ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
संखुवासभा - पूर्वी पहाडी जिल्लाहरु संखुवासभा र भोजपुरमा रुद्राक्ष व्यापार सुरु हुन थालेको छ । असार अन्तिमदेखि नै रुद्राक्षको बगान नै ठेक्का लगाउने गरिन्छ ।
रुद्राक्षको राजधानी नै भनेर चिनिने संखुवासभाको विभिन्न भागहरु स्याबुन, वाना, धुपू, चेवाबेसी, माङतेवा र भोजपुरको दिङ्ला, नेपालेडाँडा र सोमबारे लगायतका क्षेत्रमा चहलपहल सुरु भइसकेको छ ।
तर व्यापारिक चहलपहल सुरु भएसँगै अप्राकृतिक रुद्राक्षको उत्पादन र बगानमा नै विषादी छर्किन थालेपछि किसान व्यवसायी दुवैलाई पिरोल्न थालेको छ । केही व्यापारी र किसानले राम्रो फल्ने रुद्राक्ष बगानमा अझै बहुमूल्य बनाउनका लागि कलिलो अवस्थामा नै रुद्राक्ष दानामा विषादी छर्किने र कृत्रिम क्लिप लगाउने गरेको पाइएको छ ।
चिनियाँ व्यापारीले चिल्लो, थेप्चे, मदाने र कण्ठे आकारका रुद्राक्षको धेरै माग गर्ने भएकाले धेरैले रुद्राक्षको आकार बिगार्न थालेका हुन् ।
केही किसान र व्यापारीले तत्कालको फाइदा हेरेर रुद्राक्षको बोटमा नै विषादी छर्किने र क्लीप लगाएर बिगार्न थालेपछि यसको महत्व घट्नेरुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष चक्र बिसुन्केले बताउनुभयो ।
चिनियाँ व्यापारी आकर्षित गर्न बिगार्न थाले रुद्राक्ष
पूर्वी पहाडी जिल्ला संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्षको मुख्य बजार भारत मात्रै थियो । भारतको एकाधिकार बजार भइरहेको अवस्थामा करिब ८ पर्षअघि व्यापारिक प्रयोजनमा चिनियाँ व्यापारीहरु संखुवासभा भित्रिए । त्यो समयमा जस्तोसुकै रुद्राक्षले मूल्य पायो । रुद्राक्षको काँचो बोक्रा समेत प्रतिकिलो १० हजार रुपैयाँभन्दा बढीमा बिक्री भएपछि व्यापारीहरु हौसिए ।
अहिले तिनै चिनियाँ व्यापारीले बर्सेनि रुद्राक्षको मूल्य घटाउन थालेका छन् । उनीहरुले चाहेजस्तो रुद्राक्ष उत्पादन नभएको भन्दै करिब तीन/चार वर्षदेखि बोटमै कृत्रिम क्लिप प्रयोग गर्ने मेशिन भित्र्याएका थिए । गएको वर्षदेखि भने रुद्राक्षको दानामा विषादी छर्किन थालेको पाइएको छ ।
गएको वर्ष संखुवासभाको चैनपुर नगरपालिकाको लोहाकोटमा १५ लाख ठेक्कामा लिइएको रुद्राक्ष बगानमा २ वटा बोटमा परीक्षणका लागि विषादी प्रयोग गरिएको पाइएको हो । यसैगरी खराङ, लोहाकोटका साथै पाँचखपन नगरपालिका विभिन्न ठाउँमा पनि विषादी प्रयोग गर्ने गरेको पाइएको छ । खाँदबारीमा पनि ठेक्कामा लिएको एउटा बोटमा विषादी प्रयोग गर्न ठेकेदारले खोजेको तर आफूले नदिएको त्यहाँका एक किसानले बताए ।
चैनपुरका रुद्राक्ष व्यावसायी बीरबहादुर तामाङकाअनुसार विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने, तर एक महिनापछि रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्याले बहुमूल्य रुद्राक्ष समेत बिक्री गर्न समस्या भएको छ ।
‘त्यसरी उत्पादन गरिएका रुद्राक्ष बिक्री नहुने समस्याका कारण व्यापारी र किसान दुवैलाई नोक्सान भएको छ । गएको वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यसै वर्षदेखि क्वालिटीका रुद्राक्ष फल्न छाडेको छ’ उहाँले भन्नुभयो, ‘किसान र व्यापारी क्षणिक लाभका लागि विषादी हाल्ने र क्लिप प्रयोग गर्ने गरेका छन् । यो गलत हो ।’
गएको वर्षदेखि किसानका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लीप प्रयोग गरेर कृत्रिम दाना उत्पादन गरिरहेका थिए । तर प्राकृतिक उत्पादन जस्तो थेप्चे भए पनि चिल्लो नभएको भन्दै रुद्राक्ष बिक्री वितरणमा समस्या आयो । यस वर्ष भने रुद्राक्ष छिप्पिन लाग्दा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न व्यापारीहरु लागि परेका छन् ।
व्यापारीलाई रुद्राक्ष बगान ठेक्कामा दिए पनि विषादी छर्किन र क्लीप प्रयोग गर्न दिन नहुने रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष बिसुन्केले बताउनुभयो । उहाँले त्यस्ता रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा नै धमिल्याउन खोजिएकाले सबै रोक्नु पर्ने बताउनुभयो ।
यसरी क्षणिक रुपमा रुद्राक्ष उत्पादनले वर्षौंसम्म आम्दानी दिन सक्ने रुद्राक्ष बगानका बोट नै बिग्रिन थालेका छन् । भविष्यमा समेत रुद्राक्ष खरिद बिक्रीमा समस्या आउने स्थानीयको भनाइ छ ।
भगवान शिवजीको तेस्रो नेत्रबाट उत्पादन भएको मानिने रुद्राक्ष धार्मिक हिसाबले महत्वपूर्ण मान्निछ । धार्मिक हिसाबले यसको मूल्य यति नै हो भन्ने नहुने तर ठूलो रकमका किनबेच हुने गरेको व्यापारीहरुको भनाइ छ । संखुवासभाबाट अर्बौं रुपैयाँभन्दा बढीको रुद्राक्षबाट वार्षिक कारोबार हुने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।