सभामुख चयनका लागि प्रतिनिधि सभाकाे बैठक दिउँसाे ३ बजे बस्दै

 माघ १२, २०७६ आइतबार ९:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ । दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उहाँ सभामुख बन्ने निश्चित जस्तै छ । आइतबारकाे बैठकले प्रक्रिया पूरा गरी उहाँलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

आइतबारकाे बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नु हुनेछ ।

यौन दुर्व्यवहारकाे आराेपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएकाे झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन । 

यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पनि आइतबार सुनुवाइ हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वाेच्च अदालतले पेसी तोकेको हो ।

सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिनु भएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया