नेपाल र चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर

 असोज २६, २०७६ आइतबार १२:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । 

चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो देशको प्रतिनिधित्व गर्नुभएको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गर्नुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

समझदारी पत्रमा टोखा – छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डाै र तातोपानी–काठमाण्डाै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् । समझदारी पत्र विशेष गरेर पूर्वाधार विकासमा केन्द्रित छ । स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएकाे छ ।

यस्तै काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्र पनि आदानप्रदान गरिएकाे छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया