काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङको सुदूर पूर्वमा पर्ने दूधपोखरी कुण्ड धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा प्रसिद्ध छ । जनै पूर्णिमाको अवसरमा यस कुण्डमा नुहाउन आउनेहरुको भिड नै लाग्ने गर्दछ । प्रत्येक जनैपूर्णिमामा यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ ।
जनै पूर्णिमाको दिन यस पोखरीमा नुहाए वर्षौंदेखिको रोगव्याधी निको हुने, बोली नआउनेहरु बोल्न थाल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
दूधपोखरी पुग्न कठिन यात्रा
त्यसो त दूधपोखरी कुण्ड पुग्न भने त्यति सजिलो छैन । हिमालको काखैमा रहेको दूधपोखरी पुग्न तीन–चार दिनको कठिन यात्रा गर्नुपर्ने हुन्छ । लमजुङको दूधपोखरी गाउँपालिकामा पर्ने दूधपोखरी कुण्ड समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा पर्दछ ।
मनास्लु र हिमालचुली हिमालको काखैमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनै पूर्णिमामा भक्तजनहरुको ठूलो घुइँचो नै लाग्ने गर्दछ । सर्वोदय सेवा आश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाका अनुसार लमजुङका साथै गोरखा, तनहुँ, कास्की, चितवन, काठमाण्डौलगायतका ठाउँंदेखि तीर्थालु भक्तजनहरु यस पोखरीमा बर्सेनि नुहाउन आउने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जानु नपर्ने विश्वास रहेको बुढापाकाहरु बताउँछन् ।
यात्रा रमाइलो
त्यस ठाउँमा पुग्न तीर्थयात्रीहरुलाई सामान्य बाटोको आकार पत्ता लगाउँदै हिँड्नुपर्ने बाध्यता छ । बाटो हिँड्नको लागि निकै अफ्ठ्यारो छ । त्यसैले दूधपोखरी जाँदा अनुभवी तीर्थयात्री अथवा स्थानीय बासिन्दाको सहयोग आवश्यक हुन्छ ।
कहालीलाग्दो भिर–जंगल–खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने हुँदा केही असजिलो भए पनि यात्रा भने निकै रमाइलो हुने त्यहाँ पुगेर फर्कनेहरु बताउँछन् । ‘भिर, जंगल, खोरिया हुँदै ठाडै उकालो यात्रा गर्नुुपर्ने भएकाले यात्रा केही कठिन त हुन्छ । । तर दूधपोखरी कुण्डमै पुगेपछि सारा दुःख भुलिन्छ । त्यहाँ पुग्दा स्वर्गकै अनुभूति हुन्छ’, २ वर्षअघि दूधपोखरी कुण्डसम्म पुगेर फर्केका लमजुङ फेदीकुनाका रामहरि भट्टराईले भन्नुभयो ।
बासका लागि ओढार र भेडीगोठको भर
उहाँका अनुसार दूधपोखरी कुण्ड जाँदै गर्दा बाटोमा भेटिने÷देखिने लेकाली फूलको सौन्दर्यले जो सुकैको मन लोभ्याउँछ । विभिन्न चराचुरुङ्गीको चिरबिराहट मधूर संगीतले आनन्दित तुल्याउँछ । लोपान्मुख बहुमूल्य जंगली जनावरदेखि जडिबुटीहरु यस भेगका अर्का मूख्य आकर्षण हुन् । लमजुङको जोर्नेभन्दा माथि मानव बस्ती नभएकाले त्यहाँ खानेकुरा र पिउने पानीको अभाव खड्किने उहाँ बताउनुहुन्छ ।
यात्राका क्रममा पर्याप्त खानेकुरा र खानेपानीको व्यवस्था तीर्थयात्री आफैले गर्नुपर्छ । दूधपोखरीको यात्रामा सुरक्षित बासको पनि त्यतिकै समस्या छ । बास बस्नका लागि जंगलका ओढार तथा भेडीगोठको सहारा लिनुपर्दछ ।
दूधपोखरी पुग्न ४–५ घण्टाको दूरी बाँकी रहँदा ठाउँ–ठाउँमा परम्परागत भेडीगोठहरु देख्न सकिन्छ । तीर्थयात्रीहरुका लागि त्यहाँका गोठालाहरुले दिल खोलेरै सहयोग गर्छन् ।
गोठमा दूधका विभिन्न परिकारहरु पाइन्छन् । दूधपोखरी पुग्न केही दूरी मात्र बाँकी छँदा बाटैमा ‘धर्म गौँडो’ भन्ने ठाउँ आउछ । स्थानीयका अनुसार जो यो गौँडो कट्न सक्छ, उसको सबै पाप हरण हुन्छ ।
लेक लाग्ने समस्या
भेडीगोठबाट झण्डै ४ घण्टा हिँडेपछि दूधपोखरी कुण्ड आउँछ । हिमालको काखमा रहेको हुनाले यहाँ निकै जाडो हुन्छ । पोखरीमा नुहाएर पूजा–अर्चना गरी प्रार्थना गर्दा तीर्थयात्रीहरुको मन धेरै हल्का भएको महसुस गर्छन् । दूधपोखरी धेरै उचाइमा रहेकाले त्यस ठाउँमा लेक लाग्ने समस्या पनि त्यतिकै हुने ओलिया बताउनुहुन्छ ।
उहाँका अनुसार लमजुङ र गोरखाको सीमानामा पर्ने चेपे नदीको मुहान दूधपोखरी कुण्डमा वैशाखदेखि असोजसम्म जान सकिन्छ । चिसो समयमा हिउँ पर्ने भएका कारण यहाँ जान सकिदैँन ।
संरक्षणको खाँचो
‘प्राकृतिक, धार्मिक रुपले धनी दूधपोखरी कुण्डमा वैशाखदेखि असोजसम्म पर्यटक लैजान सके धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ’, उहाँ भन्नुहुन्छ । धार्मिक तथा पर्यटकीय महत्वको दूूधपोखरी कुण्डको संरक्षणमा सम्बन्धित पक्षले चासो नदिएको सरोकारवालाहरु बताउँछन् ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको दूधपोखरी कुण्डको संरक्षण–सम्बर्द्धन र प्रचारप्रसार हुन सकेको खण्डमा सिंगो लमजुङकै पर्यटकीय एवम् आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।