उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सुनसरी – सप्तकोशी नदीमा पानी मात्र बग्दैन । हरेक वर्ष बर्खामा सप्तकोशीमा दुःख पनि बग्छ । हरेक वर्ष कोशीको कहरले हजारौँ मानिसलाई दुःख दिने गर्छ ।
पानीको बहाव बढेपछि कोशी करिडोर क्षेत्रमा बसोबास गर्ने तल्लो तटीय क्षेत्रका समस्यामा पर्छन् । तर कोशीमा कति पानी छ ? कति पानी हुँदा खतरा हुन्छ ? अहिले कति पानी होला भन्ने चिन्ताले सबैलाई सताउँछ । यसरी सुरक्षित हुनुपर्छ भनेर भन्ने नेपाली सूचना प्रणाली भने निकै कमजोर रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले सुनसरीको चतरामा स्थापना गरेको पानी मापन स्टेसन चौकीदारकोे भरमा सञ्चालित छ । स्थानीय हरिबहादुर कार्की २०३३ सालदेखि त्यहाँ राखिएको ‘गेज’ हेरेर माथिल्लो निकायमा खबर गर्दै आउनु भएको छ । उहाँले यो काम गरेबापत दिनको २ सय रुपैयाँ पाउनुहुन्छ । २०७२ सालबाट भने राडार राखेपछि अटोमेटिक रुपमा पानीको मात्रा देखिने गरेको छ ।
अहिले सप्तकोशीको पानीको मापन र जलस्तर को सूचना जडान गरेको राडार र गेज दुवैबाट लिइँदै आइएको छ । राडार सप्तकोशी नदीको नयाँ पुलको पिलरमा राखिएको छ भने गेज पुलपारि उदयपुरपट्टि राखिएको छ । राडार आफैले गृह मन्त्रालय, मौसम पूर्वानुमान महाशाखामा पठाउनु पर्ने हो । तर यो प्रणाली भरपर्दो भएको छैन । त्यसैले चौकीदारको भरमा सप्तकोशीको सूचना प्रणाली निर्भर रहेको छ ।
सप्तकोशीमा पानी बढेपछि बिहान, दिउँसो र राति हरिबहादुरले सूचना दिनु पर्छ । तर उहाँलाई बस्नका लागि स्टेशनमा घरसमेत छैन । माओवादी सशस्त्र आन्दोलन सुरु नभएसम्म त्यहाँ रहेको आवा घरमा बसेर कार्कीले सूचना प्रवाह गर्नु हुन्थ्यो । तर सशस्त्र आन्दोलनका बेला आवा हटाइएपछि त्यो घर पनि भत्काइयो ।
अहिले हरिबहादुर कार्की अर्काको घरमा बसेर सूचना प्रवाह गरिरहनु भएको छ । तर यो काम नियमित हुन सकेको छैन । ‘म एउटाले रात बिहान कसरी मेसिन हेरेर सूचना दिन सक्छु रु’,उज्यालोसँग कार्कीले भन्नुभयो, ‘यति वर्ष भयो अहिलेसम्म सरकारले हेरविचार गरेन । अन्यत्र गेज रिडरको नियुक्ति गरेर सूचना लिने काम भएको छ । म भने चौकीदारको तलबमा अहिलेसम्म खटिरहेको छु ।’
यसरी हुन्छ सूचना प्रवाह
कोशीमा पानीको जलस्तर कति बढ्यो र कति घट्यो भन्ने जानकारी लिन र दिनका लागि सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा २०३३ सालमा पानी मापन स्टेशनको स्थापना गरिएको थियो । मापन स्टेशनमा रहेको राडारले सप्तकोशीको जलस्तर मापन गर्छ । राडारले देखाएको पानीको मात्रा हेरेर मापन स्टेशनमा काम गर्ने चौकीदारले जल तथा मौसम पूर्व अनुमान महाशाखामा टिपाउने गर्छन् ।
हुन त पछिल्लो समय चतराको राडारले देखाएको सूचनाको डिस्प्ले महाशाखामा बसेर पनि हेर्न सकिने व्यवस्था मिलाइएको छ । तर यो भरपर्दो नभएको चौकीदार कार्की बताउनुहुन्छ । ‘कहिले ब्याट्री चार्ज हुँदैन । कहिले लाइन हुँदैन । यसले पनि डिस्प्ले प्रभावकारी हुन सकेको छैन । मैले मोबाइलबाट टिपाएकै भरमा सूचना तलदेखि माथिसम्म गइरहेको छ’, कार्कीले भन्नुभयो ।
यसरी चौकीदारले दिएको सूचनाको भरमा मौसम पूर्वानुमान महाशाखाले कोशीको अवस्थाका बारेमा आधिकारिक सूचना जारी गर्छ । तर महाशाखाले तटीय क्षेत्रका सर्वसाधारणलाई भने सूचना दिएको छैन । ‘मोबाइलमा एसएमएस आँउछ भनिएको थियो । तर कोशीमा यति धेरै पानीको मात्रा हुँदा पनि एसएमएस आएन । जानकारी र सूचना नै नभएका कारण कोशी करिडोरका सर्वसाधारण वर्षा याममा डरैडरमा बाँच्नु परेको छ’, सुनसरी प्रकाशपुरका बाबुराम कार्कीले बताउनुभयो ।
‘कम्तीमा सही सूचना त समयमा आउनु पर्यो नि’, स्थानीय कोशी पीडित श्याम सुब्बाले भन्नुभयो, ‘कोशीले हरेक साल कटान गर्छ । तर कोशीमा कस्तो खतरा छ रु पानीले कतातर्फ कटान गरिरहेको छ ? खतरा भएको बेला के गर्नु पर्छ भन्ने सूचना र जानकारी नै पाँउदैनौँ ।’ आकाश हेरेर कोशीको डिलमा चढेर कोशीको बारेमा अनुमान लगाउनु परिरहेको उहाँले बताउनुभयो । उहाँ सप्तकोशी नदीको बीचमा पर्ने श्रीलंका टप्पुमा बस्नु हुन्छ । बराहक्षेत्र नगरपालिकाका वडा सदस्य श्याम सुब्बाले सूचनाको अभावमा त्रास र यातना सहनु परेको बताउनुभयो ।
चौकीमा ब्याट्री छैन, प्रशासनमा चट्याङले हान्यो
सप्तकोशी नदीको सूचनाको प्रणाली बलियो बनाउन पानी मापन स्टेशनमा राडार मेसिनले देखाएको पानीको मात्रा र अवस्था जिल्ला प्रशासन कार्यालय सुनसरीमा पनि देखिने व्यवस्था मिलाइयो । यस्तो व्यवस्था २०७२ सालबाट सुरु भएको हो । सप्तकोशी नदीको पानीले कतै खतरा उत्पन्न भए समस्या समाधान गर्न भारतीय पक्षलाई गुहार्न सहज होस् भनेर जिल्ला प्रशासनमा सूचना आउने प्रणाली डिस्प्ले राखिएको हो ।
कोशी आसपासको तटबन्धको मर्मत सम्भार भारतीय पक्षले गर्ने र भारतीय पक्षसँग समन्वय गर्ने तल्लो स्तरको निकाय जिल्ला प्रशासन कार्यालय भएकाले डिस्प्लेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको थियो । तर चट्याङले हानेपछि वर्षौंदेखि यो सूचना प्रणालीले काम गर्न सकेको छैन ।
वर्षौंदेखि नबनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीमा रहेको डिस्प्ले तीनदिन अघिबाट सुरु गरिएको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो ।
रेडक्रस, प्लान नेपाल फरवार्ड नामक गैरसरकारी संस्था मिलेर प्रकाशपुर चौकीमा पनि राडारबाट आउने सूचना देखिने व्यवस्था मिलाइयो । तर ब्याट्रीको ब्याकअप नहुँदा बिजुली नभएको बेला सूचना नआउने स्थानीय रविन घिमिरेले बताउनुभयो । ‘हाम्रो पहलमा सबै सूचना आओस् भनेर काम गरिएको थियो तर त्यसको कुनै भर भएन’, उहाँले भन्नुभयो, ‘सप्तकोशी नदीको बाढी र खतराको संकेतका लागि हरि दाइले गेज नापेर पठाएको सूचनामै सरकार भर परिरहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।