प्रदेश ४ को नाममा किचलो : सत्तारुढ दल नेकपाभित्रै विवाद

 असार १९, २०७५ मंगलबार १६:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रदेश ४ को नाम के राख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टीभित्रै सहमति नजुटेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको छ । 

गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्पसहितको प्रतिवेदन सदनमा टेबुल गर्नुभएको थियो ।

त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगित भयो । १७ गते आइतबार बसेको बैठकले राजधानीको विषयमा मात्रै छलफल गरेको थियो । सोमबारसमेत थप छलफल गरी पोखरालाई सर्वसहमतिले राजधानी घोषणा भएको छ ।

मंगलबारका लागि नाममाथि छलफल गर्ने तयारी भए पनि सत्तारुढ दल नेकपाभित्रै सहमति नभएपछि मंगलबार बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो । 

नामको विषयमा अब असार २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिइसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि तत्कालीन एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । तत्कालीन माओवादीले कुनै पनि सुझाव दिएको थिएन । तर पार्टी एक भैसकेको अवस्थामा प्रदेशको नाम के राख्ने भन्नेमा भने नेकपभित्रै मतभेद उत्पन्न भएको छ ।

केहीले गण्डकी तमुवान राख्ने प्रस्ताव अघि सारे पनि केहीले चाहिँ त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।

अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली कांग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।

सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बुझाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको प्रतिवेदनमा उल्लेख छ । नेकपाले २१ गतेको बैठकमा सर्वसम्मत नाम सिफारिस गर्ने जनाएको छ ।
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया