जलवायु परिवर्तनको समस्या समाधान गर्न मन्त्री पुन र भुटानी अर्थमन्त्रीबीच सहमति

 पुष २५, २०७६ शुक्रबार १७:५२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र भुटान जलवायु परिवर्तनको असरका कारण उर्जा क्षेत्रमा परिरहेको समस्या र भविष्यमा पर्नसक्ने असरबारे अन्तर्राष्ट्रिय मञ्चमा समान धारणासहित प्रस्तुत हुने भएका छन् । 

अन्तर्र्राष्ट्रिय नवीकरणीय उर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन साउदी अरब जानुभएका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भुटानका अर्थमन्त्री ल्योन्पो लोकनाथ शर्माबीच शुक्रबार भएको भेटवार्तामा जलवायु परिवर्तनको समस्या समाधान गर्ने समझदारी भएको हो । 

भेटमा मन्त्री पुनले भौगोलिक र जलवायुका हिसाबले नेपाल र भुटानबीच धेरै समानता रहेकाले जलवायु परिवर्तनका कारण समान किसिमका समस्या भोगिरहेको बताउनुभयो । 

मन्त्री पुनले नवीकरणीय उर्जा र जलविद्युत क्षेत्रका चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा एकै आवाज र भावनाले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।हिमाल पग्लने र खोलाहरुमा बाढी आउने समस्याका कारण जलविद्युत आयोजना र अन्य विकासका पूर्वाधारमा कस्तो समस्या आउने हो भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो । 

जवाफमा भुटानी अर्थमन्त्री शर्माले नेपाल र भुटानको अन्तर्राष्ट्रिय मञ्चमा एउटै आवाज हुने विश्वास दिलाउनुभयो । नेपाल र भुटान दुवैले जलविद्युतमा धेरै लगानी गरिसकेको भन्दै उहाँले वातावरणीय दुष्प्रभावको असरबाट बच्न सहकार्य हुने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री शर्माले नेपाल र भुटानले ठूलो परिमाणमा विद्युत उत्पादन गर्नसके भारत र बंगलादेशमा बजारको प्रचुर सम्भावना रहेको औँल्याउनुभयो । बायोग्याँसमा नेपालले हासिल गरेको अनुभवबाट सिक्न आफूहरु आतुर रहेको मन्त्री शर्माको भनाइ थियो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया