सरकारले कसैलाई पनि काखी च्याप्नु हुँदैन, भ्रष्टाचारकाे गन्ध आउनु हुँदैन : रघुजी पन्त

'स्थायी कमिटी बैठकले पार्टीभित्रकाे गतिराेध ताेड्याे'

 पुष ७, २०७६ सोमबार १९:१६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले भर्खरै सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहिनता तोड्ने काम गरेको बताउनुभएको छ ।  

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पन्तले बैठकले पार्टीभित्र झागिँदै गएको गुटको समस्या पनि समाधान गर्न फलदायी भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकमा सरकार र पार्टीको बारेमा जीवन्त छलफल भएको छ ।’ 

स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वीकारेको र यस सम्बन्धमा आत्मालोचना गरेको सुनाउनुभयो ।

‘हाम्रो पार्टीको विधानअनुसार स्थायी कमिटीको बैठक तीन–तीन महिनामा बस्नुपर्ने हो तर स्थायी कमिटीको बैठक एक वर्षपछि बस्यो । यसपटकको बैठकमा विभिन्न कोण र प्रतिकोणमा छलफल भयो । सरकारको काम कारबाहीबारे पनि समीक्षा भयो । जनतालाई राहत दिन नसक्दा सरकार लोकप्रिय हुन नसकेको भनेर साथीहरुले कुरा राख्नुभयो । सरकारका मन्त्रीहरुले राम्रै काम भैरहेकोबारे बताउनुभएको थियो’, उहाँले भन्नुभयो ।

पन्तले यति समूहलाई सरकारले काखी च्यापेको बारेमा सोधिएको प्रश्नमा यसको जवाफ सरकारले नै दिने बताउनुभयो । उहाँले सरकार कुनै पनि विवादमा फस्न नहुने बताउँदै भन्नुभयो, ‘सरकारले कसैलाई पनि काखी च्याप्नु हुँदैन । भ्रष्टाचारजन्य गन्ध आउनु हुँदैन ।’

पन्तले सरकारले भारतसँगको सीमा विवाद कुटनीतिकरुपमा चाँडोभन्दा चाँडो हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमिबारे सरकारले अहिले लिएको ‘स्ट्याण्ड’ ठिक छ । सीमा विवाद पुरानो हो । अब यो विवादलाई यथाशक्य चाँडो हल गर्नुपर्छ । सरकारलाई व्यापक राम्रो जनसमर्थन छ । यही बेलामा पहलकदमी लिनुपर्छ ।’

पन्तले नेपाल–भारतबीच खुला सीमा रहेकोले सीमा विवाद भएको बताउँदै अर्को मित्रराष्ट्र चीनसँग भने सीमा विवाद नभएको स्पष्ट पार्नुभयो । 

नेपाल र भारतबीचको खुला सीमालाई व्यवस्थित गर्नुपर्नेमा पन्तले जोड दिँदै भन्नुभयो, ‘बिस्तारै बिस्तारै पासपोर्ट लागू गर्नुपर्छ । खुला सीमाना भएकोले अहिले नेपालमा भुटानी शरणार्थीदेखि रोहिंग्याहरुको ठूलो संख्यामा प्रवेश भएको छ ।’ 

त्यस्तै स्थायी कमिटीको बैठकमा एमसीसीको बारेमा पनि कुरा भएको सुनाउँदै पन्तले एमसीसी संसदबाट पारित गर्ने वा नगर्नेबारे थप निर्णय गर्न सचिवालयलाई जिम्मा दिइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘एमसीसी आईपीएसभन्दा अघि आएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि आईपीएस र एमसीसीबीच कुनै सम्बन्ध छैन भनेर भन्नुभयो ।’

तर अमेरिकी अधिकारीहरुले यसबारेमा अर्कै अभिव्यक्ति दिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘एमसीसीमा नेपालको पनि १४ अर्ब रुपैयाँ परेको छ । यो भनेको २५ प्रतिशत हो । अनि शर्त भनेको अमेरिकाले मात्रै लेखापरीक्षण गर्न पाउने भन्ने राखिएको छ । ट्याक्सबारे पनि क्लियर पार्नुपर्छ भनेर साथीहरुले भन्नुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले एमसीसी पारित गर्नुपर्छ भन्नुभयो ।’

फरक प्रसङ्गमा पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम कसैले पनि गर्न नहुने धारणा राख्नुभयो । तर स्वयं राष्ट्रपति र राष्ट्रपति कार्यालयले पनि आफ्नो गतिविधि र कामकारबाहीमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पार्टीको स्थायी कमिटीको बैठक चलिरहँदा मन परेका नेताहरुलाई बोलाएर छलफल नगरेको भए राम्रो हुन्थ्यो ।’ 

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया