संसदमा गृहमन्त्रीकाे जवाफ : डाक्टर केसीले नै अधिनायकवादी चरित्र देखाए

 असार २०, २०७५ बुधबार १७:६:३४ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले डाक्टर गोविन्द केसीले अधिनाकयवादी शैलीमा सडकबाट विधिविधान बनाउन खोजेको दाबी गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक र राजनीतिक महत्वका विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले लोकतन्त्र विधिको शासन भएकाले आफ्ना मागहरु त्यसै ढंगले अघि बढाउनुपर्ने बताउनुभएको हो । 

सरकारले डाक्टर केसीको राजनैतिक अधिकारको सम्मान गर्ने भन्दै उहाँले लोकतन्त्र विधिको शासन भएकाले सबै नागरिकले कानुनको सम्मान गर्नुपर्ने बताउनुभयो । सदनबाटै समस्या समाधान खोजिनुपर्ने भन्दै उहाँले सडकमा विरोध गर्नु अधिनायकवाद भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनअदालत भनेको प्रतिनिधिसभा हो । राष्ट्रियसभा हो । सडकमा कुनै समस्या समाधान हुन सक्दैन त्यो अधिनायकवादी चरित्र हो ।’ उहाँले लोकतान्त्रिक तरिकाले समस्याको समाधान खोज्न डाक्टर केसीलाई आग्रह गर्नुभयो ।

गृहमन्त्री थापाले सरकारले स्वास्थ्य परीक्षणमा रोक लगाएको भन्ने विषय शतप्रतिशत गलत भएको बताउनुभयो  उहाँले डाक्टर केसीले नै उपचार लिन नमानेर डाक्टरहरु फर्काएको दावी गर्नुभयो  पार्नुभयो । उहाँले भन्नुभयो, ‘जबरजस्ती ल्याउने हो भने, सदनले हामीलाई आदेश दिनुपर्‍यो, घिच्याएर ल्याउनुपर्यो । त्यसो गरौँ भने पनि मानवअधिकारको, लोकतन्त्रको हनन हुन्छ । हामी बडो दुविधामा छौँ । हामी हटलाइनमा छौँ जुम्लासँग । हामीले हेलिकप्टर ठिक पारेर पनि राखेका छौँ ।’ उहाँले प्रतिष्ठानभित्र अनसन गर्न रोक लगाइएको विषय सत्य भए पनि अनसनै बस्न नदिएको भन्नेमा सत्यता नभएको स्पष्ट पार्नुभयो ।

उहाँले डाक्टर केसीलाई गिरफ्तार नगरेको तथा अनसनबाट रोक्ने काम नभएको र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने तथा दमन गर्ने काम नगरेको स्पष्ट पार्नुभयो । अति संवेदनशील ठाउँहरु जहाँ पनि निषेधित हुने भन्दै उहाँले विरोधको अधिकारलाई सरकारले कुण्ठित नगरेको र हरेक जनताको जिउधनको स्ुरक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले अतिसंवेदनशील स्थानहरु जहाँ पनि निषेधित हुने र सुशासन र लोकतन्त्रको रक्षाको लागि त्यसो गरिने स्पष्ट पार्नुभयो । नागरिकको विरोध गर्ने अधिकार कुण्ठित नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । लोकतन्त्रको जननी भएका देशमा पनि जहाँसुकै अनशन बस्न नपाइने भन्दै उहाँले विधिको पालना सबैबाट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा गएर अनशन बस्ने ?’

सरकार प्रतिगामी भए सरकारविरुद्ध जनताले विद्रोह गर्न पाउने भन्दै उहाँले प्रश्न गर्नुभयो,  ‘के अहिले विद्रोह गर्ने आवश्यकता हो त ? के यो सरकार प्रतिगामी हो ? यो दलालहरुको, राष्ट्रघातीहरुको सरकार हो ? जनताका लोकतान्त्रिक अधिकारलाई हनन गरिरहेको छ ? कुण्ठित गरेको छ ? वा त्यसको संरक्षण गरिरहेको छ ?  यो सरकार अल्पमतको सरकार हो ? कि यो दुई तिहाईबाट निर्वाचित सरकार हो ?’ उहाँले डाक्टर केसीले उठाएको मागमा सरकारको कुनै पोजिसन नभएको स्पष्ट पार्नुभयो ।

गंगामाया अधिकारीको अनसनलाई भने उहाँले राजनीतिक प्रश्न भएकाले राजनीतिक ढंगले हल गर्नुपर्ने बताउनुभयो । सर्वोच्च अदालको आदेशलाई सरकारले कार्यान्वय गर्ने भन्दै उहाँले जनयुद्धकालिन मुद्धा भएकाले राजनीतिक रुपमा र विशेष विधि अनुसार समस्या समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले अतिरञ्जित ढंगले गगांमायाको विषय उठान गरेर मुलुकलाई अस्थिर बनाउने खेल भएको त छैन भन्ने शंका उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यस्ता गंगामायाहरु हजाराँै छन् । ती सबै गंगाामायाका समस्याको हल हुनुपर्छ ।’

द्वन्द्व पीडितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै उहाँले सही व्यवस्थापनका लागि ठोस नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

भ्रष्टाचारप्रतिको शून्य सहनशीलतामा सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले सुशासनका विषयमा दृढ रहेको बताउनुभयो ।   ठेक्का लिएर पनि काम पूरा नगर्ने ठेकेदारहरुले कानुनको उलंघन गरेको भन्दै उहाँले कसैलाई पनि सरकारले छुट नदिने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया