महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तिज : प्रधानमन्त्री

 भदौ १६, २०७६ सोमबार ७:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तिज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताउनुभएको छ । उहाँले हरितालिका (तिज)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गनुभएको छ ।  

नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तिजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तिजको विशेष महत्व छ,” तिजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरु बनिसकेको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताउनुभएको छ ।

“राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ, महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया