सुनकाण्डमा संलग्न उच्च तहका व्यक्तिलाई पनि कारबाही हुन्छ : गृहमन्त्री थापा

 असार १३, २०७५ बुधबार १८:१२:३५ | उज्यालो सहकर्मी

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा संलग्न रहेका उच्च तहका व्यक्तिलाई पनि छिट्टै कारबाही गरिने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले उच्च निकायका व्यक्तिहरु पनि अनुसन्धानको घेरामा आएकाले अनुसन्धानपछि कानुनी दायरामा ल्याउने बताउनुभएको हो । ४ वर्ष यता ३८ क्विन्टल सुन तस्करी भएको र त्यसमा उच्च राजनीतिक र गृहप्रशासनको संलग्नता हुन सक्ने तर्फ सांसदले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री थापाले अध्ययन अनुसन्धान र छानविनपछि उच्च तहका पात्रहरु पनि कानुनको घेरामा आउने प्रतिवद्धता जाहेर गर्नुभयो ।

सीमासुरक्षा र सम्भावित अतिक्रमण रोक्न आवश्यक व्यवस्था मिलाइएको भन्दै उहाँले  आगामी वर्ष १० वटा सीमासुरक्षा पोष्ट विस्तार गर्ने लक्ष सरकारले लिएको बताउनुभयो ।  

उहाँले नेपाल प्रहरीको थप दरबन्दी श्रृजना गरिएकाले दरबन्दी विस्तारपछि मुलुकका सबै स्थानीय तहमा प्रहरी पोष्ट स्थापना हुने प्रतिवद्धता जाहेर गर्नुभयो । त्यसैगरी प्रहरी संगठनलाई आधुनिकीकरण गर्ने तर्फ पनि योजना तय गरिएको जानकारी उहाँले दिनुभयो ।  

उहाँले सम्झौताहरु पालना नगरी विकास निर्माणका काम अलपत्र पार्ने ठुला साना सबै ठेकेदारलाई कारवाही गरिने बताउनुभयो ।

उहाँले विदेशी राजदूतले विभिन्न जिल्लामा गएर आफुखुसी विकास निर्माणमा खर्च गर्न नसक्ने व्यवस्था कानुनमा नै स्पष्ट भएकाले त्यसो भएको भए छानविन गरेर रोकिने प्रतिवद्धता जनाउनुभयो ।

गृहमन्त्री थापाले शान्ति, स्थायित्व सुशासन कायम गराउनु सरकारको दायित्व भएको र त्यस दायित्व पूरा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । सामाजिक अपराध र विभेदको अन्त्यको बारेमा शान्ति सुरक्षाको वातावरण मिलाई समृद्धिको बाटोमा रहेका सबै किसिमका हिंसाविरुद्ध कानुनको प्रभावकारी कार्यान्वयनका लागि थप व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले बझाङलगायतका जिल्लामा भएका महिला हिंसाका घटनाको छानविन भैरहेको बताउनुभयो ।

आपराधिक गतिविधि नियन्त्रणका लागि कानुन बमोजिम प्रशासनिक निकायलाई थप प्रभावकारी बनाइएको, भ्रष्ट्राचार कुकृति र जनविरोधी क्रियाकलापलाई निष्तेज पार्ने काम सुरु भइसकेको उल्लेख गर्दे उहाँले अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।

मन्त्री थापाले विपद व्यवस्थापनका लागि चौबीसै घण्टा तयार रहने गरी मनसुन आपतकालीन योजना २०७५ तयार गरी लागु भईसकेको तथा आन्तरिक सुरक्षा तथा सुव्यवस्था ऐन र गृह प्रशासन ऐन तर्जुमाको गतिलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

कारागारको  भौतिक संरचना र अन्य संरचनामा सुधारको काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया