नयाँ शक्ति र फोरमकाे एकतामा राजपा र जनमुक्ति पार्टी पनि !

 वैशाख १९, २०७६ बिहीबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकताको अन्तिम तयारी गरिरहँदा एकतामा राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमुक्ति पार्टी पनि सहभागी हुने भएको छ । 

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी कार्यालयमा बुधबार चारै दलका नेताहरुबीच छलफल भएको छ । छलफलमा सहभागी नेताहरुले बृहत छलफल गरेर चारै वटा पार्टी एक हुने गरी खाका तयार पार्न पूर्व प्रधानमन्त्री डा. भट्टराईलाई जिम्मेवारी दिएका छन् ।

सँगै आआफ्नो पार्टीमा थप छलफल गरेर एकताको तयारी गर्ने पनि नेताहरु बीच सहमति भएको छ । पार्टी भित्र छलफल गरेर १/२ दिनभित्रै फेरि चारै दलबीच बैठक बस्ने सहमति बनेको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।  

एकीकरण, मोर्चाबन्दी जे-जे गर्ने भए पनि चारै पार्टीबीच गरौँ भन्ने प्रस्ताव राजपाले राखेको पनि उहाँले बताउनुभयो । यस अघि फोरम र नयाँ शक्तिबीच केही दिन भित्रै एकता गर्ने लगभग सहमति भइसकेको थियो ।

तर अन्य दुई दल पनि एकतामा सहभागी हुने भनेपछि अहिले एकतालाई पछाडि सार्दै सबैलाई एकै ठाउँमा ल्याउने गरी खाका तयार पार्ने सहमति जुटेको हो ।  

छलफलमा भट्टराईसँगै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाको सहभागिता थियो ।  
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया