पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
दश वर्षदेखि अष्ट्रेलिया बसिरहेका एक मित्र वैशाखको तेस्रो साता काठमाण्डौ मध्यबानेश्वरको एक रेष्टुराँमा भेटिए । जल्दोबल्दो कुरा निस्कियो, अष्ट्रेलियाको एनआरएन चुनावको । कुरैकुरामा ती मित्रले नेपालका राजनीतिक दल र एनआरएनको चरित्र एकै भएको टिप्पणी गरे ।
काठमाण्डौमा जस्तै सिड्नी, मेलबर्न, ब्रिसबेनलगायत अष्ट्रेलियाका अधिकांश शहरमा नेपालीका औपचारिक/अनौपचारिक जमघटमा धेरैले एनआरएनप्रतिको विरक्तभाव प्रकट गर्छन्, यो सत्य हो । भेट सकेर छुट्टिने बेला ती मित्रले भने “मेरो यसपालिको एनआरएन सदस्यता शुल्क फलानाले तिरिदिएका हुन् ।” उनले हाँस्दै थपे, “उस्तै परे भोट पनि उनैले हाल्न बेर छैन ।” यो सुनेर त्यहाँ भएका हामी खित्का छोडेर हाँस्यौं।
एनआरएन अष्ट्रेलियाको चुनाव नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेद्वारी दिन सलबलाएका स्वनाम धन्य समाजसेवीलाई कटाक्ष गर्दै मे २६ तारिखमा पश्चिम अष्ट्रेलियाबाट नील थपलियाले एउटा फेसबुक स्टाटस लेख्नुभयो । उम्मेद्वार हुन रहर गर्नेहरुले विगत र बर्तमानमा आफूले गरेका कामको बढाईचढाई बखान गरेकोमा थपलियाको कटाक्ष थियो । चुनाव लागेपछि मात्रै पश्चिम अष्ट्रेलियामा यतिधेरै समाजसेवी रहेको थाहा पाएको थपलियाले लेख्नुभएको छ ।
“साझा एनआरएन सबल एनआरएन” भन्दै वर्तमान उपाध्यक्ष केशब कँडेलको प्यानलले मे २६ तारिखमै एनआरएन अष्ट्रेलियाको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्यो । एनआरएन रुपान्तरण गर्ने मुख्य लक्ष्य राखेको यो समूहले अष्ट्रेलियमा नेपाली कांग्रेस समर्थकहरुको एउटा खेमाको प्रतिनिधित्व गर्छ । त्यसअघि कांग्रेसकै भ्रातृ संगठन जनसम्पर्क मञ्चको आधिकारिक दावी गर्दै अर्का उपाध्यक्ष नन्द गुरुङको प्यानलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेको थियो ।
कँडेलको उम्मेदवारी घोषणा भएको दुई दिनपछि आफूलाई सामावेशी समूह भनेर चिनाउँदै पूर्वउपाध्यक्ष दिनेश पोखरेल नेतृत्वमा सिड्नीमा अर्को प्यानलको उम्मेदवारी घोषणा भयो ।
अहिलेसम्म एनआरएन सोचेजस्तो समावेसी छैन भन्ने आशयका साथ “समावेसी एनआरएन” बनाउने समूहको प्रतिवद्धता छ । पोखरेलको समूहमा अष्ट्रेलियामा रहेका नेकपाका समर्थक समावेश छन् ।
