चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
लगातार कैयन वर्षसम्मको प्रयासपछि बल्लतल्ल डीभी पर्यो उनलाई ।
अमेरिका जाने सपना सपनै रहला भन्ने ठूलो डर पनि थियो सँगसँगै । तर अन्ततः डीभी पर्यो । उनी निक्कै खुशी थिइन् अमेरिका जाने समयमा । खुशी त अहिले पनि छिन् तर पहिले र अहिलेको खुशीमा समानता खोज्दै छिन् उनी ।
पहिले उनी ‘अमेरिकन ड्रिम’मा खुशी थिइन् । चलचित्रका नायक नायिका जस्तो भएर बाँच्न पाइने भयो भनेर मख्ख थिइन् । तर वास्तविकता साहै फरक र डरलाग्दो हुने रहेछ । चलचित्रका नायक नायिकाको जस्तो जीवन पाइन्छ भनेर कल्पिएकी उनी बिहानदेखि बेलुकीसम्म टुसुक्क पनि बस्न नपाइ काम गर्छिन् अहिले अमेरिकामा ।
कामको समयको टुंगो पनि हुँदैन । कहिले बिहान, कहिले दिउँसो अनि कहिले साँझ । एउटै छतमुनि सँगै बस्ने मानिसहरुको अनुहार कहिलेकाहीँ मात्र देख्न पाउँछिन् उनी । ती मान्छेहरु मध्ये उनका श्रीमान् पनि एक हुन् । श्रीमान् बिहान चाँडै काममा जान्छन् उनी नउठ्दै । अनि सुतिसक्छन् राति उनी नआउँदै । कहिलेकाहीँ श्रीमानलाई जागै बस्न अनुराेध गर्दै फोन गर्छिन् उनी । श्रीमान विचरा थकाइले चुर भएर अनुरोध स्वीकार्न सक्ने अवस्थामा पनि हुँदैनन् धेरैजसो ।
अहिलेको समयमा अधिकांश नेपाली युवाहरुले डीभी परेर अमेरिका जाने सपना देख्छन् । यो कुनै असामान्य कुरा होइन, किनकी विगत दुई दश देखि हजारौँको संख्यामा नेपाली युवाहरु अमेरिका पलायन भएका उदाहरण प्रशस्त छन् । देशको जर्जर अर्थतन्त्र र बढ्दो बेरोजगारी पनि यसको एउटा कारण हो ।
तर अमेरिका जाने सपना देख्ने ती युवाहरुले बुझ्नुपर्ने कुरा के हो भने के साँच्चै अमेरिका सपनाकै देश हो त ? काम नगरी बसीबसी खान पाइन्छ त्यहाँ ? के पैसा फल्ने रुख छ त्यहाँ ? यति सबै नबुझीकन पनि युवाहरु अमेरिकी जीवनप्रति लालायित हुनुको रहस्य अर्थोकै पो छ कि ?
गएको मार्च २०१९ मा ‘कमिसन अन स्टेटस अफ् वुमेन (CSW)’ मा भाग लिन म अमेरिका गएको थिएँ । पच्चिस दिनको उक्त बसाइमा आफू गएको कार्यक्रमभन्दा बाहेक पनि धेरै कुराको अनुभव लिने अवसर मिल्यो पंक्तिकारलाई । महिला अधिकार र सामाजिक मूल्य मान्यताका विषयमा काम गर्ने भएको कारण पनि महिलासम्बन्धी विषयमा स्वतः ध्यानाकर्षण हुनु स्वभाविक हो ।
आजभोलि नेपालमा महिला अधिकारको क्षेत्रमा धेरै प्रगति भएको छ भनिन्छ । उदाहरणको रुपमा नगण्य रुपमै भए पनि महिलाहरुले रुपान्तरणीय नेतृत्व लिएको देखिन्छ । तर स्मरणीय रहोस् महिलामाथि हुने हिंसाको अवस्थामा सायदै कुनै परिवर्तन आएको छ ।
हिंसा पहिले पनि हुन्थ्यो, अहिले पनि हुन्छ । पहिला सञ्चार माध्यमलगायत सामाजिक सञ्जाल अस्तित्वमा थिएनन् । एक ठाउँमा घटेको घटनाको विषयमा अर्का ठाउँका मानिसहरुले थाहा पाउँदैनथे । तर हालको अवस्था ठिक त्यसको विपरीत छ ।
एक ठाउंमा घटेको एउटा घटनालाई बीस फरक सञ्चारका माध्यमले फरक–फरक किसिमबाट प्रसारण/प्रकाशन गर्दछन् । यो स्वभाविक हो कि आम मानिसलाई लाग्छ पहिलेभन्दा घटना धेरै बढेको हो । तर वास्तविकता त्यो होइन । पहिले घटना घटे पनि पीडितहरुमा त्यो आँट थिएन कि उनीहरु सञ्चार माध्यमहरुमा जाउन् वा प्रहरीमा रिपोर्ट गरुन् । अहिले अवस्था फरक छ ।
पीडितहरुलाई आँट भरोसा दिने सञ्चारमाध्यम, संघसंस्थाहरु, अधिकारकर्मीहरु र महिलावादीहरु समाजमा प्रशस्तै भेटिन्छन् । उनीहरुकै आँट भरोसामा प्रहरीमा गएर घटना दर्ता गराउनेको संख्या पनि बढेको छ । तर घटनाको संख्यामा वृद्धि भएको नभई घटना रिपोर्ट गर्नेको संख्यामा वृद्धि भएको हो । ‘अधिकारकर्मीहरुको कारणले गर्दा नै महिला तथा बालिकामाथि हुने हिंसाको घटनाको दरमा वृद्धि भएको हो’ भन्ने बुझाइ बोकेको आजको नेपाली समाजले यो तथ्य बुझ्नु पनि उत्तिकै आवश्यक छ ।
यी त भए हिंसाका नालीबेली । अब कुरा गरौँ नेपाली समाजमा महिला र पुरुषको लागि समाजले तोकिदिएको लैंगिक सामाजिक भूमिकाको विषयमा । एउटी युवती विवाहपश्चात श्रीमानको घर जान्छिन्, आफ्नो घर, परिवार, नातागोता सबैलाई छोडेर । यहाँसम्म कि विवाह संस्कारको नाममा उनको गोत्र, थर र कतैकतै त नामसमेत परिवर्तन हुन्छ ।
विवाहपूर्वको आफ्नो पहिचान पनि छोडेर जान्छिन् उनी, किनकि उनलाई दिइएको सामाजिक लैंगिक भूमिका हो त्यो । उनका श्रीमानले चाहेर पनि उनको श्रीमत सरह सजिलै ससुरालीमा आएर बस्न सक्दैनन् । त्यसो गरेमा समाजका अनौठा पात्र बन्छन् उनी । त्यसैले हाम्रा समाजका श्रीमानहरु बलियो, श्रीमती पाल्न सक्ने, श्रीमती तह लगाउन सक्ने हुनु जरुरी छ ठानिन्छ ।
समाजले दिएको लैंगिक सामाजिक भूमिका हो त्यो । जत्तिनै परिवर्तन भएको भनिए तापनि नेपाली समाजमा अझै पनि पुराना रुढिवाद र पुरातनवादी सोचाइ कायमै छ । व्यवहारमा परिवर्तन ल्याउनु बाध्यता भए पनि सोचाइमा परिवर्तन आउन निकै कठिन छ ।
वर्तमान समयमा पढे लेखेकी, बुद्धिमान, स्मार्ट र जागिरे बुहारी चाहने सासुससुरा धेरै भेटिन्छन्, तर उनको कार्यव्यस्ततालाई सघाउने र कामको बोझ बाँडिचुडी लिने छोरा चाहँदैनन् । छोराले यदि त्यो गर्न चाहे पनि बाबुआमाको कारणले उस्ले त्यो गर्न सक्दैन । बाबुआमाको इच्छाविपरीत छोराले यदि श्रीमतीलाई सघाउने हो भने पनि सासूससुराको कोपभाजनको सिकार फेरि तिनै बुहारी हुनुपरेको देखिन्छ ।
ज्वाइँले छोरीलाई काम सघाएको सारै मनपराउने हाम्रा समाजका सासूससुराहरु छोराले बुहारीलाई सघाउँदा प्रत्यक्ष रुपमा केही नभने पनि परोक्षमा ‘कठै १ बिचराले दुख पायो’भन्न चाहिँ छोड्दैनन् । गाउँको घरछोडी शहर बजारमा काम गर्न, पढ्न बसेका श्रीमान श्रीमतीको बीचमा कामको बाँडफाँड गाउँकोभन्दा फरक हुन्छ । उनीहरुको बीचमा कार्य विभाजन प्रष्ट हुन्छ र गाउँमा जस्तो यो महिलाले गर्ने काम हो र यो पुरुषले गर्ने काम हो भनेर छुट्ट्याइएको हुँदैन ।
दुवै जना काम गर्ने र पढ्ने भएमा त्यो कार्य विभाजन अझ प्रस्ट हुन्छ । तर अनौठो कुरा त्यहाँ पनि के छ भने श्रीमानको बाबुआमाको उपस्थितिमा उसले श्रीमतीलाई सघाउन सक्दैन । आमाबाबुको अनुपस्थितिमा श्रीमतीलाई काममा हरसम्भव सघाउने श्रीमानले उनीहरुको उपस्थितिमा त्यो काम त उसले जानेकै छैन जस्तो प्रतिक्रिया जनाउँछ किनकि आमाबाबुको नजरमा उ श्रीमतीलाई सघाउने जोइटिंग्रे बन्न चाहँदैन । श्रीमतीलाई सघाउने श्रीमान जोइटिंग्रे हुन्छ भनेर उसलाई कसले सिकायो त ? उसका बाबुआमाले, अनि बाबुआमालाई ? यही समाजले ।
अब लागौं फेरी अमेरिकातिर । पंक्तिकारको पहिलेको प्रश्न थियो अहिलेका युवाहरु अमेरीकन वा बिदेशी जीवन प्रति लालायित हुनुको गुढ रहस्य के होला त ? कतै हाम्रो समाजमा बिद्यमान असमान लैंगिक भूमिका नै युवाहरुलाई विदेशी जीवनको मोहमा फसाउने जालो त हैन ? विदेशमा विशेषगरी युवतीहरुले नेपालमा नपाउने जीवन पाएका छन् ।
पहिलो कुरा त तिमी यसो गर, उसो नगर, तिमी यो घरकी बुहारी हौ, तिम्ले यस्तो लगाउन मिल्छ, यस्तो लगाउन मिल्दैन, यस्तो बोल्न मिल्छ, यस्तो मिल्दैन भन्ने सासुससुरा विदेशमा कमै हुन्छन् । यदाकदा घुम्न गएपनि उनीहरु छोराबुहारीसँग विदेशमै बस्ने कमै हुन्छन् । युवतीहरुलाई विदेशी जीवन मनपर्ने एक प्रमुख कारण यो हुनसक्छ, किनकि बुहारी बन्नेबित्तिकै आफ्ना सबै इच्छाहरुको तिलाञ्जली कसैले पनि दिन सक्दैन ।
दोश्रो कुरा, बाबुआमाको अगाडी भान्छामा आउन पनि अन्कनाउने श्रीमानहरुले विदेशमा श्रीमतीहरुलाई मज्जाले सघाउँछन् किनकि त्यहाँ त्यसको विकल्प छैन । बिदेशमा जिवनस्तर असाध्यै महंगो हुन्छ, एकजनाको कमाइ दुईजनाको परिवार धान्न पनि मुस्किल हुन्छ, झन बच्चा भएपछिको त कुरै नगरौं ।
सहज जीवनस्तर हासिल गर्न श्रीमान श्रीमती दुवैले बाहिर काम गर्नको लागि घरभित्रको कामको पनि उचित बाँडफाँड गर्छन् र जीवन सहज बनाउँछन् । दुखजिलो गरेर, घरभित्र र बाहिर काम गरेर पनि श्रीमान–श्रीमतीको परस्पर मेलमिलाप र समझदारी कायमै रहन्छ भने यो पनि कारण हुन सक्छ युवाहरुको विदेशी जीवनप्रति लालायित हुनुको अर्को रहस्य । लैंगिक रुपमा समान र आत्मसम्मानपूर्ण जीवन सबै मानवले चाहने कुरा हो, जुन नेपालमै हासिल हुन अझै दशकौँ लाग्न सक्छ ।
तेश्रो कुरा, विवाह भएर श्रीमानको घरमा गएपछि एउटी युवतीले आफ्ना सबै इच्छा आकांक्षाहरुलाई विवाहीको लेप लगाउन बाध्य हुन्छिन् । श्रीमान, सासूससुरालगायत परिवारमा अन्य सदस्यहरुको रुची तथा इच्छा नै उनको इच्छा बन्छ, बनाइन्छ ।
साँच्चै उनको इच्छा के हो भन्ने कुरातर्फ खासै ध्यान दिइँदैन पनि । खाने कुरामा, लगाउने लुगामा, बोल्ने बोलीमा विवाहितको लेप लाग्छ । यी कुराहरुमा उनले उनको स्वतन्त्रता पाउँदिनन् । उनी अब श्रीमानको घरमा हुन्छिन्, जहाँ उनको आफ्नो इच्छा आकांक्षाभन्दा पनि उनको जिम्मेवारी, कर्तव्य र परिवारको इज्जत निकै ठूलो भइदिन्छ ।
तर विदेशमा अवस्था फरक हुन्छ, त्यँहा श्रीमती श्रीमानको घरमा गएको नभई, दुवै मिलेर नयाँ जीवनको परिकल्पनामा नयाँ ठाउँमा गएका हुन्छन् । दुवैलाई एकअर्काको रुची, इच्छा थाहा हुन्छ र त्यसप्रतिको सम्मान पनि ।
श्रीमानले श्रीमतीलाई मनग्गे सघाउन पाउँछ, छोराको लागि चित्त दुखाउने आमाबाबु हुन्नन् त्यहाँ । श्रीमतीले मन परेको, फेसनमा चलेको लुगा लगाउन र मन परेको काम गर्न पाउँछिन् किनकी, तिमी त बुहारी हौ, यस्तो गर्न मिल्दैन भन्ने पनि हुन्नन् त्यहाँ । सायद यो पनि कारक हुनसक्छ युवा र अझ विशेषगरी युवतीहरुलाई विदेशी जीवनले मोहित पार्ने ।
हेर्दा सामान्य देखिने यो कुरालाई गहिराइमा हेर्ने हो भने यसले नेपाली बाबुआमाहरुको डरलाग्दो भविष्यलाई इंगित गर्दछ । वर्तमानमै पनि धेरैजसो नेपाली परिवारमा कोही न कोही विदेशिएका छन् ।
विदेशी रहनसहन, विदेशी जीवन देखेका छोराहरुको विवाहपछि पनि छोरा र बुहारीलाई लैंगिक रुपमा गर्नुपर्ने सही व्यवहार गर्न नसक्दा आमाबाबुहरु छोराबुहारीहरुसँग टाढा हुने र बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य भएका उदाहरणहरु हाम्रै वरपर प्रशस्त भेटिन्छन् । त्यस्तैगरी, परिवारभित्र लैंगिक भूमिकामा समानता नहुने र विदेशमा आफ्नो स्वतन्त्रतासहितको लैंगिक रुपमा समान जीवन बिताउन पाउने भएकाले पनि युवतीहरुको विदेशमोह बढेको देखिन्छ ।
यसो हुनुमा आजका युवायुवतीहरुको सोचभन्दा पनि सदियौंदेखि नेपाली समाजमा जरा गाढेर बसेको हानीकारक सामाजिक मूल्यमान्यता दोषी देखिन्छन्, जसले महिला र पुरुषको बीचमा असमानताको खाडल खनेका छन् । जसको फलस्वरुप मानिस परिवारभन्दा पनि व्यक्तिवादतर्फ अग्रसर भएको देखिन्छ, जुन पक्कै पनि नेपाली आमाबाबुहरुको लागि सुखद संकेत भने होइन ।
त्यसैले पनि महिला र पुरुष, छोरा र छोरी, छोरा र बुहारीलगायतका सम्बन्धहरुमा लैंगिक सामाजिक असमानता अन्त्य हुनु एकदमै आवश्यक छ । यही अवस्था यथावत रहेमा, पश्चिमा देशमा झैँ छोराछोरीहरुले बालिग हुनेबित्तिकै आमाबाबुलाई छोडेर एक्लै बस्ने प्रवृतिको आगमन नेपाली समाजमा पनि नहोला भन्न सकिन्न ।
डीभी परेर श्रीमानसहित अमेरिका गएकी मेरी साथीले गर्ने काम सामान्य नै छ । ठिकठिकै पैसा कमाउँछिन् । श्रीमान र श्रीमतीले कमाएकोले यी दुईको जीवन मज्जाले चलेको छ । कमाउन त नेपालमा पनि कमाउँथिन् उनी, तर आफ्नै हातले आफ्नो कमाइ खर्चिन पाएकोमा मख्ख छिन् ।
हुनत उनको अमेरिकी जीवन त्यति सजिलो त छैन, व्यस्त का व्यस्त । ‘अझ अब त घरकाले बच्चा जन्माउ भने भने के गर्छौ ?’ भन्ने पंक्तिकारको प्रश्नको जवाफमा हाँस्दै र काममा जान तयार हुँदै मेरी साथीले भनिन्, ‘नेपाल हो र यो बच्चा पाउ वा कहिले पाउँछौ भनेर दबाब दिनलाई, यो अमेरिका हो, जहिले मलाई मन लाग्छ त्यहिले पाउँछु नि !’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आरती शर्मा हाल अक्सफाम नेपालमा लैंगिक कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।