उपचुनावको लागि दलहरु अन्तिम दौडधुपमा, रातिदेखि मौन अवधि

 मंसिर ११, २०७६ बुधबार ७:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो १४ गते हुने उपचुनावको लागि दलहरु अन्तिम दौडधुपमा व्यस्त छन् । बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरु बुधबार दिनभर चुनावी प्रचारमा व्यस्त हुँदैछन् । 

प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर दुई तथा प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङ ३ (ख) मा उपचुनाव हुँदैछ । यस्तै, पालिकाअन्तर्गत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पदका लागि १४ गते नै उपचुनाव हुनेछ । उपचुनावलाई दलहरुले जनमत परीक्षणको रुपमा लिएका छन् । उपचुनावको लागि आवश्यक सबै तयारी पूरा भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

कुन ठाउँ किन रिक्त ?

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै अहिले त्यो ठाउँ प्रतिनिधिविहीन छ ।

तत्कालीन एमालेको तर्फबाट वाम उम्मेद्वारको रुपमा अधिकारीले चुनाव जित्नु भएको थियो । लगातार तेस्रो पटक चुनाव जित्दै मन्त्री बन्नुभएका अधिकारीको निधनसँगै रिक्त रहेको कास्की २ मा उपचुनाव हुन लागेको हो ।

यस्तै प्रदेशसभातर्फ भक्तपुर, बाग्लुङ र दाङका एक–एक स्थान रिक्त छ । भक्तपुर १ (क) का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि यो ठाउँ पनि जनप्रतिनिधिविहीन बनेको छ । लामिछाने तत्कालीन एमालेबाट विजयी हुनुभएको थियो । लामिछानेको २०७५ वैशाख ३१ गते मस्तिष्कघातका कारण निधन भएको थियो ।

यस्तै  बाग्लुङ क्षेत्र नम्बर २ (ख) का टेकबहादुर घर्तीको निधन भएपछि यो ठाउँ पनि रिक्त छ । जनमोर्चाको तर्फबाट विजयी हुनुुभएका घर्तीको गएको मंसिर २७ गते दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । घर्तीको निधनपछि रिक्त रहेको ठाउँमा पनि उपचुनाव हुन लागेको हो ।

यस्तै दाङ क्षेत्र नम्बर ३ (ख) का उत्तरकुमार ओलीको निधन भएपछि अहिले यो ठाउँ पनि जनप्रतिनिधिविहीन छ । माघ २४ गते आफैले चलाएको कार दुर्घटनामा परेर गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा फागुन १० गते निधन भएको थियो । तत्कालीन एमालेबाट निर्वाचित भएका ओलीको निधनसँगै यो ठाउँ पनि रिक्त छ ।

पालिकामा कहाँ कहाँ ?

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख तथा पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपचुनाव हुँदैछ । रिक्त ४३ वडाध्यक्षमध्ये महोत्तरीको मटिहानी नगरपालिका–६ का वडाध्यक्षले राजीनामा गरेका थिए भने विभिन्न पालिकाका सातजना वडाध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित भएका थिए । 

जिल्ला समन्वय समितिमा निर्वाचित भएका कारण रिक्त रहेका वडामा सप्तरीको छिन्नमस्ता गाउँपालिका–७, लमजुङको सुन्दरबजार नगरपालिका–२, बागलुङको बडीगाड गाउँपालिका–२, प्यूठानको ऐरावती गाउँपालिका–१ र २, सल्यानको कुमाख गाउँपालिका–५ र कञ्चनपुरको पुनर्वास नगरपालिका–३ छन्  ।

अरु वडामा भने यसअघिका वडाध्यक्षको निधन भएपछि उपचुनाव हुन लागेको हो । उपचुनाव हुने अरु वडाहरुमा पाँचथरको फिदिम नगरपालिका–१ र हिलिहाङ गाउँपालिका–७, भोजपुरको पौवादुङमा गाउँपालिका–१, मोरङको धनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगरपालिका–७, सङ्खुवासभाको खाँदबारी नगरापालिका–३, खोटाङको साकेला गाउँपालिका–३, सिरहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपालिका–२ र ८, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२, काठमाण्डौको दक्षिणकाली नगरपालिका–३, चितवनको भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिका–४ र ५ छन् ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका–२, रोल्पाको थवाङ गाउँपालिका–१, दाङको घोराही उपमहानगरपालिका–१६, बाँकेको कोहलपुर नगरपालिका–६, बाजुराको त्रिवेणी नगरपालिका–१, अछामको मेल्लेख गाउँपालिका–५, डोटी आदर्श गाउँपालिका–२, बैतडीको पुर्चौडी नगरपालिका–४, सुर्नया गाउँपालिका–१ र दोगडाकेदार गाउँपालिका–४ तथा कपिलवस्तुको शिवराज नगरपालिका–१० को वडाध्यक्षको लागि पनि उपचुनाव हुँदैछ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया