ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
‘भत्किएका सबै घरहरुको पुननिर्माण सकिए पनि धरहरा र रानीपोखरी निर्माण नहुँदासम्म सबैकाम अधुरै छन् जस्तो हुन्छ ।’
राजुमान मानन्धरलाई हामीले रानीपोखरी भित्रै भेट्यौँ । पुननिर्माण विज्ञ तथा राष्ट्रिय पुन निर्माण प्राधिकरणका भूतपूर्व सहसचिव मानन्धर इन्जिनियर टिमसँगै रानीपोखरीको नाप लिदै हुनुहन्थ्यो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘राजधानीको मुटुमै छन् दुइटै सम्पदा । सबैको नजर पर्ने र सबैले बढी चिनेको पनि रानी पोखरी र धरहरा नै हुन् । यिनै सम्पदाको पुननिर्माण हुन नसक्दा सरकारले अहिलेसम्म के काम गर्यो भनेर मानिसहरुले ठाडो प्रश्न गर्छन् ।’
हुन पनि हो, भुकम्प गएको तीन वर्ष बितिसक्यो । रानीपोखरी पुननिर्माण गर्ने भनेर राष्ट्रपतिले उद्घाटन गरेको पनि एक वर्ष भन्दा बढी भइसक्यो । त्यहाँको झार उखेल्ने र थोरै सतहको माटो खोस्रयाउने बाहेक अरु केही पनि उपलब्धि भएको देखिँदैन ।
‘काम नगन्य मात्रामा भएको छ । केही पनि भएको छैन भने पनि भयो’, हातले पोखरीको परसम्म देखाउँदै मानन्धरले भन्नुभयो, ‘यही झारहरु पन्छाउने र पोखरीका पिँधसम्म खन्ने काम भयो । अरु काम बिस्तारै हुँदैछ ।’
केही समय पहिले काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भन्नुभएको थियो, ‘रातदिन काम गरेर भए पनि रानीपोखरीको निर्माण कार्य समयमै सम्पन्न गरिन्छ ।’
तर हामीले त्यहाँ काम गरीरहेका कामदारहरु कोही पनि देखेनौँ । राजुमान मानन्धरसँग कुरा गर्दैजाँदा थाहा भयो, अहिले उनीहरुको लागि केही पनि काम नभएर घरमै बसेका रहेछन् ।
कामदारले पनि कामैे नपाइने गरी बस्नुपर्ने, मेयरले कसरी काम द्रुत गतिमा भइरहेको छ भन्दा होलान्, सुन्नेहरुलाई अचम्म लाग्दो होला ।
‘अहिले भक्तपुरबाट कालो माटो ल्याउने काम भइरहेको छ, त्यो बीचमा पहिले काम गर्दै आएका कामदारको काम नभएकाले अहिले बिदामा छन्’, मानन्धरले भन्नुभयो, ‘माटो ल्याइसकेपछि त्यसलाई मुछेर पोखरीको पिँधमा १८ इन्च माथिसम्म भर्नुपर्छ अनि उनीहरुको काम सुरु हुन्छ ।’
त्यहाँ गएर हेर्ने हो भने काम कुन गतिमा भइरहेको छ भन्ने जो कसैले अनुमान लगाउन सकिहाल्छन् ।
रानी पोखरीलाई नियालिसकेपछि धरहराको हालखबर बुझ्न सिधै सुनधारा पुग्यौँ । जे होस् त्यहाँको कार्यप्रगति हेर्दा रानीपोखरीको भन्दा चित्त बुझ्दो देखियो । अहिलेसम्म १२ प्रतिशत काम भइसकेको र ४४ करोड रुपैयाँ खर्च भइसकेको राजुमान मानन्धरले नै बताउनुभयो ।
धरहराको कार्य सुरु भएको सात महिनामा जम्मा १२ प्रतिशत काम मात्र भएछ । बाँकी ८८ प्रतिशत काम १८ महिनामा कसरी सक्ने लक्ष लिएका होलान् पत्याउन अलि गाह्रो छ । किनकी २०२० को अक्टोबरभित्र धरहराको निर्माण कार्य पुर्णतया सक्ने लक्ष सरकारको छ ।
‘सन् २०२० को अक्टोबर पाँच तारिखभित्र धरहराको निर्माण कार्य सकिनेछ’, मानन्धरले भन्नुभयो ।
उहाँको यस्तो अभिव्यक्तिपछि सोध्न मन लाग्यो, ‘तपाईँ किटानीका साथ कसरी भन्नसक्नुहुन्छ कि अबको १८ महिनामै काम सकिन्छ भनेर ? सात महिनामा त मात्र १२ प्रतिशत काम भएको तपाइँ नै बताउनुहुन्छ ।’
हाम्रो प्रश्नले उहाँलाई अलि सोच्न बाध्य पार्यो । हल्का मुस्कुराउनुभयो, अनि उही पुरानै कुरा दोहोर्याउनुभयो, ‘यसलाई सरकारले महत्वाकांक्षी योजनाका साथ अघि बढाएको छ । जसरी भए पनि निर्माण गरिसक्नुपर्ने हुन्छ । नत्र यत्रो समयसम्म सरकाले के गर्यो भन्ने हुन्छ ?’
धरहरा निर्माणको लागि तीनतला जति जमिनमुनि खनिसकिएको छ । योसँगै धरहराको ‘पाइलिङ’को काम भइसकेको छ । एकमहिना पछि जग निर्माणको काम सम्पन्न हुने बताउँदै उहाँले भन्नुभयो, ‘२ सय १५ वटा पिल्लर गाडिसकेको छ । फाउण्डेशनको एउटा पाटो र्याफ्ट राख्ने काम सम्पन्न भएपछि धरहराको जग निर्माणको काम सकिने छ । त्यसपछि बल्ल बाहिरी काम सुरु हुनेछ ।’
गोरखा बारपाकका बासीन्दालाई लाग्दोहोला, हामी त विकट क्षेत्रका भएर राहत पुगेन, पुननिर्माण हुन सकेन । तर काठमाण्डौकै मुटुमा रहेका कतिपय सम्पदाहरु खाँबो र टेको कै भरमा अडिएका छन् । हेर्दा पनि आँखा रसाएर आउँछन् ।
रानीपोखरी र धरहराको बारेमा पूर्वाधार विज्ञसँगको केही गफगाफ पछि सुन्धारबाट वसन्तपुरतिर लागियो । त्यहाँ सुरुमै देखियो नेपाल संस्कृत विश्वविद्यालय । गनेर साध्य नै नहुनेगरी अड्याइएका काठ र फलामका खम्बाहरुमा निर्धो भएर उभिएको छ भवन । त्यसको आसपास जाँदा पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।
त्यसकै छेउमा छ कुमारी घर । त्यसको कुरा गरेर पनि साध्यै छैन । कुमारीको कत्रो आँट होला, यस्तो घरभित्र पनि निर्धक्क बस्न सक्ने । चारैतिर खाँबोमा अडिएको भवन । विदेशी पर्यटक आउँछन् घरको भन्दा पनि ती खाँबाहरुको फोटो खिचेर जान्छन् ।
त्यहाँबाट थोरै मोडिएर अलि भित्र तिर जाने हो भने देखिन्छ हनुमान ढोकाको शिव मन्दिर । झट्ट हेर्दा लाग्छ इटा भन्दा पनि बढी टेकोहरु लगाइएका छन् ।
त्यही वसन्तपुर दरबार क्षेत्र वरपर थुप्र्रै सम्पदाहरु छन् । जसको पनि अवस्था टेको मै अडिएको देख्न मिल्छ । काष्ठमण्डप निर्माणको भने तयारी भइरहेको छ । तर त्यो पनि सुस्त गतिमा । यी सम्पदाहरुको पुननिर्माण कहिले सकिने होे भन्ने बारे कसैबाट पनि ठोस जवाफ भेटिदैन ।
अन्तिममा हामीले यस्तै प्रश्न सोध्यौँ वसन्तपुरका एकजना व्यापारी सन्दिप महर्जनलाई । उहाँले भावुक हुँदै जवाफ दिनुभयो, ‘अब पुरानो काठमाण्डौ कहाँ रह्यो र ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।