कास्की उपचुनाव : २५ जना मैदानमा, ११ जना स्वतन्त्र उम्मेदवार, ३ जनाकाे उम्मेदवारी खारेज हुँदै

 कात्तिक २१, २०७६ बिहीबार १८:१:५२ | सुमन गुरुङ
unn.prixa.net

कास्की - कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपचुनावमा २५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि बिहीबार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका हुन् । कास्की २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहँदै आएको थियो । 

अधिकारीको निधनका कारण यो ठाउँमा हुन लागेको उपचुनावमा अहिले उहाँकी पत्नी विद्या भट्टराई नै उम्मेदवार बन्नुभएको छ । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गर्नुभएको छ । भट्टराईको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् । 

यस्तै नेपाली कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ता गर्ने क्रममा पौडेलले उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर भएको बताउनुभयो । कांग्रेसबाट उम्मेदवारका आकांक्षी रहेका शोभियतबहादुर अधिकारी र देवराज चालिसेलाई प्रस्तावक र समर्थक राख्दै पौडेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी उपचुनावका लागि राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी के.सी, मङ्गोल अर्गनाइजेशन पार्टीबाट रियाज गुरुङ, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, नेपाली कांग्रेस बी.पी. बाट चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दिनुभएको छ । 

साथै नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राप्रपा संयुक्तबाट गंगा मल्ल र देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

उपचुनावमा विवेकशील नेपाली पार्टीले स्वतन्त्र उम्मेदवारको रुपमा जमुना शर्मालाई अघि सारेको छ । निर्वाचन आयोगले आफूहरुलाई चुनाव चिन्ह नदिएको र दल दर्ता पनि नगराएकाले पार्टीकै तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा शर्माको उम्मेदवारी दर्ता गरिएको पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभयो । 

शर्मासँगै अन्य १० जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्रबाट उम्मेद्वारी दिनेमा उमनाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बास्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला र सुनिल भुसाल हुनुहुन्छ । 

बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको र यो समयमा २५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उम्मेदवारी दर्ता गराएकामध्ये तीन जनाको नाम भने खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । 

राष्ट्रिय नागरिक पार्टीबाट नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन पार्टीबाट जयवन्त विक्रम शाह र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिनुभएको गजेन्द्र संवो लिम्बूको नाम समानुपातिकको सूचीमा रहेकोले उहाँहरुले दिनुभएको उम्मेदवारी खारेज गर्ने तयारीमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।  

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया