आन्तरिक विवादका कारण कांग्रेसले छान्न सकेन राष्ट्रिय सभाको उम्मेदवार

 पुष १७, २०७६ बिहीबार २०:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आन्तरिक विवादका कारण नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार चयन गर्न सकेको छैन । 

सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले लगातार बहिष्कार गर्दै आएपछि कांग्रेसले उम्मेद्वार चयन गर्न नसकेको हो ।  

आउँदो माघ ९ गते हुने राष्ट्रियसभा चुनावको उम्मेदवारी मनोनयन आइतबारका लागि तोकिएको छ । अबको २ दिनभित्रमा उम्मेदवार चयन गरेर मनोनयन गर्नुपर्ने बेलामा आन्तरिक किचलोमा जेलिएको कांग्रेसले कसरी उम्मेदवार चयन गर्ला? भन्ने प्रश्नमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अब पदाधिकारीले नै उम्मेद्वार चयन गर्ने बताउनुभयो ।  

उम्मेदवार चयनकै बारेमा छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । बिहीबारको बैठक पनि वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुले बहिष्कार गरेपछि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो । 

पौडेल पक्षले मंसिर २६ गतेपछि निरन्तर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ । सभापति देउवाले पार्टीको महाधिवेशन सार्ने निर्णय गरेदेखि नै पौडल पक्षले बैठक बहिष्कार गर्दै आएको हो ।

पौडेल पक्षको बहिष्कारका बाबजुद पनि अब राष्ट्रिय सभा सदस्यको उम्मेदवारको चयन पदाधिकारी बैठकले गर्ने छ । सकेसम्म शुक्रबार नै उम्मेदवार चयन गरिसक्ने गरी पदाधिकारी बैठक बस्ने प्रवक्ता शर्माले बताउनुभयो । 

अहिले रहेका १८ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिँदैछ । जसमध्ये सत्तारुढ नेकपाका ८, कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा समाप्त हुन लागेको हो । उनीहरुको कार्यकाल सकिनुअघि नै चुनाव मार्फत नयाँ सदस्य निर्वाचित गराइसक्नु पर्ने व्यवस्था बमोजिम माघ ९ गतेका लागि चुनाव गर्न लागिएको हो । 

१८ जनाका लागि हुन लागेको चुनावमा नेपाली कांग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि मात्रै चुनावमा उम्मेदवारी दिने तयारी गरेको हो । सत्तारुढ दल नेकपासँग स्पष्ट बहुमत रहेकाले कांग्रेसको तर्फबाट एक जना पनि निर्वाचित हुने सम्भावना छैन । योसँगै राष्ट्रिय सभामा कांग्रेसले ७ वटा सिट गुमाउने छ । 

राष्ट्रिय सभा चुनावमा सत्तारुढ नेकपाले राजपासँग तालमेल गरेपछि समाजवादी पार्टीको पनि राष्ट्रियसभामा सहभागिता नहुने निश्चित छ । चुनावमा पराजित हुने निश्चित भए पनि  कांग्रेस र समाजवादीबीच चुनावका लागि तालमेल गर्ने सहमति भने भएको छ ।  

केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको पौडेल पक्षले केन्द्रीय समितिले लिएको निर्णयमा भने आफूहरुको सहयोग रहने जनाएको छ । पौडेल पक्षका नेता डा.मिनेन्द्र रिजालले बैठकमा सहभागी नहुने तर निर्णयमा सहयोग रहने बताउनुभयाे । 

नेता प्रकाशमान सिंंहले पार्टीको महाधिवेशन सार्ने निर्णय गलत रहेको र नेतृत्व त्यो निर्णय सच्चाउन सकारात्मक भए मात्रै बैठकमा सहभागिता जनाउन सकिने बताउनुभयाे ।  

सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टी विधानका दफा निलम्बन गर्ने, पार्टीमाा विभागको संख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप्ने निर्णय गर्नुभएको थियो ।  

उहाँले यसअघिका सबै महाधिवेशन सहमतिमा नै तय हुने गरेको दृष्टान्त सुनाउँदै अहिले सभापतिले पेलेर जान खोज्दा आफूहरु बहिष्कार गर्न बाध्य भएको बताउनुभयो ।  

पार्टी सभापति देउवा पार्टीको नभइ कुनै एउटा गुटको सभापति जस्तो बनेको उहाँको आरोप छ । नेतृत्वले सबैलाई मिलाएर लैजानु पर्नेमा एकलौटी गर्दै हिँड्दा पार्टीभित्र समस्या बढेको सिंंहको ठम्याइ छ । 

एकलौटी ढंगले पार्टीको परम्परालाई नै भत्काउने नेतृत्वलाई आउँदो १४ औँ महाधिवेशनले पाखा लगाएरै छाड्ने उहाँले बताउनुभयो । देउवा पक्षका नेता मीन विश्वकर्मा भने पौडेल पक्षले राखेका ९ वटै बुँदा सम्बोधन गर्दा पनि बैठक बहिष्कार गर्नु अनौठो भएको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Hari Raj Adhikari

    Jan. 3, 2020, 8:50 a.m.

    लडिराख कंग्रेस।देश, जनता, शुभचिन्तक भाडमा जावस्।

  •  0 Reply

तपाईको प्रतिक्रिया