बजेटका कारण मूल्यवृद्धि भएको छैन : अर्थमन्त्री खतिवडा

 असार १४, २०७५ बिहीबार १६:५०:५६ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले बजेटका कारण बजारमा मूल्यवृद्धि भएको भन्ने विषयमा सत्यता नभएको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्रालयको विनियोजित बजेटमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै बजेटका कारण मूल्यवृद्धि भयो भन्नु गलत भएको बताउनुभएको हो ।

स्वास्थ्यलाई र वातावरणलाई प्रतिकुल असर पुग्ने सामान आयातमा मात्रै भन्सारवृद्धि, अन्तशुल्क र करको दायरा वृद्धि गरिएको भन्दै उहाँले मूल्य बढ्यो भन्नु बजारलाई बजेटको प्रभावको प्रतिकुल असर देखाउन गरिएको दुष्प्रयास मात्रै भएको टिप्पणी गर्नुभयो ।

सामान अभाव र कार्टेलिङ गरी बजार मूल्य बढाउने प्रवृतिलाई निरुत्साहित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै बस्तुको कार्टेलिङ रोकी मूल्यवृद्धिलाई रोक्न सरकार अघि बढ्ने दाबी गर्नुभयो ।

कतिपय साना क्षेत्र र कृषिलगायतका क्षेत्रलाई करको दायराबाट बाहिर राखेको भन्दै उहाँले बजेटले मूल्यवृद्धि भयो भन्नु गलत भएको बताउनुभयो ।
केन्द्रमा साना आयोजना राखियो भन्ने तर्क र हाम्रा आयोजना एउटा पनि परेनन् भनेर जिल्लाका आयोजना केन्द्रमा खोज्नु विरोधाभाष भएको टिप्पणी गर्नुभयो ।
पहिलो पटक संघीय वित्तिय प्रणाली अनुसारको बजेट विनियोजन गर्दे गर्दा सरकारले जनसंख्या, भूगोल, मानव विकास सूचाङ्क, विकासको अवस्था र दुर्गमताका विषयलाई आधार बनाएको स्पष्ट पार्नुभयो । उहाँले समानिकरण अनुदार दिने सन्र्दभमा भने खर्चको आवश्यकता र राजश्वको स्थितिलाई हेरेर गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

बजेट विनियोजन गर्दा दुर्गम, भुगोल जनसंख्या र मानव विकास सूचाङकलाई आधारमा नराखिएको भन्दै बजेट विनियोजनको सांसदहरुले चर्को आलोचना गरेका थिए । बैक तथा वित्तिय क्षेत्रको निक्षेप र ऋणको व्याजदरको फरकलाई निश्चित सीमा भित्र राख्नुपर्छ भनेर निर्णय गरिएको उल्लेख गर्दै उहाँले ब्याजदरका कारणले लगानी निरुत्साही नहोस् भन्नेतर्फ सरकार सजग रहेको बताउनुभयो  । अर्थमन्त्री खतिवडाले बजारमा सुनेको कुरालाई कार्यान्वयन गर्दै सरकार नहिँड्ने भन्दै प्रतिपक्षी दलका सांसदलाई जवाफ दिनुभएको छ ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर ६५ वर्ष उमेरका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने, भूकम्प प्रभावितलाई थप एक लाख दिने र क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई जीविकोपार्जनका लागि प्रति महिना ५ हजार दिने सम्बन्धी निर्णय किन कार्यान्वयन गरिएन भनि प्रश्न सोध्नुभएको थियो ।

प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भन्नुभयो, ‘हामीले अखबारबाट सुनेको हौं, यी कुराहरु सञ्चारमाध्यममा सुनिएको हो । सरकारको अभिलेखमा छैन । सरकारको अभिलेखमा नभएको विषयलाई सरकारले कसरी लिन्छ ? तर बजारमा सुनेको कुरालाई कार्यान्वयन गर्दे यो सरकार हिँड्दैन ।’

सत्तापक्षकै सांसदले बजेटको बारेमा गरिएको टिप्पणीलाई सकारात्मक रुपमा लिएको भन्दै उहाँले संसदबाट बजेट पास हुने वित्तिकै कार्यान्वयनको खाका बनाएर अघि बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया