बालबालिका सडक आउँदा देश पनि सडकमा आउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीद्वारा एक करोड रुपैयाँ सहयोग

 असोज १३, २०७६ सोमबार ७:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । भक्तपुरको कौशल्टारमा आइतबार आयोजना गरिएको मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सडक मानव, सडक बालबालिको उचित व्यवस्थापन गर्नुपर्छ ।’

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताउनुभयो । 

उहाँले अभियान चलाएर केही महीनाभित्रै सडक रहेका मानवमुक्त उद्धार हुनुपर्छ भन्नुभयो, । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सडकमा आफैँ कोही पनि पुगेका होइनन् परिवारले नै पु¥याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकठ्ठा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानमा एक करोड रुपैयाँ प्रदान गर्छु, यो रकमबाट अक्षयकोष निर्माण गर्नुस् ।’ कुनै विदेशी आईएनजीओ र स्वदेशी एनजिओको सहयोगबिना नै तलब भत्ता नलिइ स्वयंसेवाको भावनाले शून्यबाट सुरु गरेको कामलाई सहयोग गर्न आवश्यक भएको उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक तीन हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । 

सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उहाँले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउन्ुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला गर्ने, जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लगाउनु आवश्यक छ ।’ देशमा डेङ्गु नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जुलुस लिएर सडकमा ओर्लिन्छन् भन्दै उहाँले भन्नुभयो, ‘सरकारको ध्यान विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रणमा गएको छ, धमाधम भ्रष्टाचारी समातिएका छन् ।’

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले सडक मानवमुक्त बनाउन सूर्यविनायक र चाँगुनारायण क्षेत्रमा यसअघि नै अभियान सञ्चालन भइसकेको र अब भक्तपुरलाई नै असहाय, बेवारिसे, अनाथ, मनोरोगी मानवमुक्त घोषणा छिट्टै गर्न सकिने बताउनुभयो । 

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले देशलाई सडक मानवमुक्त बनाउन गरेको घोषणालाई पूरा गर्न महानगरपालिका पूर्णरुपमा साथ र सहयोग दिएर लागिरहेको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीले मानवसेवा आश्रमको लक्ष्यलाई पूरा गर्न हरतरहले सहयोग गर्ने बताउनुभयो । 

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौँडामा मुख्य कार्यालय बनाएर सुरु भएको संस्थाले अहिलेसम्म मकवानपुर, चितवन, काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, बागलङ, लमजङ गोरखालगायतका १४ जिल्लामा १६ वटा शाखा सञ्चालन गरी सडकमा रहेको असहाय, बेवारिसे, अनाथ, मनोरोगीको उद्धार गरी आश्रय दिँदै आएको बताउनुभयो ।  उहाँले अहिलेसम्म आश्रमले दुई हजारभन्दा बढीको सडकबाट उद्धार गरेको, उद्धार गरिएकामध्ये ६०० को परिवारमा पुनःमिलन गराएको र ५०० को आश्रममै मृत्यु भएको बताउँदै २०८२ भित्रमा देशभरबाट सडक मानवमुक्त बनाउने लक्ष्य लिएर अभियान सुरु गरेको बताउनुभयो ।

सातवटै प्रदेश सरकारले ५०० जनाका दरले यस्ता सडक मानव राख्ने आश्रम निर्माण गरिदिएर अवको एक वर्षमा नै देशभर सडक मानवमुक्त बनाउने सकिने बताउनुभयो । मानवसेवा आश्रमलाई रु १० लाख सहयोग गर्ने वल्र्ड लिङ्क, हेटाँैडामा ३०० जना सडक मानव राख्न सक्नेगरी निर्माण भइरहेको आश्रमका लागि रु २५ लाख प्रदान गर्ने काठमाण्डौ आइटम राउण्ड टेबल सेभेन, एक हजार २०० थान ज्याकेट र कपडा प्रदान गर्ने सिटीएक्सप्रेस गु्रप, एक लाख एक हजार प्रदान गर्ने मिडसिटी अस्पताललाई सम्मान गरेको थियो । आश्रमका संरक्षक डा गोविन्द टण्डनले मानवीय सेवामा सबैको साथ र सहयोगको आवश्यकता रहेको औँल्याउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया