विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन आएको छ : गृहमन्त्री थापा

 पुष ६, २०७६ आइतबार २०:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गृहमन्त्री रामबहादुर थापा बादलले विज्ञान र प्रविधिको विकाससँगै अपराधका शैलीमा परिवर्तन आएको बताउनुभएको छ । 

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विज्ञान र प्रविधिको विकास, सञ्चार माध्यममा आएको परिवर्तन, यातायातको साधनको सहजता लगायतका कारण अपराधका शैलीमा परिवर्तन आएको बताउनु भएको हो ।

उहाँले यस्तो प्रवृत्तिले अपराध अनुसन्धान र अभियोजनमा जटिलता ल्याएको समेत बताउनुभयो । उहाँले भौतिक उपस्थितिबिना एउटा देशमा रहेर अर्को देशमा अपराध गर्ने प्रवृत्ति बढेकाले थप चुनौति बढेको बताउनुभयो ।

आधुनिक शैलीमा हुने अपराध नियन्त्रण गर्न परम्परागत अनुसन्धान र अभियोजनको शैली प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उहाँले विषयगत अनुसन्धान र अभियोजन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले सरकारले त्यसका लागि ‘मुलुकी अपराध संहिता, २०७४’, ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ र ‘फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४’ लगायतको कानून निर्माण गरेकाले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलले साझारुपमा कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

सम्मेलनमा महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले मुलुकले लामो समयदेखि अपनाइ आएको कानुनी प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित जारी भएको मुलुकी अपराध संहिताहरुको कार्यान्वयनमा सम्मेलनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सानालाई ऐन र ठूलालाई चैन भन्ने दिन सकिएको बताउँदै अब त्यस्तो अवस्था आउन दिन नहुने बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सम्मेलनमा प्रहरी र सरकारी वकिलहरुसँग भएका कानुनी र व्यवहारिक अनुभवहरुको विश्लेषण भएकाले आउँदा दिनमा न्याय निरुपणको प्रकृयालाई थप सहज र गतिशील बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सार्वजनिक शान्ति र व्यवस्था नै न्यायको आधार हो भन्ने मान्यता र विश्वास प्रकट गर्दै अपराध नियन्त्रणका लागि बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले नेपालको संविधानले प्रत्याभूत गरी मौलिक हकको कार्यान्वयन, स्वच्छ सुनुवाई र फौजदारी न्यायका मान्यता र सिद्धान्तको पालना गरी वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारीत अपराध अनुसन्धान र अभियोजन गर्ने प्रतिबद्धता सहित ३३ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

सम्मेलन पुष ४ देखि ६ गतेसम्म काठमाण्डौमा आयोजना भएको हो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया