तरकारीको आपूर्ति बढे पनि भाउ उस्तै महंगो

 जेठ १२, २०७६ आइतबार १३:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तरकारी किन्न बजार पुग्नुभएकी जावलाखेलकी रेखा डंगोल भाउ सुनेर झसंग हुनुभयोे । ‘तरकारीको त भाउ सुने पनि बेहोस हुने खालको छ’ तरकारी छान्दै गरेकी उहाँले  भन्नुभयो, ‘अब त तरकारी किनेर खानै नसकिने भयोे ।’

सधैँ एक किलो टमाटर किन्ने उहाँले एक पाउ मात्र किन्नुभयो । ‘हिजोआज भान्छामा टमाटरको प्रयोग घटाएकी छु’, उहाँले हाँस्दै भन्नुभयो । उहाँ मात्र होइन तरकारी किन्न जाने सबैले भन्छन्, ‘कति महंगो तरकारी, कसरी खाने !’ 

केही दिन यता बजारमा तरकारीको मूल्य आकासिएको छ । अरु तरकारीको तुलनामा टमाटरको मूल्य झनै बढेको छ । अघिल्लो महिना ५० रुपैयाँ प्रति किलो रहेकोे टमाटरको भाउ अहिले ११० रुपैयाँ पुगेको छ । 

अघिल्लो  महिनाको तुलनामा यो महिना टमाटर, हरियो खुर्सानी, काउली, मटरकोशा, गाजर, अदुवा आदि तरकारीको मूल्य बढेको बढेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

अघिल्लो वर्षको भन्दा यो वर्ष अधिकांश तरकारीको मूल्य ३५ देखि २ सय ३ प्रतिशतसम्म बढेको उहाँको भनाई छ ।

तरकारीको आपूर्ति बढे पनि यसरी मूल्य वृद्धि हुनु अचम्मलाग्दो भएको उहाँले बताउनुभयो । ‘औसत दैनिक तीन टनसम्म तरकारी आपूर्ति बढेको छ, तर पनि तरकारीको मूल्य घटेको छैन’ उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षभन्दा यो वर्ष ६५ प्रतिशतदेखि १५७ प्रतिशतसम्म तरकारीको मूल्य वृद्धि भएकोे छ ।’

एक महिना अगाडि प्रति किलो ८० रुपैयाँ  पर्ने हरियो खुर्सानीको मूल्य बढेर अहिले १५० पुगेको छ । यस्तै पहिले ४५ रुपैयाँ प्रति किलो पाइने स्थानीय काउली अहिले ८० रुपैयाँ नाघिसेको छ ।

अघिल्लो महिना प्रति किलो १५० रुपैयाँ पर्ने अदुवाको मूल्य बढेर २८० रुपैयाँ पुगिसकेको छ ।

मटरकोशाको मूल्य पनि एक महिना अगाडिको भन्दा अहिले २० रुपैयाँले बढेको छ । ७० पर्ने मटरकोशा अहिले बजारमा ९० मा बिक्री भइरहेको छ । तरकारीसँगै फलफूलको मूल्यमा पनि वृद्धि भएको छ ।

फलफूलमा पनि सबैभन्दा स्याउको भाउ वृद्धि भएको छ । पहिले १५० मा बिक्रि भइरहेको स्याउ अहिले २५० पुगिसकेको छ । 

वैशाख १२ गते र जेठ १२ गतेकाे मूल्यसूचि यस्ताे छ :

हरियो खुर्सानी ८० अहिले १५०

काउली ४५  अहिले ८०

आलु रातो २६ अहिले ४५

मटरकोसा ७० अहिले ९०

गाजर २६ अहिले ६०

स्याउ सामान्य १५० अहिले २५०

अदुवा १५० अहिले २८०

तरबुजा ३८ अहिले ५५

किन बढ्यो तरकारी तथा फलफूलको मूल्य ?

सम्बन्धित निकायले अनुगमन नगर्दा एकाएक यसरी मूल्य वृद्धि भएको उपभोक्ता संरक्षण मञ्चकी उपाध्यक्ष सुवर्ण प्रभा बताउनुहुन्छ ।  

‘सम्बन्धित निकायले छानबिन गर्नुपर्ने हो । तर छानबिन प्रभावकारी भएको छैन’ उहाँले भन्नुभयो, ‘बिचौलियाले गर्दा तरकारी र फलफूलको भाउ आकासिएको हो । व्यापारीहरुको मनोमानीका कारण गलत प्रचार भइरहेको छ ।’

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पहिलेको भन्दा अहिले तरकारीको आपूर्ति बढेको छ । पहिलेको भन्दा अहिले दैनिक तीन टन बढी तरकारी आयात भएको समितिका उप निर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

भारतबाट आयात हुने केही तरकारीमा उतैबाट भाउ बढेर आउँदा यता महंगिएको उहाँको भनाइ छ । ‘भारतबाट मूल्यवृद्धि भएर आउने बित्तिकै नेपालमा उत्पादन हुने टमाटरको भाउ पनि महंगिएको छ, बिचौलियाले यसको फाइदा उठाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘किसानबाट ५० रुपैयाँमा ल्याएको टमाटर कालिमाटी पुग्दासम्म ११० रुपैयाँ हुन्छ ।’

तरकारीमा पनि बिचौलियाहरु बढेको र सरकारी पक्ष यसको नियन्त्रणमा लागिपरेको उहाँले बताउनुभयो ।

के गर्दैछ नियमनकारी निकाय ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत अनुगमन शाखाका निर्देशक पवन कुमार तिमिल्सिनाले तरकारीको मूल्यवृद्धिबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

मूल्य किन र कसरी बढेको हो भन्ने स्ष्ट कारण केही नदेखिए पनि आन्तरिक उत्पादन बजारमा नआएर मूल्यवृद्धि भएको हुनसक्ने उहाँको भनाइ छ ।

‘काठमाण्डौमा तरकारी आउने ठाउँहरु धादिङ, मकवानपुर, काभ्रेका तरकारी संकलन केन्द्रमा गएर निरीक्षण गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘अहिलेको अवस्था हेर्दा बजारमा आन्तरिक उत्पादन पुग्न नसकेर तरकारीको भाउ महंगिएको हो कि भन्ने अनुमान गरेका छौँ ।’

यस्तै काठमाण्डौका विभन्न खुद्रा तथा होलसेल तरकारी व्यापारीहरुले पनि आफूखुसी मूल्य बढाउने गरेको उहाँको भनाइ छ ।

‘हामीहरुको टिम छानविनमा लागिरहेको छ’ उहाँले भन्नुभयो, ‘हामी जुनसुकै बेला पनि छापा मार्न सक्छौँ ।’ 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया