अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वाेच्चमा रिट

 माघ १०, २०७६ शुक्रबार १४:५१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ गर्न माग गर्दै शुक्रबार सर्वाेच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता तथा मानव अधिकारकर्मी दिनेश त्रिपाठीले सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न र पक्राउ  गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो । 

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नु भएको हो ।

रिटमा सापकोटालाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ ।

 रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न पनि माग गरिएको छ । 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ । आफैँले सर्वोच्चमा रिट दायर गरेका व्यक्तिलाई नेकपाले सभामुख बनाउन लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको प्याकुरेलले बताउनुभयो ।

सर्वोच्चमा रिट विचाराधीन रहेकै अवस्थामा  सापकोटालाई सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्‍तिम टुंगो नलागेसम्म संसदको प्रक्रिया रोक्न त्रिपाठीले माग गर्नु भएको छ । सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।

द्वन्द्वकालीन अवस्थामा लामाको हत्या प्रकरणमा संलग्न भएको भन्दै मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिनुभएको थियो। लामाको जाहेरीअनुसार सापकोटालाई काभ्रे प्रहरीले बयानका लागि बोलाएको छ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया