चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
लमजुङ – गोलो, गोरो मुहार । ठिक्कको कद । मिजासिलो व्यवहार । नम्र स्वभाव । त्यसैमाथि मिठो, सुरिलो आवाजकी धनी छिन्, चर्चित गायिका माण्डवी त्रिपाठी । सयौँ चलेका गीतमा आवाज भर्नुभएको छ, गायिका माण्डवीले ।
उनको ‘स्वीट भ्वाइस्’ सबै खाले गीतमा ‘फिट’ छन् । उनले गाएका प्रायः अधिकांश गीत ‘हिट’ छन् । दर्शक/श्रोताको मन, मष्तिष्कमा पनि बसेका छन् ।
लोक, भजन, चलचित्र र आधुनिक गीतका साथै विभिन्न भाषाभाषीका गरी सयौँ चर्चित गीतमा आफ्नो ‘जादुमयी श्वर’ भरेकी छिन्, गायिका माण्डवीले । सबै खाले गीत गरी माण्डवीले हालसम्म २ हजार बढी गीतमा आफ्नो आवाज दिइसकेकी छिन् ।
उनको जन्म लमजुङको सुन्दरबजार–९,तार्कुटारमा भएको हो । माण्डवीको बुवा शम्भुप्रसाद त्रिपाठी पेशाले शिक्षक थिए । शिक्षण पेशामा भए तापनि उनमा संगीतप्रति औधी रुचि थियो ।
विद्यालयको सांस्कृतिक पाटो पनि उनले नै हेर्थे । घरमा उनी हार्मोनियम बजाउँदै भजन, आधुनिक गीत गुनगुनाउथे । एक हिसाबले त्रिपाठी परिवारको वातावरण नै संगीतमय थियो । त्यो छाप सानैदेखि माण्डवीमा पनि पर्न गयो ।
१२ वर्षको उमेरदेखि नै उनले गीत गाउन थालिन् । विद्यालयमा हुने विभिन्न कार्यक्रममा पनि उनी गीत गाउन तम्सिन्थिन् ।
२०५१ सालमा लमजुङकै तार्कुघाटमा रहेको वीरभक्ति माविमा दूधपोखरी प्रतिभा परिवारले लक्ष्मी जयन्तीको अवसरमा एक साँगीतक कार्यक्रमको आयोजना गरेको थियो । त्यो बेला उनी सुन्दरबजार बरेटारमै रहेको आदर्श बाल माविको कक्षा ६ मा पढ्थिन् ।
कार्यक्रममा भाग लिन आफूभन्दा दुई वर्ष कान्छो भाइ राजन त्रिपाठीसँगै उनी पनि गइन् । कार्यक्रममा रेडियो नेपालको ‘साहित्य संसार’ कार्यक्रमका सञ्चालक यज्ञनिधि दाहाल, साहित्यकार सरुभक्तलगायतका थुप्रै दिग्गज व्यक्तिहरु पनि आएका थिए ।
कार्यक्रममा माण्डवीले ‘कुन मन्दिरमा जान्छौ यात्री...,’ भन्ने गीत गाएकी थिइन् । उनको गायनलाई धेरैले मन पराए । उनको गायन प्रतिभा देखेर यज्ञनिधि दाहालले माण्डवी र राजनको विषयमा रेडियो कार्यक्रम नै बनाउने प्रतिवद्धता सुनाएका थिए । र छिट्टै काठमाण्डौ आउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा गीत गाएपछि माण्डवीले सबैको वाहवाही पाएसँगै बुवा शम्भुप्रसादले पनि छोरी माण्डवीलाई गीत/संगीत क्षेत्रमा लाग्न प्रोत्साहन गरे । कार्यक्रम भएको २ महिनामै राजन र माण्डवीलाई लिएर बुवा शम्भुप्रसाद त्रिपाठी काठमाण्डौ गए र यज्ञनिधिसँग भेटघाट पनि भयो ।
