लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
प्रसिद्ध पत्रकार जमाल खशाेग्गी हत्या प्रकरणको अन्तर्राष्ट्रिय स्वतन्त्र छानविनको प्रस्ताव साउदी अरबलाई मान्य नभएको रियादले बिहीबार पुनः दोहोराएको छ । अपराधीलाई कानूनी दायरामा ल्याउन अनुसन्धानका लागि आवश्यक पर्ने सबै उपकरण आफूसँग भएको साउदी अरबको दावी छ ।
जेनेभामा राष्ट्रसंघीय मानव अधिकार परिषद्को बैठकमा बोल्दै साउदी प्रतिनिधिमण्डलका प्रमुख बन्दार अल–ऐवानले भने “अनुसन्धानका लागि हस्तक्षेपकारी अन्तर्राष्ट्रिय भूमिकाको मागले साउदी अरबको आन्तरिक मामिलामा हस्तक्षेप हुने र यसमा साउदी अरब सहमत हुन सम्भव छैन ।” अल–ऐवानले परिषद् बैठकमा भने “साउदी अरबसँग यो जघन्य अपराधलाई कानूनी दायरामा ल्याउने सबै उपायको प्रयोग गरी घटनाको अनुसन्धान गरिरहेको छ ।”
ऐवान मानव अधिकार उल्लङ्घनबारे साउदी अरबको मुल्याङ्कन गर्नका लागि जेनेभा गएका हुन् । जहाँ साउदी अरबमाथि खसोग्गी प्रकरणलगायतका मानव अधिकार उल्लङ्घनका आरोप विश्वका धेरै मुलुकका प्रतिनिधिले लगाएका थिए । गएको हप्ता विश्वका ३६ राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी खशोग्गीको हत्यारालाई कानुनी कठघरामा उभ्याइ पीडित परिवारलाई न्याय दिलाउन गरिएको आह्वानप्रति प्रतिक्रिया दिँदै साउदी अरबको यस्ताे भनाई आएको हो ।
वासिङ्टन पोस्टका स्तम्भकार खशाेग्गी पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो ।
उनकाे हत्यामा साउदीको शक्तिशाली राजपरिवारकै निर्देशन रहेको भन्दै विश्वभरबाट रियादको आलोचना भइरहेको छ । आलोचना बढेपछि विश्वकै प्रमुख तेल निर्यात राष्ट्र साउदी अरब अहिले संकटमा फसेको छ । खशोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइन् । खशोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले साउदीको वाणिज्य दूतावासमै उनको हत्या भएको र त्यसबारे आफूसँग प्रमाण रहेको बताएको थियो ।
टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले यो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खशोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा ज्यान गएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा साउदीका युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।