'टिक टक' भिडियाे बनाउँदा साथीकाे ज्यान गयो

 वैशाख २, २०७६ सोमबार १३:२४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो । 

आइतबार राति सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको प्रहरीले जानकारी दियो । 

आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा घटना घटेको हो । घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए, जहाँ उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए । ‘त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याएका थिए, तर डक्टरले उनको मृत्यु भएको घोषणा गरे,’ प्रहरीले भन्यो ।   

आमिर, सोहिल र अर्काे एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेकाेको मुद्दा दर्ता गरिएको प्रहरीले बताएकाे छ । ‘सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको हो’, प्रहरी अधिकारीले भने । 

गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बतायो ।      
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया