चिकित्सकलाई बिरामीको प्रश्न : दोहोरो पीडा कहिलेसम्म ?

 चैत २७, २०७५ बुधबार ६:५४:४३ | रासस

काठमाण्डौ – नेपालको संविधानले मौलिक हक अन्तर्गत राखेको अत्यावश्यक स्वास्थ्य सेवालाई नै असर पर्ने गरी सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण अस्पताल आएका बिरामी उपचार नपाएर प्रभावित भएका छन् ।

रोगको पीडामा पिल्सिनु परिरहेका बेला बिरामीले भगवान् मान्ने चिकित्सक आफैँ आन्दोलनमा उत्रिएर दोहोरो पीडा दिएको भन्दै उनीहरुले चिन्ता प्रकट गरेका छन् । बिरामीले उपचार नपाएर रोगले च्याप्दै गएको बताएका छन् भने कतिपयले आफूहरु उपचार नपाएर नै मर्ने हो त ? भनेर चिकित्सकसँग प्रश्नसमेत गरेका छन् । थाइराइडको उपचारका लागि आउनुभएका गोरखाको पालुङटार नगरपालिका–३ डुम्रेडाँडाका जीवरायल मियाँलाई पनि चिकित्सकको आन्दोलनले पीडा थपेको छ । 

उहाँलाई केही दिनदेखि थाइराइड बढेर स्वास्थ्यमा असहज भयो । शरीर केही मोटाएजस्तो र सुन्निए जस्तो भयो । त्यसपछि उहाँले नियमित उपचार गराउँदै आएका वीर अस्पतालका चिकित्सक दीपक मल्लसँग यसपाली भेट्न सक्नुभएन । सङ्घअन्तर्गत आफूहरुलाई राख्नुपर्ने माग राखेर सरकारी चिकित्सक विगत चार दिनदेखि आन्दोलनमा उत्रिएपछि उपचार सेवा नपाउनुभएका मियाँ जस्ता धेरै बिरामी मंगलबार दिउँसो वीर अस्पतालमा सुस्ताउँदै गर्दा भेटिएका थिए ।

उपचार गर्न नपाएपछि सिधै प्रयोगशालामा गएर सम्बन्धका आधारमा रगत परीक्षण गराउनुभएका मियाँले निजी असपतालमा गएर रिपोर्ट देखाउने योजना बनाउनुभएको छ । मियाँले भन्नुभयो, “रगत परीक्षणमा त दिएँ अब रिपोर्ट देखाउन अर्काे चिकित्सककोमा जानुपर्ने छ, एक त बिरामी भएको पीडा, अर्काे उपचार नपाउने, दोहोरो पीडामा त पार्नु भएन नी ।”

नजिकै रहेका अन्य बिरामी र तिनका आफन्तहरु सरकारी चिकित्सकलाई गाली पनि गर्दै थिए । उनीहरु आपसमा कुराकानी गर्दै सरकारी तलब खाएर बिरामीको स्वास्थ्यमा खेलबाड गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने बताउँदै थिए । केही पहुँच हुनेहरुले त भनसुनका आधारमा र चिकित्सक भेटेर उपचार लिएका दृष्य वीर अस्पतालमा देखिन्थ्यो । तर पहुँच नहुने गरीब, पिछडिएका समुदायल भने अस्पतालको गेट कुरेर बस्न बाध्य थिए ।

अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा असरल्ल अवस्थामा देखिन्थे बिरामीहरु । टिकट नै काट्न नपाएका कतिपय बिरामी मलिन अनुहार लिएर फर्किएका थिए भने कतिपय उपचार पाइहालिन्छ कि भनेर अस्पतालको गेट कुरेर बसेका थिए ।

खुट्टा सुन्निएर उपचारका लागि मकवानपुर फाखेलबाट आउनुभएका जीतबहादुर बलको पीडा पनि उस्तै थियो । उहाँले आजको दिन वीर अस्पतालको टिकट काउन्टरको विश्राम कक्षमा बसेर बिताउनुभयो । दुखेसो पोख्दै उहाँले भन्नुभयो, “जाँच्न आएको डाक्टरै फेला परेन, बन्द छ भन्यो, फेरि भोलि आउने ।” 

काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पनि मंगलबार अवस्था उही थियो । अस्पतालमा आएका बिरामीमध्ये आकस्मिक र कुकुरले टोकेकाकोबाहेक अरु बिरामीले टिकट काट्न पाएनन् । उनीहरु त्यसै फर्किन बाध्य भए । पुनःपरीक्षणका लागि आएका बिरामी भने अस्पतालको आकस्मिक कक्षमा टोलाइरहेका थिए । केहीले अस्पताल परिसरमा भेटिएका चिकित्सकलाई रिपोर्ट देखाउँदै थिए भने अधिकांश बिरामी उपचार नै नपाइ फर्किएका थिए । आकस्मिक कक्षमा भने उपचार हुँदै गरेको देखिन्थ्यो ।

कुलेश्वरबाट उपचारका लागि आउनुभएकी रेशा लिम्बूको हात र खुट्टामा समस्या भएपछि उपचारका लागि आउनुभएको थियो । तर अस्पतालले उहाँलाई टिकट दिएन । “उपचारका लागि आएको, अनिश्चितकालका लागि बन्द छ भन्यो”, अस्पताल जस्तो संवेदनशील क्षेत्र बन्द गरेर हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

“बन्द कुनै हालतमा हुनु हुँदैन, कस्तो जटिल अवस्थामा बिरामी आएका हुन्छन्, यसरी आन्दोलन गर्नु चाहिँ राम्रो भएन”, लिम्बूले थप्नुभयो । सोधपुछका लागि कतिपय बिरामीलाई काउन्टरबाटै आकस्मिक कक्षमा जान कर्मचारी सल्लाह दिँदै थिए । काठमाडौँको प्रसूति गृह, महाराजगञ्जस्थित शिक्षण अस्पताललगायत मुलुकका सरकारी अस्पताल चिकित्सकको आन्दोलनका कारण प्रभावित भएका छन् । 

यसअघि नै चिकित्सकले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता आएको भन्दै उनीहरुले गत फागुन १८ गते आन्दोलन स्थगन भएको घोषणा गरेका थिए । 

असमान तरिकाले चिकित्सक समायोजन गरेको लगायतका माग राख्दै यही चैत २० गतेको आकस्मिक भेलाले २१ गतेदेखि सञ्चालन गर्ने गरी चिकित्सकले आन्दोलनको घोषणा गरेका हुन् । आजमात्रै आन्दोलनका कारण स्वास्थ्य सेवामा गम्भीर असर परेको भन्दै नियमित काममा फर्कन वीर अस्पतालले गरेको आग्रहसमेत चिकित्सकले टेरेका छ्रैनन् । चिकित्सकले अस्पतालका भित्तामा ‘माफ गर्नुहोस्, मलाई बिरामी जाँच्न मन छ तर यतिबेला मै माथि अन्याय भएको छ’ भन्ने वाक्य लेखेर टाँसेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सबै चिकित्सकलाई सङ्घअन्तर्गत राख्न नसकिने बताइसकेको छ । मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा समेत नागरिकको अधिकारलाई नै कुण्ठित गर्ने गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ र अन्य प्रचलित कानूनका आधारमा कारवाही गर्ने चेतावनीसमेत दिएको छ । तर चिकित्सकले सामूहिक राजिनामा धम्की दिएका छन् । 

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको आन्दोलनका विषयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग तथा विभिन्न सरोकारवाला निकायसँग आन्तरिक छलफल भइरहेको भन्दै चिकित्सकसँग कुनै छलफल नभएको जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया