दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
धनुषा - विदेश पठाउँदा लागेकाे रकम फिर्ता नगरेको भन्दै महोत्तरीमा एक जनाले डोजर लगाएर ऋणीकाे घर भत्काएका छन् ।
महोत्तरीको भंगहा नगरपालिका-१, कविलासा पूर्वारीटोलका मोहम्मद पनित शेखको घर स्थानीय एजेन्ट बद्री ठाकुरले डोजर लगाएर भत्काएका हुन् ।
शनिबार सम्पूर्ण परिवारलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक डोजर लगाएर भत्काएको शेखकी श्रीमती जाहिरा खातुनले दुखेसो पोख्नुभयो । घर भत्काएपछि शेखका सम्पूर्ण परिवार विस्थापित भएका छन् ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाका विषयमा थोरै मात्र जानकारी भएको बताउनुभयो । पीडितले उजुरी नदिएकाले कारबाही प्रक्रिया अघि बढाउन नसकेको उहाँको भनाइ छ ।
पीडित जाहिराका अनुसार शेख अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा हुनुहुन्छ । आठ वर्ष अघि एजेन्ट बद्री ठाकुरले शेखलाई २० हजार रुपैयाँमा राम्रो काम र कमाइ हुने कम्पनीमा काम पाइने भन्दै विदेश पठाइदिएका थिए । तर शेखले त्यहाँ गएपछि राम्रो काम र तलब पाउनुभएन ।
आफ्ना पति शेख विदेश गएपछि आफ्नो ससुरा अहम शेखसँग एजेन्ट ठाकुरले ८५ हजार रुपैयाँको जाली तमसुक बनाएकाे र त्यही पैसाको ब्याजको स्याज गरी एजेन्ट ठाकुरले मोटो रकम माग गर्ने गरेकाे र जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेकाे जाहिराले बताउनुभयाे ।
शेखको सम्पतिको नाममा ५ धुर घडेरीमा काठ र माटोले बनाएको यही एउटा सानो घर थियो । पति विदेश गएपछि कमाएको पैसाले जेठी र माहिली छोरीको बिहे गरेको उहाँकी श्रीमती जाहिराले बताउनुभयो । घरमा १७ र १५ वर्षका दुई छोरी र १० र ८ वर्षका दुई छोरा छन् ।
‘विदेशमा पतिको कमाइ थाेरै भएकाले घर व्यवहार चलाउन र २ छोरीको बिहे गर्न बाहेक केही सकिएको छैन, बस्ने घर पनि एजेन्टले भत्काएर सडकमा पुर्याए । अब हामी कहाँ बस्ने ?’, जाहिराले आँसु झार्दै भन्नुभयो ।‘
पतिले पठाएको डेढ लाख र आफ्नो बुबाले दिएको ५० हजार गरी २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहना र खाद्यान्न, लत्ता-कपडासमेत निकाल्न नदिइ डोजर लगाएकाे जाहिराको दुखेसाे छ । एजेन्टले पैसा असुलीका लागि मुद्दा हालेपछि गएकाे असारमा ३ लाख रुपैयाँ दिएर हरहिसाब मिलाउन आग्रह गर्दा नमानेको र अहिले एकाएक घर भत्काएकाे जाहिराले आराेप लगाउनुभयाे ।
जाहिराले केही वर्ष अघि एजेन्ट ठाकुर राति राति घरमा पसेर ऋण छोडिदिने भन्दै अनैतिक सम्बन्धको प्रस्ताव राख्ने गरेकाे गुनासाे गर्नुभयाे । एक पटक त होहल्ला समेत भइपछि भागेकाे र यस विषयमा पञ्चायत समेत राखिएको थियो । त्यो रीसीबी साँध्नलाई घर तोडेको हुनसक्ने केही स्थानीयको अनुमान छ ।
घर मैले होइन अदालतले तोडेको हो: एजेन्ट ठाकुर
एजेन्ट ठाकुरले शेखको घर आफूले नभइ जिल्ला अदालत महोत्तरी र प्रहरी प्रशासनले भत्काएको दावी गरे । शेखले विदेश जानकाे लागि नभएर घर व्यवहारका लागि ७ वर्ष अघि २ लाख ५० हजार ऋण लिएको ठाकुरको भनाइ छ ।
‘मसँग शेखले लिएको ऋण तिरेन । त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा असुल उपर गरी पाऊँ भनी मुद्दा हालेँ । डेढ वर्ष अघि अदालतले घरघडेरी लिलाम गर्न आदेश दियो’, एजेन्ट ठाकुरले भने, ‘पटक पटक घर खाली गर्न आग्रह गर्दा समेत मानेन । शनिबार अदालत, प्रहरी प्रशासन मिलेर उसको घर भत्कायो । यसमा मेरो कुनै दोष छैन ।’
तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने घटना सम्बन्धमा अनभिज्ञता देखाएकाे छ ।
दोषीलाई कारबाही गर्नुपर्छ: नगरप्रमुख साह
भंगहा नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूले लेनदेनको मुद्दा मिलाउन तीन पटक पहल गरेको, तर मुद्दा अदालतमा गएकाले केही गर्न नमिल्ने बताउनुभयाे । घर भत्काएको घटना थाहा पाएपछि निकै दु:ख लागेकाे बताउँदै नगरप्रमुख साहले प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।