इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
उदयपुर – लिलामाया र उहाँका ७ वर्षे नाति एरिक छुट्टिएको एक महिना हुन लाग्यो । घरमा सधैं चकचक गरिरहने एरिक अहिले मावलमा छन् । घरमा भएकी लिलामायालाई मावलमा भएको नातिकै याद आइरहन्छ । के गर्दै होला भनेर लिलामाया नातिलाई सम्झिरहनुहुन्छ ।
नेपाली उखानै छ नि ‘साँवाको भन्दा ब्याजको धेरै माया’ यही उखानको जस्तै छ लिलामायाको भोगाई । आफ्नो सन्तान आफूबाट टाढा हुँदा मन कति दुख्छ होला । आफ्नै काखमा हुर्काएको नाति आफूबाट टाढा बनाइएपछि बज्यैलाई संसारै शून्य भइरहेको छ ।
नातिले आमा भनेर बोलाउँदा लिलामाया मगर आफ्ना सबै सन्तानलाई भुल्नुहुन्थ्यो । लिलामायाका दुई छोरा र एक छोरी । छोरीको बिहे भइसकेको छ । जेठा छोरा सुनिलको पनि ८ वर्ष अघि नै विवाह भयो निर्मलासँग । कान्छा छोरा चाहिँ नेपाल प्रहरीका जागिरे ।
परिवारमा धेरै छन् तर लिलामायाको कथा लुकेको छ जेठो छोरा सुनिलमा । बिहे भएपछि सुनिल कमाउन भन्दै २०६९ सालमा साउदी अरब जानुभयो ।
सुनिल परदेशी भएको चार महिनापछि निर्मलाले छोरो जन्माउनुभयो । नाम राखियो एरिक मगर । परिवारमा एरिक थपिएको सबैको खुशीको सिमा नै थिएन । सबै जना आहा ! मात्रै भन्थे । बुवा हुँदा साउदीमा रहेका सुनिल पनि औधी खुशी हुनुभएको थियो ।
निर्मलासँगै लिलामायाले पनि ७ वर्षसम्म एरिकको स्याहार गर्नुभयो । तर अहिले एरिक लिलामायाबाट टाढा छन् । बुढेसकालमा एक्लो हुनुको पीडा भन्दा पनि नातिसँग टाढा हुँदाको पीडा धेरै छ लिलामायालाई ।
यही कुराले भारी भइरहने लिलामायाको मनमा जेठ १६ गते भने ठूलै भूकम्प गयो । निर्मलाले आफूसँगै रहेको नाति लिएर हिँडेपछि उहाँलाई रातभरी निन्द्रा परेको छैन । लिलामाया यसमा बुहारीलाई दोष दिनहुन्न । सुनिल मगर (नागरिकतामा पूर्णबहादुर मगर) छोरा एरिक ७ वर्षको भइसक्दा पनि साउदीबाट घर आउनुभएन । बाबा र छोराको माया कस्तो हुन्छ उनीहरुले साटेका छैनन् ।
बोल्न सक्ने भएपछि एरिक बाबा भन्थे । सुनिलले छोरासँग फोनमा कुरा पनि गर्नुभयो । अनुहार नदेख्दै एरिक बाबा खोज्ने भए । घरमा आउनेहरु एरिकलाई सोध्थे ‘तेरो बाबा कहिले घर आउनुहुन्छ ।’
आफ्नै धुनमा खेलिरहेका एरिक सहजै उत्तर दिन्थे ‘ढाँट्ने बाबा जहिले पनि आउँछु भन्ने अनि फेरि नआउने’ सहजै दिएको उत्तरभित्रको गहिरो कुरा सायद उनलाई नै थाहा थिएन । फोनमा कुरा गर्दा एरिकले बुवालाई सबैका बाबा विदेशबाट आउँछन् के के खाने कुरा खेल्ने कुरा ल्याइदिन्छन पनि भनेका छन् । तर एरिकका यस्ता कुराले सुनिलको मन पग्लिएको छैन ।
आफू गएको चार महिनामै छोरा जन्मिएका बेला सुनिल श्रीमतीलाई पनि फोन गरिरहनुहुन्थ्यो । परिवारसँगै आफन्त र गाउँलेलाई पनि सम्झिन भ्याउने सुनिलले पैसा पनि पठाउँथे । तर फोन र इमोमा हुने गफमा सायद माया मिसिँदैन होला । त्यसैले सुनिलले निर्मलाको माया बुझ्नुभएन । बिस्तारै फोन गर्न कम गर्नुभयो ।
कहिलेकाहीँ फोन गर्दा पनि राम्रोसँग बोल्न छोड्नुभयो । निर्मलाले पैसा कुरा नगर्दै आफै कमाई छैन भन्न थाल्नुभयो । फोन गर्न छोडेका सुनिलले पैसा पठाउन पनि बिर्सिनुभयो । पैसा नपठाएपनि निर्मलाले पर्खिरहनु भएकै थियो । तर एक पटक सुनिलले फोनमा ‘तँ जे गर्छेस गर’ भनेपछि माइत जाने निधो गर्नुभयो ।
बुहारीले लिएर गएका एरिक लिलामायालाई मुटुकै टुक्रा झैं लाग्छ । सुनिल विदेश गएपछि उहाँकी हजुरआमा बित्नुभयो । त्यतिबेला परिवारले घर आउन भने तर सुनिल छुट्टि नमिलेको भन्दै घर आउनुभएन । सुनिलले अबको दशैंमा घर आउँछु भनेपछि पनि पाँच वटा दशैं त उहाँको बाटो हेर्दा हेर्दैै बिते तर सुनिल आउनुभएको छैन ।
श्रीमान् श्रीमती एकै रथका दुई पाङ्ग्रा भन्छन् । निर्मला पनि त्यही सम्झिर एकदिन त श्रीमान् आउलान भन्ने आशमा बस्नुभयो । तर ७ वर्षसम्म पनि त्यो आशा, आशा मात्रै भयो । निर्मलासँगै लिलामायालाई पनि उस्तै छटपटी हुन्छ छोराको व्यवहार फेरिएको देख्ता ।
आमाको मन न हो । केही समय अघिसम्म त्यति नजिक रहेको छोराले बिर्सिएको त पक्कै होइन भन्ने लाग्छ लिलामायालाई । त्यसैले उहाँ अहिले पनि छोराको मन एक दिन त कसो नफर्किएला भन्ने आशामा हुनुहुन्छ । अहिले त झुक्किएर मात्रै फोन गर्नुहुन्छ सुनिलले आमालाई । फोन गरेको मौकामा लिलामाया छोरालाई सँधै घर फर्किन आग्रह गर्नुहुन्छ तर सुनिलको जवाफ फेरिएको छैन । भन्नुहुन्छ ‘म चाँडै आउँछु, दशैंमा आउँछु ।’ मिति सर्यो, भाका नाघ्यो तर सुनिल घर आउनुभएन ।
सबैलाई दशैं आउँछ तर लिलामायालाई छोरा परदेश गएदेखि न दशैं आयो न तिहार । सधैं खल्लो हुने मन कहिले छोरा आउला र खुशीले रमाउँला भन्ने सपना, सपनामा मात्रै सीमित भएको छ । सुनिललाई फेसबुकमा देख्नेहरुले ‘ऊ मोटाएको छ’ भन्छन् । छोरा परदेशमा भएर नआएपनि मन बुझाइरहने बुहारी र नाती सहारा थिए । तर बुहारी निर्मलाले र नाती एरिकले त्यो घर छाडेदेखि लिलामाया एक्लो हुनुभएको छ ।
लिलामाया बुहारीले घर छोड्नुमा बुहारीको दोष देख्नुहुन्न । ‘छोराले तँ जे गर्छेस भनेपछि त उसले पनि के गरोस् त’ लिलामाया भन्नुहुन्छ ।
लिलामायाको एउटै चाहाना छ छोरा सुनिल घर फर्किओस भन्ने । आफ्नो घरलाई सम्हालोस्, जे जे भए पनि भविष्यमा जीवनको साहारा भनेको श्रीमती र छोराछोरी नै हो भन्नुहुन्छ । सुनिल समस्यामा परेका भए पनि परिवारलाई भनोस भन्ने लाग्छ लिलामायालाई ।
‘छोरा घर आउन चाहेर पनि आउन नसकेको भए र घर आउँछु मात्र भनेको भए उसलाई जस्तो अवस्थामा पनि निकाल्न सक्छौं, यदि पैसा नभएर नआएको भएपनि परिवारले केही भन्दैनौं,’ लिलामाया भन्नुहुन्छ ‘बरु घर आउने पैसा चाहिएको हो भने म घरैबाटै पैसा पठाउने थिएँ । अहिले न छोरा न बुहारी र नाति संसारै रित्तो जस्तै भइरहेको छ ।’
आफ्नो चिहान आफै बनाएर मृत्यु कुर्दै डाँडामाथिका घाम
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हिमाल मगर
June 26, 2018, 5:37 p.m.सुनिल भाइ, कलिलै उमेरमा अरुकाे लहिलहिमा लगारे साउदी अरव गइस तर घर सम्झेर अाज सम्म पनि फर्केर अाइनस किन त ? यदि समस्यामा परेकाे हाे भने पनि भन तलाइ नेपाल सम्म ल्याउन के मुल्य चुकाउनु पर्छ हामी परिवारकाे तर्फबाट जे पनि गर्न तयार छाै तर खै अाज सम्म 6 वर्ष भयाे दाजु र भाइकाे विचमा कहिले नजिककाे सम्वन्ध भएन जति वाेलए पनि फेसवुकमा कहिले दाइ भनेर वाेलिनस, परिवार बाट टाढा भएकाे 7 वर्षमा धेरै परिवर्तन भइसक्याे तर किन त परिवर्तन भइनस परिवर्तन त भइस तर हाम्राे खुसी विपरित । यत्रा नेपालीले छुट्टी पाउने तइले नपाउने भन्ने पनि हुन्छ ? भाइ यदि इन्टरनेटकाे पहुचमा छस भने एक पटक मेराे प्रश्नकाे प्रतिकृया दिएर हेर भाइ ।