धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
मोरङ – जे नहुनु पर्ने, त्यो भैसकेपछि धेरैलाई विगतसँग औधी पछुतो हुन्छ । सञ्जु लिम्बूको जीवनमा यस्तै पछुतो भएर बसेको छ, डेढ वर्षे कुवेत यात्रा ।
समयको फेरो लामो भइसक्यो । तर पनि छोराछोरी छाडेर परदेश लाग्दाको पीडा मनमा अझै आलै छ ।
‘छोराछोरी छाडेर परदेश किन जानुभयो त’ मोरङ कानेपोखरी चोकमा भेटिएकी सञ्जुलाई मैले मन नपर्ने प्रश्न गरें ।
‘बुढो नै जान खोजेका थिए, तर मेडिकल अनफिट आयो, छोराछोरीको भविष्यका लागि भनेर म आफैं गएकी हुँ, विदेशमा त्यस्तो हुन्छ भन्ने के थाहा र !’ उहाँले सहज जवाफ दिनुभयो ।
दुई सान्तानलाई श्रीमानको साथमा छाडेर परदेश जानुको कारण छोराछोरीको भविष्यभन्दा अर्को थिएन । सञ्जुलाई कमाएर छोराछोरीलाई राम्रोसँग पढाउँला भन्ने आशाको त्यान्द्रोले नै कुवेत पुर्याएको थियो ।
‘जसको लागि भनेर गइयो, फर्किंदा उनीहरुकै अवस्था देखेर मलाई विदेश किन गएछु भन्ने लाग्छ,’ यसो भनिरहँदा उहाँको आँखाका गह भरिएर छचल्किन खोजे । आँसु लुकाउन सञ्जु अर्कातिर फर्कनुभयो ।
सञ्जुको झण्डै विदेशमै ज्यानै गयोे । यता छोराछोरीको पनि आमा नहुँदा बिजोग भयो । त्यति मात्र हैन विदेश गएकै कारण अनेकन आक्षेप सहन पर्यो । विदेश गएर गर्नै नहुने गल्ती गरेझैं भयो सञ्जुलाई ।
सञ्जुले नौ वर्षअघि २०६६ सालमा कानेपोखरीबाट झोला बोकेर परदेश लाग्दाको दिन सम्झनुभयो ‘बाध्यताले जानुपर्यो नि विदेश, रहरले त को जान्थ्यो र ?’
दुई बालबच्चा स्कुल जाने भएपछि खेतीपातीको कमाईले पढाइ खर्च धानेन । सञ्जुका श्रीमानले पासपोर्ट बनाए । म्यानपावर धाए । विदेश जाने लगभग तयारी भइसकेको थियो । तर स्वास्थ्य जाँच गर्दा अनफिट आयो ।
‘मै जान्छु नि त, गाउँमा अरुका श्रीमतीहरु पनि गएकै छन्,’ मेडिकल रिपोर्ट अनफिट आएपछि निराश भएका श्रीमानलाई सान्त्वना दिँदै सञ्जुले भन्नुभयो ।
श्रीमानले सञ्जु फर्किएपछि आफू जाने भन्दै विदेश जाने अनुमति दिए । घर सल्लाह भएपछि छिमेकी समेत रहेका विदेश पठाउने एजेन्टलाई आफ्नो योजना सुनाउनुभयो । पासपोर्ट बनाउनेदेखि जाने देशको टुंगो लगाउने काम पनि एजेन्टले नै गरिदिए ।
पासपोर्ट बनाउन १० हजार रुपैयाँ र कुवेत जाने हवाइभाडा भन्दै २५ हजार रुपैयाँ गरी सञ्जुले दलाललाई ३५ हजार रुपैयाँ बुझाउनुभयो ।
२०६६ सालमा दिल्लीबाट जहाज चढेर उहाँ कुवेत पुग्नुभयो । घरको काम । लुगा धुने, भाँडा माझ्ने, सफा गर्ने थियो । ‘घरको काम भनेर के गर्नु, त्यही काम पनि गर्न नजानिने रहेछ, पढेलेखेको होइन आफूले, कोही नबुझिने खुब गाह्रो भयो,’ सञ्जुलाई ती दिन अहिले सम्झन पनि मन लाग्दैन ।
पहिले पहिले भाषा नबुझ्दा समस्या थिएन । उनीहरुले गाली गरेका हुन् कि माया भन्ने नबुझेपछि आनन्दै ! समयसँगै धेरथोर भाषा बुझ्न थालेपछि भने सञ्जुलाई लाग्थ्यो भात खान नपाइयोस्, तर यस्तो गाली सहन नपरोस् ।
‘तँलाई पैसा तिरेर ल्याएको हो, ठग्न पाउँछेस् भन्ने, नेपाली त कामै छैन कामै नजान्ने भन्दै छिः छि र दूरदूर गर्थे,’ सञ्जुले बिर्सन खोजेका कुवेतका दुखी सम्झना सुनाउँदा उहाँको अनुहार एक तमासको दोखिन्थ्यो ।
काम गर्ने घरमा सात जना थिए छोराछोरी । ६ छोरा र एक छोरी । साहुका छोराछोरी देख्दा दुई सन्तान छाडेर कमाउन गएकी सञ्जुको मन चिमोटिन्थ्यो । फोन चलाउने अनुमति थिएन ।
सञ्जुलाई मात्र हैन, त्यही घरमा काम गर्ने अरु दुई देशका महिलाले पनि मोबाइल चलाउन पाउँदैन थिए । घरको यादले मुटु फुट्ला जस्तो हुन्थ्यो तर पनि महिनामा एक पटकभन्दा बढी घरमा कुराकानी गर्न पाईंदैन थियो ।
छोराछोरी सम्झेर मनमा अनेक तर्कना आउँथ्यो । रातभरी निंद्रा लाग्दैनथ्यो । निदाए पनि निदाउन्जेल छोराछोरी नै आउँथे सपनामा । कुनैबेला धुलोमैलो भएका देख्नुहुन्थ्यो त कुनैबेला आफैंलाई पुर्कादै रोइरहेका ।
‘घरमा फोन गर्छु मेरो छोराछोरीलाई सपनामा देखें, केही पो भयो कि भन्थें, तर महिना दिनअघि त मरिगए पनि साहुनीले फोन गर्न दिन्नथिन्,’ सञ्जु सम्झनुहुन्छ ।
साहुनी भने कलेज पढेर आउनासाथ आफ्नी छोरीलाई प्रत्येक दिन चुम्थिन् । अंगालोमा बाँध्थिन् । त्यो बेला सञ्जु भने छोराछोरी सम्झेर गह्रौं भएको मनको भावना आँसुबाट बगाउनुहुन्थ्यो ।
कति पटक त उहाँले ‘तिम्रा जस्तै मेरो पनि छोराछोरी छन्’ भन्दै साहुनीसँग दुःख बिसाउनु भयो । तर पैसा तिरेर काम गर्न ल्याएको मानिसको दुःख किन वास्ता गर्थिन् र साहुनीले । सिधै भन्थिन– ‘छोराछोरीको त्यस्तो माया लाग्ने मान्छे किन पैसा कमाउन आएको त, आउने बेला पैसा ठूलो भयो, अहिले छोराछोरी भनेर हुन्छ ।’
साहुनीको वचन तीतो भए पनि केही हदसम्म सत्य थियो । पैसा भन्दा पनि छोराछोरी छाडेर हिँड्दा उनीहरुकै भविष्य ठूलो लागेको थियो सञ्जुलाई । तर बल्ल बुझ्नुभयो – हैन रहेछ ।
सञ्जुको एक मनले भन्थ्यो – नेपालमै भएको भए त परिवार एक हुन्थ्यो, खेतीपाती गरेरै भए पनि रोजीरोटी चल्थ्यो । ‘जे भए पनि महिनाको १०/१५ हजार रुपैयाँ कमाएकीे छु, सधैंका लागि आएकी हैन,’ यस्तै सोचेर चित्त बुझाउनुहुन्थ्यो ।
श्रीलङ्काली थिए सँगै काम गर्ने दुई महिला । उनीहरुले पनि हेप्थे सञ्जुलाई । पढे लेखेका र बाठा थिए उनीहरु । नपढेकै कारण उनीहरुले साहुनीलाई काम नै गरिन भन्दै कुरा लगाइदिन्थें । उनीहरुकै कुरा सुनेर बेलाबेला सञ्जु माथि झम्टिन्थिन् साहुनी ।
घरि साहुनीको व्यवहारले त घरि घरपरिवार र छोराछारीको सम्झनाले सताउँथ्यो । रुन मन लाग्थ्यो । तर मन खोलेर रुन पनि पाईंदैन थियो । ‘रोएको देख्यो भने झन कुट्ने, गाली गर्ने गर्थिन् साहुनीले, म त रुँदै काम गर्दै गर्थें’, सञ्जु गहभरी आँसु पार्दै भन्नुहुन्छ, ‘त्यो बेला लाग्थ्यो अर्काको देश सोचेजस्तो नहुदो रहेछ ।’
घरको सरसफाइ र बालबच्चाको हेरचाह सञ्जुको नियमित काम थियो । एक दिन दोस्रो तल्लामा झ्याल पुछ्दै हुनुहुन्थ्यो । झ्याल पुछिरहेकै बेला साहुका छोराले झ्याल लगाइदिए, हात जोगाउन खोज्दा उहाँ भुईंमा पछारिनुभयो ।
‘एउटा खुट्टो भित्र, अनि एउटा झ्यालमा राखेर झ्याल पुछ्दै थिएँ, त्यहाँका बच्चा साह्रै बदमास हुन्छन्, त्यसले आएर ड्याम्म झ्याल लगायो, हात च्याप्छ भनेर निकालेछु क्यारे, म त माथिबाट खसिहालेछु, बिउँझिंदा त रडमाथि रक्ताम्य भएको रहेछ,’ सञ्जुले त्यो काहालीलाग्दो दिन सम्झनुभयो ।
होश आएपछि सञ्जु रुनुभयो । रोएको सुनेपछि मात्रै साहु–साहुनीले उठाएर अस्पताल पुर्याए । ‘गिजा, हात र गालामा चोट लागेको थियो, रगताम्य भएको थिएँ,’ सञ्जु सम्झनुहुन्छ, ‘धन्न दुई तलाबाट रडमाथि पछारिंदा पनि बाँचे, केही पनि भएनछ ।’
सञ्जुलाई अहिले पनि त्यो कालो दिन सम्झँदा लाग्छ – ‘मै मरिगएको भए, मेरा छोराछोरी के गर्थे होला, मलाई कति पाप लाग्थ्यो होला ।’ उहाँको मन असाध्यै पोल्छ।
गर्नुपर्ने उपचार साहु साहुनीले गरिदिए । ठूलो चोट नलागेकाले दुई दिन अस्पतालको बसाइपछि घर ल्याए । शरीर सुन्निएको थियो ।
त्यसो त सञ्जुले काम गर्न सक्दिन भनेर पटक पटक घर पठाइदिन साहुनीसित अनुरोध गर्नुभएको थियो । श्रीमानलाई पनि आफूलाई घर फर्काउन पहल गर्न भन्नुभएको थियो । तर ज्यान सद्दे छँदासम्म साहु साहुनीले किन पठाउँथे र । कामै गर्न नसक्ने भएपछि चाहिँ घर पठाइदिने कानेखुसी गर्न थाले ।
डाक्टरले प्रशस्त आराम गर्नुपर्छ भनेपछि साहु साहुनी उहाँलाई पालेर राख्ने पक्षमा थिएनन् । हप्ता दिनमै टिकट काटेर उहाँलाई स्वदेश फर्कादिए । डेढ वर्षको दुखान्त परदेश बसाइलाई टुङ्याएर उहाँ २०६७ सालको अन्तिमतिर घर फर्किनुभयो ।
घरमा छोराछोरीको अवस्था देखेपछि उहाँलाई दुई तलाबाट खस्दाको पीडाले भन्दा बढी पोल्यो । ‘धुलैमैलो भएका, दुब्लो शरीर, मैले छाडेर गएका मेरो बच्चा हुन जस्तो पनि लागेन मलाई त,’ सञ्जु चित्त दुखाउँदै भन्नुहुन्छ, ‘छोराछोरी देखेपछि त यस्तो चित्त दुख्यो नि, छोराछोरीका लागि आमाभन्दा अर्को ठूलो कुरा केही नहुने रहेछ ।’
कुवेतमा छँदा कहिल्यै छोराछोरीसँग बोल्न पाउनुभएको थिएन । एक त फोन गर्नै पाईंदैन थियो । श्रीमानलाई फोन गरेका बेला छोराछोरी सुतिसकेको हुन्थे । श्रीमानले सुखद खबर नै सुनाउँथे । तर घर फर्किएपछि सञ्जुले छोराछोरीले दुई छाक खान समेत नपाएको थाहा पाउनुभयो ।
मासिक ५० दिनार अथवा त्यो बेला झण्डै १५ हजार रुपैयाँ कमाउनुहुन्थ्यो विदेशमा । त्यो पैसा उहाँले छोराछोरीकै लागि भनेर सबै पठाउनुहुन्थ्यो । तर पैसाले आमाको माया किन किन्न सक्थ्यो र ।
‘बुवाले गरेको स्याहार आमाको जस्तो किन हुन्थ्यो र, एक छाक खाना पकाएर खान दिनु हुँदो रहेछ, त्यो पनि कहिले त बाहिर हिँड्नुभयो भने छोराछोरी एक्लै भोकै पर्ने रहेछन,’ सञ्जुले सुनाउनुभयो ।
सञ्जुले कमाएको रकमको सदुपयोग पनि भएन । उहाँ परदेश लागेपछि छोराछोरीले स्याहार र आहार पनि पाएनन । ‘तिनै बच्चाहरुले सुख पाउलान् भनेर त्यस्तो दुःख गर्न गएँ, तर उनीहरुकै अवस्था त्यस्तो देख्नुपर्दा कसको मन मान्छ र हो, मन चुँडियो,’ सञ्जुलाई ती दिन फेरि सम्झन मन लाग्दैन । त्यही पीडाले फेरि परेली नभिजुन् भनेर त्यो दिनको झल्को परपरै धकेल्नुहुन्छ ।
घर फर्किएपछि सबैभन्दा पहिले छोराछोरीलाई फेरि छाडेर कतै नजाने प्रण गर्नुभयो । विदेश जानुअघि ज्यान सग्लो थियो । पैसाको अभाव भए पनि मन चङ्गा थियो।अहिले विदेशले दुःख मात्रै दिएन । आफन्तको नजरमा नराम्रो पनि बनाइदियो ।
विदेशमा भोग्नु परेका दुःखको अड्कल त सुन्नेले कहाँ गर्न सक्लान र । तर विदेश जाँदैमा नराम्रो भएर आइस् भन्दै आफन्तले लाञ्छना लगाए ।
‘मलाई आफन्तले नै विदेशमा साहु र पाहुना खुसी पारेर आइस् भनेर कुरा काटे, मैले नसुन्ने गरी त झन के के भने होलान्, विदेश जाँदैमा बिग्रने हुन्छ र,’ सञ्जु गुनासो गर्नुहुन्छ ।
नियतीले थमाएको उपहार नै जिन्दगीको बहार रहेछ । सञ्जु आफ्ना र पराइ सबैले गर्ने व्यवहारलाई हाँसी हाँसी स्वीकारिदिनुहुन्छ ।
विदेशबाट फर्किएपछि अर्की छोरी पनि जन्मिएकी छन् । तीन सन्तानकी आमा सञ्जु ३६ वर्षकी हुनुभयो । जेठी छोरी १६ वर्ष, छोरो १५ वर्ष र कान्छी छोरी ५ वर्षका भए ।
खेतीपाती र ज्याला मजदुरीले पनि अहिले जीवन सुखैले चलेको छ । सन्तानको साथैमा छन् । सञ्जुलाई योभन्दा बढी केही चाहिएको पनि छैन । खेतीपातीले बिहानबेलुका खान पुगेकै छ ।
‘पहिले छोराछोरी भए उनीहरुलाई कसरी पढाउने, बढाउने जस्तो लाग्थ्यो,’ निर्धक्क स्वरमा सञ्जु भन्नुहुन्छ, ‘अहिले पनि अवस्था त उस्तै हो, तर डर लाग्दैन, विदेशमा धेरै दुःख पाएकाले होला, घरका सानातिना दुःखमा अत्तिन मन लाग्दैन ।’
विदेश गएकै कारण छिमेकीले कुरा काटे । छोराछोरीले दुःख पाए । सम्झदा पश्चताप लाग्छ उहाँलाई । विगत सम्झदा पछुतो लाग्छ उहाँलाई । तर जीवन भनेकै यही त हो । मन भाँचिए पनि जीवन सिंगो उभिएको छ । ‘बाँचेर फर्किएँ, डुबेको घर व्यवहारलाई फेरि सिंगारे, यो भन्दा बढी के चाहियो र, ' सञ्जु भन्नुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।