भारतको महाराष्ट्र र झारखण्डमा विधान सभाको मतगणना चल्दै
मंसिर ८, २०८१ शनिबार
दैलेख – अघिल्लो हप्ता बिहीबार दिउँसो २ बजेतिर प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरलाई स्थानीयबासिन्दाले खबर गरे, ‘सातसल्ली सामुदायिक वनको बलेनाखोला भन्ने ठाउँमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेको छ ।’
यो खबर माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय दैलेखलाई गरायो । प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीलाई भीरमा झुण्डिएको शव निकाल्न समय लाग्यो । शव निकालेपछि स्थानीयले शव हेरे, तर यो गाउँको व्यक्ति होइन भने ।
स्थानीय बासिन्दाले नचिनेपछि शवको पहिचान गर्ने जिम्मेवारी प्रहरीलाई नै थपियो । झुण्डिएको व्यक्तिले लगाएको टि–सर्ट, पाइन्ट, जुत्ता र हातको घडीबाहेक केही नदेखेपछि शव कसको हो भनेर ठम्याउन प्रहरीलाई केहीबेर अलमल भयो ।
शरीर खानतलासी गर्दा खल्तीमा लाइटर र पर्समा मलेसियन एक रिंगिट भेटियो । तर यतिले मात्र परिचय खुल्न सकेन । टि–सर्टको खल्तीमा नेपाल टेलिकमको सिमकार्डको ‘वेलकम’ कार्ड फेला पर्यो ।
शव चिन्न मुस्किल परेको प्रहरीका लागि ‘वेलकम’ कार्ड पहिचानको आधार बन्यो । प्रहरी निरीक्षक क्षेत्रीले नेपाल टेलिकम दैलेखमा फोन गरेर वेलकम कार्डमा लेखिएको मोबाइल नम्बर कसको नाममा दर्ता छ भनेर सोध्नुभयो ।
नेपाल टेलिकम दैलेख शाखाले त्यो नम्बर साबिकको विन्ध्यवासिनी गाविस–६ दैलेखका नैनसिंह विकको नाममा दर्ता भएको पत्ता लगायो । त्यसअनुसार साविकको विन्ध्यवासिनी गाविस अर्थात हालको नारायण नगरपालिका–११ का जनप्रतिनिधि र त्यहाँका स्थानीयबासिन्दासँग प्रहरीले सोधीखोजी गर्यो ।
टेलिकमले त्यो सिमका प्रयोगकर्ता नैनसिंह विक भएको र उनका बुबाको नाम भविराम विक विवरण दिएको थियो । तर त्यो गाउँमा बुबा भविराम र छोरा नैनसिंह नाम भएका व्यक्ति दुई जना भेटिएपछि केही समय समस्या भयो ।
तर साविकको विन्ध्यवासिनी गाविस–२ टाटामाखुका भविरामका छोरा नैनसिंह विक भारतको अहमदावादमा काम गर्दै गरेको खुलेपछि उनी होइनन् भन्ने पक्का भयो । अब विन्ध्यवासिनी गाविस–६ काँडाका नैनसिंह विक हुन् भन्ने मानेर सोधीखोजी गरियो । तर नैनसिंह ५ वर्षअघि मलेसिया गएकाले उनी नै हुन् भन्ने अड्कल पनि गर्न सकेनन् परिवार र स्थानीयबासिन्दाले ।
शवको पहिचान हुन नसकेपछि प्रहरीले डुङ्गेश्वर गाउँपालिका–६ का वडाध्यक्ष बमबहादुर बिसीलगायतका जनप्रतिनिधिको रोहबरमा पहिचान हुन नसकेको शव भनी घटनाको मुचुल्का उठायो । शव ‘बेवारिसे’ रुपमा सदरमुकाम पुग्यो ।
