इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नु भएको छ ।
नेपाल चेम्बर अफ् कमर्सका व्यवसायीहरुसँग सोमबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नुभयो ।
‘हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैन । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता कामकाे प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस्, बिग्रिन्छस् भन्छन् ।सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन्’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
सरकारले सडकलाई मानवमुक्त बनाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस बेवारिसे नभेटिने उल्लेख गर्नु भयो । 'पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाइँ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाण्डौका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रबन्ध मिलाइएको छ ।’
उहाँले थप्नुभयो, ‘मान्छेहरु सडकमा लडिरहेका हुन्थे, झिँगा भन्किरहेको हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन् । उनीहरुलाई सडकबाट उठाएर हामीले प्रबन्ध मिलाएका छौँ । नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन । ठग बेघरलाई घर पठाइ दिने र साँच्चिकैको बेघरको प्रबन्ध सरकारले गर्दै आएको छ ।’
उहाँले हेर्दा यी साना कुरा लागे पनि सामाजिकरुपमा यसले धेरै अर्थ राख्ने बताउनु भयो । तर यस्ता विषयमा सञ्चारमाध्यमले ठाउँ नदिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफूले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भए पनि अहिले काम भइरहेको स्मरण गर्नुभयो । 'मैले जहाजका कुरा गरेँ, पूर्व–पश्चिम रेलका कुरा गरेँ, उत्तर–दक्षिण रेलका कुरा गरेँ, अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ ।
पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन विशाखापटनम, मुम्बई, पूर्व–पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौता गरेका छौँ । धेरै नाकाहरु खुलिसकेका छन्’, उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।