इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने भन्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिले संक्रमणकालीन न्याय व्यवस्थामा संशय पैदा गरेको भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
मुक्तिनाथ अधिकारीको १८ स्मृति दिवसका अवसरमा मानव अधिकारकर्मीहरुले अध्यक्ष दाहालले माघ १ गते दिनुभएको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले दाहालले ५ हजारको मात्रै जिम्मा लिन्छु भनेर के भन्न खोज्नुभएको हो बुझ्नै नसकिएको बताउनुभयो । आयोगमा बयान गर्दा भन्ने कुरा टुंडिखेलमा उभिएर किन भन्नुभयो भन्ने नबुझिएको उहाँले बताउनुभयो ।
ढुंगानाले सत्तारुढ दलले युद्धपीडितहरुलाई थकाउनका लागि आयोग गठनमा ढिलाइ गरिरहेको आरोप समेत लगाउनुभएको छ । कारबाही छल्न, प्रमाण लोप गर्न र युद्ध पीडितहरुर्लाइ थकाउनका लागि लाग्नुभएको भए पनि त्यो सम्भव नभएको उहाँले बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले नेताहरुको कार्यशैली देखेर डराउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयाे । सर्वोच्चको न्यायाधीश नियुक्त आफूले गरेको भनेर मुद्धाको मिसिल मगाइ निर्णय गर्लान् कि भनेर डराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
‘नेताहरुको अवस्था देखेर अहिले मलाई डर लागिरहेको छ । म काँप्ने गरिरहेको छु । किन भन्दा सर्वोच्चमा दर्ता भएको ‘क’ विरुद्ध ‘ख’ को मुद्धाको मिसिल यहाँ पठाइदेउ हामी नेताहरु निर्णय गर्छौ । सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर गरिदिन्छौ भन्न बेर छैन् । यदि नेताहरुले यस्तो भने भने के होला आफै कल्पना गर्छु म ।’
सर्वाेच्च अदालतका पूर्व न्यायाधीश केदारनाथ उपाध्यायले राजनीतिक दलका नेताहरुको सहमतिमा कस्तो आयोग गठन हुन्छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘न्याय दिनुपर्ने व्यक्तिको पीडा नबुझी, उनीहरुलाई नसोधी गठन हुने आयोगले दिने निराकरण कस्तो हुने? यो आयोगको विश्वसनियता कसरी पाउँछ ?’ भन्दै प्रश्न गर्नुभयो ।
पूर्व न्यायाधिवक्ता मुक्ति श्रेष्ठले सत्य निरुपण आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनमा विलम्ब नगर्न आग्रह गर्नुभयो ।
पदाधिकारी नियुक्त गरी यथाशाक्य सबै विषय टुंगो लगाउन उहाँले माग गर्नुभएको छ । मानवअधिकारवादी कपिल श्रेष्ठले पञ्चायतकालको संकुचित वातावरणमा दाहाल र बाबुराम भट्टराईले छाती खोलेर बाहिर आउन नसकेको बताउनुभयो । २०४६ भन्दा अगाडि किन हतियार बोक्न सक्नुभएन ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयाे।
स्वर्गीय मुक्तिनाथ अधिकारीको १८ औँ स्मृति दिवसका अवसरमा ‘शान्ति प्रकृयाको १३ वर्ष सशस्त्र द्वन्द्वका पीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नमा राज्यको उदासीनता कहिलेसम्म ?’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
एमेनेस्टि इन्टरनेशनल नेपाल र मुक्तिनाथ अधिकारी स्मृति फाउण्डेशनले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।