यज्ञनिधि पनि आफूले गरेको प्रतिवद्धताबाट पछि हटेनन् । ‘उहाँले लमजुङ आउँदा जे प्रतिवद्धता गर्नुभएको थियो । काठमाण्डौ गएपछि पनि उहाँले आफ्नो प्रतिवद्धता पूरा गर्नुभयो । हाम्रो विषयमा १०/१५ मिनेटको कार्यक्रम बनाएर रेडियो नेपालको चर्चित कार्यक्रम ‘साहित्य संसार’बाट प्रसारण पनि भयो । त्यो समयमा यति हुनु हाम्रो लागि निकै ठूलो कुरा थियो’, माण्डवी सम्झन्छिन् ।
सबैको साथ, सहयोग, सद्भाव र मायाले नै आफूलाई संगीतमा लाग्न प्रेरणा प्रदान गरेको उनी बताउँछिन् । ‘त्यही स्कुलको कार्यक्रमलाई म मेरो जीवनकाे टर्निङ प्वाइन्ट ठान्छु’, उनी सम्झन्छिन् ।
आदर्श बाल माविबाटै एसएलसी उत्तीर्ण गरेपछि उनी संगीत पढ्नका लागि लमजुङबाट काठमाण्डौ आइन् । संगीत पढ्न र संगीतमा लाग्न बुवा र माता भगवती त्रिपाठीको पनि साथ मिल्यो, माण्डवीलाई ।
माण्डवीले ललितकला क्याम्पसबाट संगीतमा स्नातक तहसम्मको पढाई पूरा गरेकी छिन् । साथमा संगीतकार चन्दनकुमार श्रेष्ठसँग पनि संगीत सिकिन् उनले ।
सुरुमा स्टुडियोमा रेकर्ड गराएको गीत ‘नौ डाँडापारी मेरो दिलको राजा....’ । तर यो गीतको ‘कमर्सियल रिलिज’ भने भएन । ‘त्यो बेला खासै ‘आइडिया’ पनि भएन । त्यो गीत भोकल टेष्टको लागि गाइएको थियो’, उनी भन्छिन् ।
नेपाली चलचित्र ‘हिम्मत’बाट ‘पश्चिमको यो ठिटीलाई पूर्वकै ठिटो मन पर्यो...’ भन्ने गीतबाट ठूलो पर्दाको चलचित्रको पाश्र्व गायनमा पाइला चालेको उनी बताउँछिन् । यसपछि, उनी चलचित्र उद्योगमा ‘प्ले ब्याक फिमेल सिंगर’को रुपमा पनि परिचित भइन् । उनले ‘सिम्पल सिम्पल कान्छीको...,’ ‘ढल्क्यो ढल्क्यो...,’ ‘माया हातमा रुमाल हल्लाउँदै...,’ ‘मात लाग्यो मात लाग्यो...,’ लगायतका दर्जनौँ चलचित्रका गीतमा समेत आवाज भरेकी छिन् ।
बिहेपछि झनै आफ्नो संगीत यात्रा अघि बढेको उनी सम्झन्छिन् । माण्डवीका श्रीमान् संगीतकार, एरेञ्जर विपिन आचार्य हुन। ‘श्रीमान् पनि संगित क्षेत्रकै हुनुहुन्छ । मेरो संगीत यात्रामा उहाँको एकदमै साथ मिलेको छ,’ उनले मुस्कुराउँदै भनिन्, ‘बिहेपछि मेरो संगीत यात्रा झन् अघि बढेको छ ।’
गायिका माण्डवी र संगीतकार विपिनले काठमाण्डौमै ‘एमबी म्युजिक रेकर्डिङ स्टुडियो’ समेत सञ्चालनमा ल्याएका छन् ।
पछिल्लो समय गीत/संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्नेहरु बढ्दै गएका छन् । गीत/संगीतमा लाग्न खोज्नेहरुलाई घरपरिवारबाट साथ/सहयोग मिल्न थालेको छ ।
संगीत क्षेत्रमा आउन चाहने नयाँ प्रतिभालाई माण्डवीको सुझाव छ, ‘दिल खोलेर आउनुस् । मेहनत गर्नु्स् । नेपाली म्युजिक इन्डष्ट्रीलाई बलियो बनाउँछु भन्ने सोचका साथ आउनुस् ।’
गीत रेकर्डिङसँगै देश/विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त गायिका माण्डवीले अन्त्यमा भन्छिन्, ‘म्युजिक फिल्डमै अझै केही राम्रो गरौँ भन्ने सोचका साथ अबका दिनमा पनि म्युजिककै लागि रहनेछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।