैठ कसैले नगरोस्, जसले नेपाल–चीन–भारतको सम्बन्धमा तीतोपना नआओस् भनेर कामना गरौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।