इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते चुनाव गरिने भएकाे छ ।
कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा सभामुखको चुनाव १२ गते गर्ने दलहरुबीच सहमति भएको समितिका सदस्य एवम् कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेसँगै सभामुख चयन प्रकृया अघि बढाउन लागिएकाे हाे । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गर्नुभएको हो । बैठकमा तुम्बाहाङ्फेले दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन सम्बोधन गरेको पनि बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई आइतबार बसेको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेपछि साेमबार संसद्को बैठक बसेको हो ।
तुम्बाहाङ्फे नेकपाबाट सांसद बनेर उपसभामुद बन्नुभएको थियो । कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेपछि गएकाे असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजिनामा दिएपछि तुम्बाहाङ्फेले प्रतिनिधि सभामा बैठकको अध्यक्षता गर्नुभएको थियो ।
सभामुख बनाउने प्रतिबद्धता पछि मात्र राजीनामा दिने अडान लिनुभएका उपसभामुख तुम्बाहाङ्फेले पटकपटक नेतृत्वको सार्वजनिक रूपमै आलोचना गर्नुभएको थियो ।
तर तत्कालीन माओवादी र एमाले एकीकरण भएर बनेको नेकपाभित्र पूर्वमाओवादी वा पूर्वएमाले कसबाट सभामुख बनाउने भन्ने रस्साकस्सी चलेपछि तुम्बाहाङ्फेकाे विषय ओझेलमा पर्याे । प्रतिनीधि सभाको बैठक साेमबार आजै अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।
आजै बस्ने प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुने छ ।
बैठकमा ज्येष्ठ सदस्यले सभामुख चयनको प्रक्रिया थाल्न संसदका महासचिव मनोहर भट्टराईलाई निर्देशन दिएपछि सभामुखको चुनावी प्रक्रिया थाल्ने सचिवालयको तयारी छ । दलहरुले १२ गतेका लागि चुनाव गर्ने सहमति जनाएसँगै सचिवालय त्यही अनुसार तयारी अघि बढाउने छ ।
सचिवालयले उपसभामुखका लागि भने चुनावी प्रक्रिया साेमबार सुरु नगर्ने भएको छ ।
मुख्य विपक्षी दल काङ्ग्रेसले पनि सभामुख पदमा आफ्नाे उम्मेदवार उठाउने तयारी गरेकाे छ । कांग्रेसले सांसद पुष्पा भुषाललाई सभामुखकाे उम्मेदवार बनाउने तयारी गरेकाे छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।