सदरमुकाम पुर्याएर जिल्ला अस्पतालमा राखिएको शव मलेसिया गएका नैनसिंहकै हो कि भन्ने शंका गरेर त्यहाँ भएका आफन्तले शवको फोटो खिचेर परिवारलाई पठाए । फोटो हेरेपछि नैनसिंहका भाइ लालबहादुर सुनारले शव दाजुकै भएको पुष्टि गर्नुभयो । सदरमुकाम आएर भाइ लालबहादुरले दाइको शव बुझ्नुभयो ।
नैनसिंह विक वैदेशिक रोजगारीको लागि २०७० साल जेठ २६ गते घरबाट हिँड्नुभएको थियो । त्यसको तीन दिनपछि २०७० जेठ २९ गते उहाँ मलेसिया उड्नुभएको थियो ।
मलेसिया पुगेको एक वर्षसम्म घरमा कुरा भइरहन्थ्यो । फोन गर्दा नैनसिंहले कम्पनी राम्रो परेनछ मात्रै भनिरहनु हुन्थ्यो । गएदेखि अहिलेसम्म उहाँले घरमा पैसा पठाउनुभएको थिएन । कमाउन नसकेपछि आफू भागेर अवैधानिक रुपमा काम गरिरहेको पनि परिवारलाई सुनाउनुभएको थियो ।
मलेसियामै हुँदा नैनसिंहलाई भेटेका उहाँकै गाउँ काँडाका नर्तम बिष्टले भन्नुभयो, ‘कमाइ छैन, घरमा नाकमुख देखाउन मात्र कसरी जानु, भेट भएको थियो नभन्दिनु है भन्थे ।’
उहाँले नसुनाउनु भने पनि यो कुरा गाउँ फर्किएका व्यक्तिले परिवालाई सुनाएका थिए । परिवारको सम्पर्कमा नभएकाले उहाँ कहिले र कसरी नेपाल आउनुभयो ? नेपाल आएर पनि परिवारलाई किन खबर गर्नुभएन ? अनि घर नपुग्दै किन आत्महत्या गर्नुभयो भन्ने प्रश्न अझै खुल्न सकेको छैन ।
मनवीर कामीले ८० वर्षअघि रुमबाट विन्ध्यवासिनीको काँडामा आएर यतै बिहे गर्नुभएको थियो । उहाँका एक जना छोरा भए भविराम । उनै भविरामका माइला छोरा हुन् नैनसिंह । भविरामका चार छोरामध्ये दुई जनाको पहिल्यै मृत्यु भइसकेको छ ।
कान्छा छोराको घरमै ज्यानमै ज्यान गयो । कमाउन साउदी अरब पुगेका भविरामका जेठा छोरा हस्तबहादुरको २०६७ साउन २३ गते सडक दुर्घटनामा परी ज्यान गयो ।
पहिले काम गरेकै कम्पनीमा जाँदा श्रम स्वीकृति नलिएकाले सरकारबाट पाउने आर्थिक सहायता र बीमा बापतको रकम पनि पाएन उहाँको परिवारले । त्यतिबेला पहिलेको कम्पनीमा दोस्रो पटक जाँदा बीमा गराउने चलन नभएको सरकार र बीमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति र आर्थिक सहायता पाउन नसकेको परिवारले जनाएको छ ।
जेठो छोराको वैदेशिक रोजगारी क्रममा ज्यान गएकोले अरुलाई नपठाउने सोच्नुभएको थियो । तर छुट्टिएर बसेका नैनसिंहले मात्रै होइन साइँला छोरा लालबहादुर पनि मान्नुभएन । नैनसिंह मलेसिया अनि लालबहादुर दुबईतर्फ जानुभयो ।
लालबहादुर राम्रो नभएपछि केही समयमै घर फर्किनुभयो । तर नैनसिंह नकमाई कसरी घर फर्किनु भन्ने चिन्तामा पर्नुभयो । ५ वर्षपछि नेपाल फर्किने आँट बटुलेका नैनसिंहले घर पुग्ने आँट भने गर्न सक्नुभएन ।
७० वर्षका भविराम बिक पुत्र शोकले थलिनुभएको छ । उहाँले भन्नुभयो ‘सुख देखेर र भोगेर मरौंला भनेको थिएँ, तर भगवानले एकपछि अर्को पीर थपे ।’ नैनकलालाई ऋणको भारी
२० वर्षको हुँदै नैनसिंहले गाउँकै १४ वर्षकी मैनकला बिकसंग बिहे गर्नुभयो । बिहे गरेको दुई वर्षमा छोरा प्रकाश जन्मिए । प्रकाश अहिले १७ वर्षको हुनुभएको छ । मलेसिया गएका बुवाले कमाउन नसकेपछि आमालाई सघाउन प्रकाश पढाइ छोडेर मजदुरी गर्न भारत पुग्नुभएको थियो । बुवा बितेको खबर सुनेपछि उहाँ घर फर्किंदै हुनुहुन्छ । प्रकाश आउन ढिलो भएपछि १२ वर्षका कान्छा छोरा बीरेन्द्र बिक बुबाको किरियामा बस्नुभएको छ ।
नैनसिंहले बाँच्ने आँट गर्न नसकेपछि ३२ वर्षीया श्रीमती मैनकला, ७ कक्षा पढ्दै गरेकी १५ वर्षीया ठूली छोरी कल्पना, ५ कक्षा पढ्दै गरेका बीरेन्द्र र ३ कक्षा पढ्दै गरेकी १० वर्षकी कान्छी छोरी कमलाले सधैंका लागि अभिभावक गुमाएका छन् ।
नैनसिंह मलेसिया जानुअघि कतार जानुभएको थियो । उहाँ गएको कम्पनी घाटामा गएपछि काम गरेको अवधिको पनि पैसा नपाइ घर फर्किनुभयो । कमाउन नभएपछि जाँदा लिएको ४० हजार रुपैयाँ ऋण बाँकी नै थियो ।
मलेसिया जान मेडिकल गराउन, भिसाका लागि आउजाउ गर्दा र मलेसिया जान म्यानपावरलाई दिएको १ लाख ६० हजार रुपैयाँ गरी २ लाखभन्दा धेरै ऋण थियो । सयकडा तीन रुपैयाँका दरले लिएको ऋण बढेर अहिले तीन गुणा नै धेरै भइसकेको छ ।
साँवा ब्याज जोडेर कागज गराउन साहुले अहिले पनि दबाब दिइरहेका छन् । कमाउने सपना पूरा हुन नसकेकै कारण श्रीमानले सधैंका लागि छोडेर गएपछि सानो घरमा गतिलो ढोका लगाउने र आफ्नो छुट्टै शौचालय बनाउने मैनकलाको सपना अधुरै रह्यो ।
परिवालाई ऋण मुक्त बनाउने, छोराछोरीलाई पढाउने जिम्मेवारी त छँदैछ मैनकलाका लागि ।
नैनसिंहले आत्महत्या गरेको एक हप्तापछि उहाँ चैत २ गते सुर्खेत पुगेको पत्ता लागेको छ । सुर्खेत पुगेका मेहेलतोली घर व्यक्तिसँग चिनजान गरेपछि त्यो रात बसपार्क नजिकैको होटलमा बसेको पाइएको छ ।
नैनसिंहसँगै बसेका व्यक्तिले दिएको जानकारी अनुसार उहाँसँग दुई वटा मोबाइल थिए । पछाडि भिर्नेे झोलामा २–३ जोर कपडा मात्रै भएको जस्तो देखेको उनले परिवारलाई बताएका छन् । तर परिवारले ती व्यक्तिसँग भेट्न पाएको छैन ।
नैनसिंहले फर्किएर मोबाइलको सीम कार्ड लिएकाले मलेसियाबाट दूतावासको सहयोगमा फर्किएको हुन सक्ने आफन्तले अनुमान गरेका छन् । वैदेशिक रोजगारीमा गएकाहरुलाई काम दिने कम्पनीले पासपोर्ट आफूले लिएर राख्ने भएको कारण अवैधानिक रुपमा काम गर्दै हिंडे पनि केही समयअघि मलेसियाले यस्ता अवैधानिक कामदारलाई घर फर्किन मौका दिएको थियो । नैनसिंह त्यतिबेलै फर्किनुभएको हो कि होइन भन्ने चाहिँ खुल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।