माथि उल्लेखित तीन प्रसंगले एनआरएनको अहिलेको चरित्रलाई प्रतिबिम्बत गर्छ । तीनवटै प्यानलका उम्मेदवार घोषणा, सुधारको प्रतिवद्धता र नाराले एनआरएन अहिलेसम्म सबैको साझा र समावेसी छैन भन्ने सामान्य अर्थ लाग्छ । पूर्ण रुपमा समावेसी र सबैको साझा नभई एनआरएनले सवै नेपालीलाई समेट्न सक्ने अवस्था हुँदैन ।
एनआरएनमा २५ प्रतिशत पनि गैरआवासीय नेपाली अटाएनन्
चुनावी माहोल तातेसँगै सदस्यता सँख्यामा यसपटक अष्ट्रेलियाले अमेरिकालाई उछिन्यो । अष्ट्रेलियामा एनआरएन सदस्य सख्या ११ हजार ८ सय ७ पुग्दैछ । कुनै समय १७ हजार सदस्य पुगेको अमेरिकामा अहिले एनआरएन सदस्य सँख्या ९ हजार २ सय १८ मात्रै छ । किनकप् एनआरएनको सदस्यता दुई वर्ष अबधिको हुन्छ र अबधि पुगेपछि नवीकरण नगरे सदस्यता सकिन्छ ।
सन् २०१९–२१ कार्यकालका लागि अमेरिकामा भन्दा अष्ट्रेलियामा २६ सय सदस्य बढी छन् । तर उदेकलाग्दो कुरा सम्बन्धित देशमा बसोबास गर्ने नेपालीको तुलनामा एनआरएनको सदस्यता लिनेको सँख्या असाध्यै थोरै छ । अमेरिका, अष्ट्रेलिया लगायत देशमा बस्ने नेपालीको सीमित सँख्याले मात्रै श्रद्धापूर्वक एनआरएनको सदस्यता लिएको छ ।
एनआरएनकै एउटा अनुसन्धानले अमेरिकामा झण्डै साढे तीन लाख नेपाली बसिरहेको देखाएको थियो । साढे तीन लाखमध्ये जम्मा ९ हजार २ सय मात्रै अर्थात् लगभग ३ प्रतिशत नेपाली मात्रै एनआरएन अमेरिकामा आबद्ध छन् । सयमा ९७ जना नेपाली समावेश हुन नसकेको वा नचाहेको एनआरएन अमेरिकाले त्यहाँका सबै नेपालीको प्रतिनिधित्व गर्छ कि गर्दैन, बहस गर्न सकिन्छ ।
अष्ट्रेलियामा लगभग एक लाख नेपाली रहेको अनुमान छ । त्यसमध्ये लगभग ५० हजार नेपालीले स्थायी बसोबास अनुमति वा नागरिकता लिएको आँकलन गर्न सकिन्छ । यो तथ्यांकलाई आधार मान्ने हो भने अष्ट्रेलियामा बसोबास गर्ने ७६ प्रतिशत नेपाली एनआरएनमा आबद्ध छैनन् । अर्थात् २४ प्रतिशत नेपाली मात्रै एनआरएनमा आबद्ध छन् । त्यसैले, अष्ट्रेलियामा पनि अहिलेको अवस्थाको एनआरएन सबै नेपालीको साझा संस्था देखिँदैन ।
८० देशमा शाखा खोलेको एनआरएनको ७६ देशका शाखाहरु कृयाशिल छन् । धेरै नेपाली भएको देश अमेरिका र अष्ट्रेलियामा सीमित व्यक्ति मात्रै एनआरएनको सदस्यता लिन आकर्षित देखिन्छन् । जति व्यक्तिले एनआरएनको सदस्यता लिएका छन्उ, नीहरु पनि एनआरएनलाई श्रद्धा गरेर भन्दा पनि चिनेजानेकाहरुलाई राजनीतिक लाभ पुगोस् भनेर सदस्यतामा नाम लेखाएको देखिन्छ ।
अष्ट्रेलियाको एनआरएन सदस्यतामा लाजमर्दो चलखेल
अष्ट्रेलियामा यसपटक एनआरएनमा ३ हजार ६ सय सदस्यता थपिएको प्रसंग जति खोतल्यो त्यति रोचक लाग्दै जान्छ । सदस्यता लिने म्यादको अन्तिम दुई दिनमा मात्रै नयाँ र पुराना गरेर एनआरएन अष्ट्रेलियामा पाँच हजार सदस्य थपिए । अन्तिम दुई दिन चुनाव जित्ने मनसायले अर्काकोे सदस्यता आवेदन भरिदिनेदेखि शुल्क भुक्तानी गरिदिनेसम्मका अनेकौँ चलखेल भए ।
एउटै व्यक्तिले २०, ३०, ५० मात्रै होइन, एकै परिवारका सदस्य वा प्यानलका साथीहरु मिलेर १५० जनासम्मको सदस्यता शुल्क भुक्तानी गरेका आधारहरु भेटिएका छन् । यसका प्रमाणहरु एनआरएन अष्ट्रेलियाको बैंक स्टेटमेन्टमा संग्रहित छ ।
अष्ट्रेलिया व्यक्तिगत आर्थिक अधिकार, स्वतन्त्रता र गोपनीयताको विषयमा असाध्यै सम्बेदनशील देश हो । श्रीमान र श्रीमतीको पनि बैंक खाता, हरहिसाब र संस्थाको सदस्यता लिने विषयमा स्वनिर्णय गर्ने अधिकार भरपूर उपयोग गरिन्छ ।
कुनै पनि सामाजिक संस्थाको सदस्यता शुल्क वा चन्दा उपहार शुल्कको भुक्तानी अर्को व्यक्तिले गर्ने कुरा अष्ट्रेलियाका नागरिकको आचरण र मान्यता विपरीतको कुरा हो । समाजसेवी संस्थाले यस्तो एकमुष्ट सदस्यताका लागि एकै व्यक्तिबाट आएको शुल्क सुनियोजित रुपमा स्वीकार्नु संस्थागत भ्रष्टाचार हो ।
अष्ट्रेलियामा सामाजिक संस्थाको सदस्यता शुल्क वा मासिक, साप्ताहिक चन्दा उपहार दिँदा त्यो रकमको कर तिर्नु नपर्ने व्यवस्था छ । अधिकारप्राप्त संस्थालाई चन्दा दिँदा त्यो रकमको कर छुट पाइन्छ र त्यसका लागि सम्बन्धित सामाजिक संस्थाले चन्दादातालाई कर छुटको लागि निस्सा पत्र दिने प्रावधान छ ।
सदस्यता शुल्कको नीति र आचरण
एकै व्यक्तिले बनाएका बहु सदस्यहरुबाट सामाजिक वा लोककल्याणकारी संस्था बन्छ र त्यसले असल अभिप्राय र आचरणका साथ काम गर्छ भन्ने कुरा कुनै पनि समाजिक संस्थाको नीतिले कल्पना गरेको हुँदैन । एनआरएन अष्ट्रेलियाको विधान र अन्य नीतिले पनि यस्तो कुरा कल्पना गर्दैन । तर अष्ट्रेलियामा यसरी नियोजित रुपमा पछि मतदानको लाभ लिने जोखिमसहित संगठनको सदस्यता शुल्क लेनदेन गर्नु गैरकानूनी हो ।
यसवर्ष सदस्यता खोल्ने निर्णयसँगै एनआरएन अष्ट्रेलियाको राष्ट्रिय समितिमा आफ्नो परिवारको सदस्यता नवीकरण एकै व्यक्तिले गरेकोमा स्वीकार गर्ने एकपक्षीय निर्णय भएको थियो । यस्तो निर्णय पनि अष्ट्रेलियाको मूल्य मान्यता बिरुद्धको हो ।
अष्ट्रेलियामा परिवार भनेको श्रीमान, श्रीमती र एक वा दुई बच्चा हुन् । यदि यो नेपाली पाराको सहमतिलाई मान्ने हो भने पनि एक जनाले तीनदेखि पाँच जनाको मात्रै सदस्यता शुल्क तिरिदिएको हुनुपर्ने । तर १९ वर्ष पुगेका आफ्ना सन्तानलाई स्वनिर्णय गर्न दिनुपर्ने अष्ट्रेलियामा परिवारको शुल्क एकै व्यक्तिले तिर्ने तर्क नै चुनावमा आफ्नो पक्षलाई जिताउने खेलोको एउटा अंश हो ।
विकृति कतिसम्म
सदस्यता दिलाउन, शुल्क तिरिदिन र त्यसकै आडमा चुनाव जित्न गरिएको अथक प्रयास धेरै छ । कतिपयले सबैभन्दा पहिले आफूले चिनेजानेको व्यक्ति वा आफ्नै कम्पनीमा काम गर्ने कामदारको ठेगानासहितको परिचय पत्र, पासपोर्ट वा मेडिकेयर कार्ड संकलन गरे । त्यसपछि एकएक गरेर सदस्यता फाराम भरियो । यतिसम्म कि, आफूले पैसा तिरेर सदस्यता दिलाउन नयाँ इमेल ठेगान खोलिएको र फोनसमेत नयाँ प्रयोग गरिएको छ ।
अष्ट्रेलियका विभिन्न राज्यहरुको सदस्यता संख्याको अनुपात अनुसार नै यसरी एकमुष्ट सदस्यता शुल्क तिरिदिनेहरु पहिचान हुन्छन् । सबैभन्दा धेरै सदस्यता भएको न्यू साउथ वेल्स राज्यमा सबैभन्दा धेरै एकमुष्ट भुक्तानी देखिन्छ भने सबैभन्दा कम सदस्यता रहेको तास्मानियाबाट पनि सदस्यता शुल्कमा एकमुष्ट भुक्तानीहरु छन् ।
अझ एउटा राज्यमा स्थायी बसोबास गर्ने व्यक्तिले अर्को राज्यमा स्थायी बसोबास गर्नेको शुल्क भुक्तानी गरिदिएको मात्रै होइन पश्चिम अष्ट्रेलियाबाट त सामान्य विद्यार्थीले झण्डै महिना दिनको कमाई बराबरको रकमले अर्काको एनआरएन सदस्यता शुल्क तिरिदिएको भेटिन्छ । यसबाट एनआरएनको चुनाव जित्ने र अर्काको भोट आफैँले हाल्ने प्रयोजनका लागि सुनियोजित रुपमा सदस्यता वितरणमा हजारौँ डलरको खेलो चलेको छ ।
तर “मिलिजुली गरौँ जुजुमानको आरती” भने झैँ एनआरएन अष्ट्रेलियाको राष्ट्रिय समितिमा एकजनाले २० जनासम्मको सदस्यता शुल्क तिरेकोलाई “परिवार” सम्झेर मान्यता दिउँ भन्ने पक्षमा बहुमत सदस्यहरु पुगे । त्यो पनि उनीहरुको चुनावी चलखेलमा आफूलाई पुग्ने रणनीति नै थियो ।
कार्यसमितिका ४० प्रतिशत सदस्यको बिरोधकै बीच ६० प्रतिशतले बहुमतको आधारमा निर्णय भएको थियो । सुनियोजित रुपमा केही मानिसको समूहले २०–२० जनाको दरले सदस्य बनाए चुनाव जितिन्छ भन्ने रणनीतिका साथ यो निर्णय गरिएको थियो । त्यसैले २५ डलर तिरेर बनाएका सदस्यको भोट पनि सम्बन्धित व्यक्तिले नै एकमुष्ट हाल्ने अवस्था छ । एनआरएनमा सबै नेपाली नअटाउनु वा एनआरएन सबै नेपालीको साझा नहुनुको मुख्य कारण यो पनि हो ।
कहिलेदेखिको हो यो विकृति ?
अष्ट्रेलियामा दुई वर्षअघिसम्म एनआरएन सदस्य जम्मा २८ सय थियो । सन् २०१७ को चुनावअघि ५५०० सदस्य थपिए । चुनावमा जित्न चाहनेले पैसा खर्च गरेर सदस्यता शुल्क तिरिदिने सिलसिलाको बहार त्यहप्बेला अर्थात् दुई वर्षअघि शुरु भएको हो । सदस्यता शुल्कको बिबाद उतिबेला पनि भएको थियो ।
सन् २०१७ को सदस्यता विवाद अष्ट्रेलियाको फेयर ट्रेडमा पनि पुग्यो । उजुरी परेपछि छानबिनका लागि एनआरएन अष्ट्रेलियाले ३ सदस्यीय समिति बनायो । उतिखेर तीन जनाले फेयर ट्रेडमा एनआरएन सदस्यतामा प्रश्न उठाएर उजुरी गरेका थिए । आगामी दिनमा यस्तो समूहगत भुक्तानीलाई मान्यता नदिने सहमति भएको थियो, तर अहिले फेरि त्यही प्रकृया दोहोरिएको छ ।
“हामीले हुँदैन भनेका त हौँ तर हाम्रो केही लागेन, बलमिचेरै यस विषयमा निर्णय गरियो” एनआरएन अष्ट्रेलियाका राष्ट्रिय संयोजन समिति सदस्य सुरेश रेग्मीको भनाई छ । “जम्मा दुईसय सदस्य भएको तास्मानियामा त १०–२० सदस्य बनाउने २–४ जना भएपछि सबैभन्दा धेरै सदस्य भएको सिड्नी, मेलबर्न र पर्थतिर के भएको होला ? ” रेग्मीको प्रश्न छ ।
अष्ट्रेलियामा नेपालीका संस्था
नेपालमा जन्मेका व्यक्तिले अष्ट्रेलियामा घरजग्गा किनेर बसोबास गर्न थालेको लगभग ५० वर्ष भयो । ४८ वर्ष पहिले सिड्नीको सेन्ट जोर्ज भन्ने ठाउँमा पहिलो पटक नेपालीले घर किनेको इतिहास भेटिन्छ । फेयर ट्रेडिङ्मा दर्ता भएका र नभएकासमेत गरेर अष्ट्रेलियामा नेपालीका संस्था लगभग २०० छन् । फेयर ट्रेडिङ्मा दर्ता नेपालीका संस्थाको सख्या भने ६७ छ ।
अष्ट्रेलियामा नेपालीले खोलेकोमध्ये सबैभन्दा जेठो संस्था नेप्लिज अष्ट्रेलियन एसोसिएसन (एनएए) हो । गैरआवासीय नेपाली संघ एनआरएनको अष्ट्रेलिया शाखा सन् २००५ मा खुल्यो । एनआरएनको उदेष्य नेपालबाहिर रहेका नेपालीलाई संगठित गर्नु, नेपाली नागरिकताको निरन्तरताको लागि पहल गर्नु नेपाल प्रबर्द्धन र लगानीको जोहो गर्नु हो ।
१४ वर्षअघि एनआरएन गठन हुँदा अष्ट्रेलियामा रहेका पाँचवटा संस्थालाई समावेश गर्न सकिएको भए अहिले नेपाली बस्ने टोलैपिच्छे छुट्टै नाउँका संस्था खुल्दैनथ्यो । सबै नेपाली एनआरएनमै अटाउन सक्थे । अनि, चुनाव जित्नका लागि एनआरएनको सदस्यतामा अनावश्यक चलखेल गर्न पर्दैनथियो ।
अष्ट्रेलियामा बैंक खाता नभएको व्यक्तिको कल्पना नै गर्न सकिँदैन । अनि एनआरएन सदस्यता शुल्क अर्कैले तिर्छ भने त्यसको नियतमा शंका गर्न सकिन्छ । अष्ट्रेलियामा संस्थामै आबद्ध भएको व्यक्तिले धेरैजनाको एकमुष्ट पैसा तिरिदिनु नैतिक आचरण भित्रको कुरा हुँदै होइन । यसै त एनआरएन सबैको साझा भएन, एनआरएनले सबैलाई प्रतिनिधित्व गरेन भन्ने आरोप लागिरहेका बेला सदस्यता वितरणका लागि भैरहेका अमर्यादित खेलले संस्थालाई अझ बदनाम गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट उज्यालो अनलाइनका सामग्री तयार पार्नुहुन्छ।