चीन भ्रमणको विषयमा प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्री र पर...
मंसिर १०, २०८१ सोमबार
विराटनगरमा २०६५ सालमा भारतले खोलेको ‘सम्पर्क कार्यालय’ ले शंकास्पद गतिविधि गर्दैआएको गुनासो आउन थालेको धेरै भयो । यो कार्यालय कुटनीतिक मर्यादा विपरित रहेको भन्दै हटाउनुपर्ने कुरा उठ्नेपनि गरेको छ । तर सरकारले अहिलेसम्म यसलाई हटाउन खासै पहल भने गरेको छैन ।
केही दिनअघि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलको बैठकमा फिल्ड कार्यालय हटाउने बताएपछि अहिले फेरि एकपटक यो विषय चर्चामा आएको छ ।
विराटनगर महानगरपालिका १३ मलाया रोडमा रहेको भारतीय फिल्ड कार्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । कार्यालयमा बाहिरबाट जानेले सहजै प्रवेश पाउँदैनन् । यति मात्र हैन, अहिले भारतले बनाउँदै आएको एकीकृत संयुक्त जाँच चौकी (आईसीपी) को रिपोर्टिङका लागि फोटो खिच्न पनि सम्पर्क कार्यालयको अनुमति चाहिन्छ ।
नेपाली भूमिमा निर्माण हुँदै आएको आईसीपीको कामको अवस्थाबारे नेपाली पत्रकारले पनि जानकारी पाउन कार्यालयको अनुमति आवश्यक पर्छ, सिफारिस लिनुपर्छ । बिना सिफारिस कुनै काम हुँदैन ।
सरकारले ६ वर्षअघि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएका बेला परराष्ट्र मन्त्रालयले फिल्ड कार्यालय हटाउन भारतीय दूतावासलाई पत्राचार गरेको थियो । तर भारतीय पक्षले मन्त्रालयको निर्देशन अहिलेसम्म टेरेको छैन ।
बरु त्यो पत्रलगत्तै दुतावास कार्यालयले थप सक्रियता बढाएको स्थानीयबासिन्दाको भनाई छ । पछिल्लो समयमा त फिल्ड अफिसका कर्मचारीले जासुसीको रुपमा काम गर्ने गरेको उनीहरुको दावी छ ।
गएको मंसिरमा भएको प्रदेशसभा र प्र्रतिनिधिसभाको चुनावको बेलामा विराटनगरको पुष्पलाल चोकमा तत्कालीन एमालेले एउटा चुनावीसभा आयोजना गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्न तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनेपछि भिडभाड बढ्नु स्वाभाविक नै थियो ।
ओलीले बोल्न थालेपछि कार्यक्रमको रिपोर्टिङ गरिरहेका पत्रकारको हुलमा एकजना नयाँ ब्यक्ति आए र ओलीको सबै भाषणको भिडियो खिच्न थाले । यसअघि कुनैपनि कार्यक्रममा नदेखिएका ती व्यक्तिलाई पत्रकारले चिन्ने कुरै भएन ।
ओलीको पुरै भाषण रेकर्ड गरेको देखेपछि केही पत्रकारले उनलाई सोधे, तपार्इँ कुन मिडियाबाट ? ती व्यक्तिले हिन्दीमा आफू ‘दुतावासबाट आएको’ भन्ने जवाफ दिएर हिँडे । ओलीले चुनावताका गरेका भाषणको भिडियो रेकर्ड नै राख्ने गरिएको स्रोतको भनाई छ ।
यसरी सम्पर्क कार्यालयले विराटनगर र पूर्वी क्षेत्रमा हुने राजनीतिक गतिविधिमा समेत चासो राख्ने र दस्ताबेज संकलन गर्ने काम गरिरहेको विराटनगरका राजनीतिक दलका नेताहरु नै स्वीकार्छन् । यस्तै राजनीतिक पहुँच बढाउने नेपाल–भारत मैत्री संघका नाममा संगठन विस्तार गर्ने, र चिनियाँ गतिविधि नियाल्ने काम गर्दै आएको छ । तर यस्तो काम घोषित रुपमा र देखिने गरी नहुँदा यसबारे बोल्न कोही तयार छैनन् । औपचारिक रुपमा त्यस्तो भएको देखिंदैन त्यसैले भन्न नमिल्ने उनीहरुको तर्क हुन्छ ।
यो कार्यालयको घोषित काम भनेको यातायातका साधनको रुट परमिट दिने र व्यापार सहजीकरण गर्ने हो । कार्यालयले नेपाली नम्बर प्लेटको सवारी साधनलाई भारतीय भूमिमा गुड्ने अनुमति दिँदै आएको छ । कार्यालयले आफ्नो प्रभाव विस्तारका लागि केही वर्ष यता पूर्वका विभिन्न जिल्लामा विद्यार्थीलाई छात्रवृत्ति दिने लगायत काम पनि गर्दै आएको छ ।
२०६५ सालमा कोशी नदीमा आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्ग लामो समयसम्म अवरुद्ध भएपछि विराटनगरका उद्योगी व्यवसायीको आग्रहमा भारतीय दूतावासले अस्थायी कार्यालय स्थापना गर्याे । सुरुमा उद्योग संगठन मोरङको कार्यालयमा एउटा कोठामा भारतीय दूतावास र भन्सारका कर्मचारीले नेपाली सवारी साधनलाई रुट परमिट दिन्थे । केही समयपछि बरगाछीमा सरेको कर्यालय अहिले विराटनगर –१३ को साल्ट ट्रेडिङ नजिकै सञ्चालनमा छ ।
यसबाहेक विभिन्न विद्यालय तथा सामाजिक संस्थालाई विकासे प्रस्ताव माग्ने र सहयोगका लागि आश्वासन दिने काम पनि दूतावासको सम्पर्क कार्यालय विराटनगरले गर्दै आएको छ । अहिले यो कार्यालयमा ८ जना कर्मचारी कार्यारत छन् ।
कार्यालयको स्थापना भएपछि आफूहरुलाई घाटाभन्दा फाइदा नै पुगेको विराटनगरका व्यवसायी बताउँछन् । उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेश समिति उपाध्यक्ष राजेन्द्र राउत कार्यालय खुलेपछि नेपाल आयल निगमका ढुवानीका साधनका लागि इजाजत लिन सजिलो भएको बताउनुहुन्छ । यस्तै, भारतीय भन्सारसँग सम्बन्धित समस्याको समाधान यही कार्यालयबाट हुँदै आएको छ ।
‘हाम्रै पहलमा भारतीय दूतावासको सम्पर्क कार्यालय विराटनगरमा ल्याइएको हो’ राउतले भन्नुभयो, ‘राज्यले उपयुक्त ठानेन भने हटाउँदा पनि भयो, तर व्यापारीलाई भने केही समस्या आउन सक्छ ।’
हरेक पटक भारतीय विषय आफू अनुकूल हुँदा नबोल्ने अनि आफू प्रतिकुल हुनेबित्तिकै बोल्ने परिपाटीको कारण समस्या आउँदै गएको र वर्षौँदेखि यस्ता खालका विषयहरु आउने गरेको राउतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।