‘मन्त्रीको कारण उडान १५ मिनेट मात्रै ढिलो भएको हो’

 भदौ २९, २०७६ आइतबार १३:३५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडान गर्न लागेको बुद्ध एयरको जहाज मन्त्रीका कारण उड्न ढिलाइ भएको भन्दै केही यात्रुले सँस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री योगेश भट्टराईकै अगाडि गरेको नाराबाजीको भिडियो भाइरल बनेको छ । 

मन्त्री भट्टराईकै कारण उडान एक घण्टा ढिला भएको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । तर नेपालगञ्ज विमानस्थलले भने १५ मिनेट मात्रै उडान ढिलाइ भएको जनाएको छ । 

मन्त्री भट्टराईले पनि आफ्नो कारण जहाज १५ मिनेट ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति काठमाण्डाै फर्किसकेपछि सामाजिक सञ्जाल फेसबुक मार्फत क्षमायाचना गरिसक्नुभएको छ । काठमाण्डौबाट उडेको बुद्ध एयरको एटीआर ७२ विमान नेपालगञ्ज विमानस्थलमा सवा ६ बजे अवतरण भएको विमानस्थलले जनाएको छ । 

विमानस्थलको रेकर्ड अनुसार सवा ६ बजे अवतरण भएको विमानले ७ बजेर ६ मिनेटमा उडान भरेको छ । विमान अवतरण भएपछि यात्रु र उनीहरुका ब्यागेज झार्न तथा फेरि त्यहाँबाट आउने यात्रु चढाउन र उनीहरुका ब्यागेज हाल्न कम्तीमा पनि आधा घण्टा हरेकजसो विमानमा लाग्ने गरेको विमानस्थलका कर्मचारी बताउँछन् । 

विमानस्थलका अनुसार शनिबार पनि सवा ६ बजे अवतरण भएको बुद्ध एयरको विमानले यात्रु झार्न र फेरि चढाउँदा बेलुकी झण्डै ६ बजेर ४५ मिनेट भैसकेको थियो । नेपालगञ्जबाट काठमाण्डौको उडान ६ः३० का लागि तोकिएको भए पनि जहाज अवतरण गर्नै ढिलाइ गरेपछि उडानको समय पनि पछि सरेको थियो । 

नेपालगञ्ज विमानस्थलका अनुसार मौसम खराबीका कारण काठमाण्डौबाट उडान भरेको विमान नेपालगञ्ज अवतरण गर्न ढिलाइ भएको थियो । काठमाण्डौबाट जहाजले उडान भरेपछि बोर्डिङ खुला गर्ने र काठमाण्डौबाट उडान भरेको जहाज नेपालगञ्ज अवतरण गर्न कम्तिमा ५५ मिनेट लाग्ने गर्छ ।  

बाहिर भनिएजस्तो विमान उड्न एक घण्टा ढिला भएको नभइ मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।‘यात्रुहरुलाई चढाउन र सामान लोड गरेर पौने सात बजेतिर सकिएको र मन्त्रीलाई कुर्दा १५ मिनेट मात्रै ढिला भएको हो’, विमानस्थल स्रोतले भन्यो, ‘टावरकै रेकर्डमा पनि नेपालगञ्जबाट काठमाण्डौ ७ बजेर ६ मिनेटमा जहाज उडेको छ ।’  

दिउँसो भएको भए उडानमा ढिलाइ नहुने भन्दै अन्तिम उडान भएको र अर्को विकल्प पनि नभएकाले मन्त्रीलाई १५ मिनेट कुर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।  

मन्त्रीले खजुरा आइपुगेको र केही समय पर्खन भनेकाले उडानको अरु विकल्प नहुँदा १५ मिनेट मात्रै पर्खिएको विमानस्थलले जनाएको छ । मन्त्री भट्टराईले आइतबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसैका कारण पनि आफू काठमाण्डौ फर्कनैपर्ने दबाबमा रहेकाले बुद्ध एयरसँग आग्रह गरेर केही समय मात्रै उडान ढिला भएको स्पष्ट पारिसक्नुभएको छ । 

मन्त्री भट्टराई कैलालीको टिकापुरमा आयोजना भएको डल्फिन महोत्सवको कार्यक्रममा सहभागी भएर फर्कँदा ढिलाइ हुन पुगेको थियो । यसअघि गएको वैशाख २ गते भैरहवाबाट काठमाण्डौ आउने क्रममा ढिलाइ हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरले छाडेर उडेको थियो ।

तर मन्त्रीले भोलिपल्टको अर्को विमानमा जाने भनेकाले समयमै उडान भरेको भनेर बुद्ध एयरले त्यस बेला विज्ञप्ति नै जारी गरेको थियो । अहिले मन्त्रीकै कारण उडान ढिलाइ भएको भनेर भिडियो बाहिरिँदा पनि बुद्ध एयरले भने यसबारे कुनै प्रतिकृया दिएको छैन । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manohar Rai

    Sept. 15, 2019, 2:24 p.m.

    के १५ मिनेट चाहिँ समय होइन र कि १५ मिनेट छुट दिनुपर्यो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया