विदेशबाट फर्किएर सामूहिक फूलखेती

 असोज ११, २०७६ शनिबार १८:२:८ | रासस

तनहुँ – कामको सिलसिलामा विदेशिएका युवा स्वदेश फर्किएर फूलखेतीमा लागेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहेका तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी–६ का युवाले सामूहिक फूलखेती शुरु गर्नुभएको हो ।

ढोरफिर्दीका सूर्यकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ र हेमबहादुर सिंह ठकुरीले जग्गा भाडामा लिएर फूलखेती शुरु गर्नुभएको छ । पहिलो चरणमा ६ रोपनी जग्गा भाडामा लिएर फूलखेती थालिएको सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।

'विदेशबाट फर्किएर के गर्ने भन्नेमा दोधारमा थियाैँ, सबै साथीको सल्लाहपछि फूलखेती थालेका हौँ', उहाँले भन्नुभयो ।

वडा कार्यालयमार्फत चार दिनको फूल खेतीसम्बन्धी तालीम लिएपछि काम गर्ने हौसला मिलेको उहाँको भनाइ छ । आउँदै गरेको तिहारलाई लक्षित गरी फूल लगाइएको श्रेष्ठले बताउनुभयो ।

नेपालमा फूल पर्याप्त नहुँदा भारतबाट वर्षेनी फूल आयात गर्नुपर्ने बाध्यता रहेकोले शुक्लागण्डकी नगरपालिकालाई फूलमा आत्मनिर्भर बनाउन फूलखेती गरिएको उज्ज्वल श्रेष्ठले जानकारी दिनुभयो । 'नगरपालिकामा बाहिरबाट फूल ल्याउन नपरोस् भनेर फूलखेती गरेका हौँ', उहाँले भन्नुभयो, 'विस्तारै क्षेत्रफल वृद्धि गरेर ठूलो मात्रामा खेती गर्ने लक्ष्य राखेका छौं ।'

सामूहिक फूलखेतीमा लाग्नुभएका महेन्द्र श्रेष्ठले विदेशको दुःखभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर फूलखेतीमा आवद्ध भएको बताउनुभयो । युवा गाउँमा बेरोजगार भयौं भनेर त्यसै बस्नुभन्दा व्यावसायिक रुपमा केही काम गर्न सके देशमै आत्मनिर्भर बन्न सकिने उहाँको भनाइ छ ।

पहिलो चरणमा तिहारलाई लक्षित गरी  एक लाख रुपैयाँको लगानीमा फूलखेती शुरु गरिएको र अहिलेको नाफाले अझै धेरै जग्गा भाडामा लिएर फूलखेतीलाई अझ विस्तार गर्ने सोचाई रहेको उहाँले जानकारी दिनुभयो ।

'चितवनबाट ६० हजार रुपैयाँमा पाँच हजार सयपत्री फूलको बिरुवा ल्याएर रोपिएको छ',  उहाँले भन्नुभयो, 'अर्को वर्षदेखि आफै बिरुवा उत्पादन गर्ने योजना बनाएका छौं ।'

शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले विदेशबाट फर्किएर स्वदेशमै आत्मनिर्भर बन्न थालेको व्यवसायलाई वडाको तर्फबाट पनि सहयोग रहने बताउनुभयो । 'फूलखेतीले नगरपालिकालाई आत्मनिर्भर बनाउन सकियो भने वर्षेनी ठूलो मात्रामा फूल ल्याउनुपर्ने बाध्यता अन्त्य हुन्छ', रेग्मीले भन्नुभयो ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया