बीपी उद्यानका लागि छुट्याइएको जग्गामा शहीद पार्क बनाउन लागेकोमा कांग्रेसको आपत्ति

 माघ २७, २०७५ आइतबार १७:३३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वीरगञ्जमा बीपी उद्यान निर्माणका लागि छुट्याइएको जग्गामा प्रदेश २ को सरकारले शहीद स्मृति पार्क निर्माण गर्न लागेकोमा आपत्ति जनाएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको माघ २४ गते बसेको बैठकले वीरगञ्जमा २०४९ सालमै बीपी उद्यानका लागि छुट्टयाएको १० विघा जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा आपत्ति जनाएको हो । 

माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजमा रहेको बीपी उद्यानको जग्गामा शहीद स्मृति पार्कको शिलान्यास गर्नु भएको थियो । 

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले देशकै सर्वमान्य नेता बीपीको नाममा स्थापना गर्न लागिएको उद्यानको जग्गामा शहीद समृति पार्क बनाउने प्रदेश सरकारको निर्णयप्रति पार्टी केन्द्रीय कार्य समितिले गम्भीर आपत्ति जनाएको जानकारी दिनु भएको हो । उहाँले बीपी उद्यान निर्माण गर्ने निर्णय यथास्थितिमै राखेर बीपी उद्यान निर्माण प्रक्रिया तत्काल सुरु गर्न पनि सरकारसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसले त्यो जग्गा बीपी उद्यानबाहेक अरु कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाउने गरी सरकारले बीपी उद्यानको नाममा जग्गाको पूर्जा उपलब्ध गराएको दाबी पनि गर्नुभयो । प्रवक्ता शर्माले २०६० साल कार्तिकमा तत्कालीन श्रम तथा यातायातमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अर्कै नाममा अहिले आएर पार्क बनाउन खोज्नु वर्तमान सरकारकै गलत मनसायको उपज भएको दाबी पनि गर्नुभयो । 

नेपाली कांग्रेसले दबाब दिएपछि गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई संघीय सरकारको मातहत नल्याउने गत पुस २३ गतेको निर्णय सच्याउन सरकार बाध्य भएको थियो ।
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया