दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
मेरो नाम रोमकान्त पन्थी हाे। मेरो घर दाङमा हाे । म मलेसिया आएको सात वर्ष भयो । मैले यहाँको मुतियारा कायामास कम्पनीमा काम गर्न थालेको तीन वर्ष पुग्न लाग्यो ।
यो एक भेण्डर कम्पनी हो । यसले मलेसियाको विमानस्थलको मास कार्गोमा काम गर्छ । राती र दिनको दुई सिफ्टमा काम हुन्छ । यो कम्पनीको एउटा डिमार्टमेन्टको म लिडर हुँ ।
यहाँका स्थानीय र नेपालीसहित १४ जनालाई मैले लिड गर्छु । यो कम्पनीमा झण्डै ६ सय नेपाली कार्यरत छन् । काम र कमाइ राम्रो छ ।
हाम्रो होस्टलबाट काम गर्ने ठाउँ विमानस्थलसम्म पुग्न झण्डै ४० मिनेट लाग्छ । काममा जाँदा र आउँदा बसमार्फत नै हो ओहोरदोहोर गर्नुपर्छ । मेरो पनि एक हप्ता दिउँसो र एक हप्ता रातीको ड्युटी पर्छ ।
हिजाे मेराे साथीहरु चढेको बस दुर्घटनामा पर्यो । दुईजना नेपालीसहित ११ जनाको ज्यान गयो । अरु १२ जना नेपाली घाइते भएका छन् । हिजो आइतबार मेरो पनि रातीकै ड्युटी थियो ।
म पनि त्यही बसमा जाने थिएँ होला । तर मेरो भाग्य रहेछ । शनिबार राती मेरो भिनाजु नेपालबाट आउनुभएकाले म विमानस्थलमा सामान लिन जानु पर्यो । त्यही कारणले मैले ड्युटी समय साटफेर गरें ।
विमानस्थलबाट सामान लिएर होस्टल आउँदा रातको २ बजेको थियो । सुतें र दिउँसोको ड्युटी गरेर फर्किएँ । मसँगै सन्तोष मगरले पनि हिजो रातीको ड्युटी साटेका थिए ।
काममा लैजान साथीहरुलाई बसमा राख्ने बेलामा नै बसका चालकले चर्को चर्को स्वरमा बोलिरहेका थिए । घाइते साथीहरुका अनुसार गाडी चलाइरहँदा पनि उनी फोनमा कसैसँग झगडा गरिरहेका थिए रे ।
मेरो अर्को साथी सल्यानका जलन्द बिक पनि त्यही बसमा चढ्न लाग्नुभएको थियो । तर बस भरियो भन्दै चालकले चर्को स्वर गरेपछि उहाँ बसबाट ओर्लिएर भ्यानमा जानुभयो र दुर्घटनाबाट बच्नुभयो ।
बस होस्टलबाट हिँडेको केही समयमा नै दुर्घटनामा परेछ । काममा जाँदा सबैले मोबाइल लान पाउँदैनन् । एकजनाले लगेका रहेछन् । त्यसैले दुर्घटनापछि सामान्य घाइते भएका साथीले त्यही फोनबाट सम्पर्क गरी दुर्घटनाबारे जानकारी गराए ।
मलाई त त्यो खबर सुनेपछि लाग्यो, धन्न ड्युटी साटेर बाँचेछु । भाग्यले बाँचिएछ । दुर्घटना देखेपछि त मलाई फेरि अर्को जन्म पाएझैं भएको छ । म र साथीहरु त भाग्यले बाँच्यौं । तर दुईजना साथीलाई गुमाउनुपर्यो ।
ज्यान गुमाउने साथी रामु चौधरी त २८ दिनअघि मात्रै घर बिदामा गएर आउनुभएको थियो । अब घाइते साथीहरु छिट्टै निको होउन् । यही कामना गर्छु ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।