‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु

 माघ १५, २०७६ बुधबार १७:१८:१० | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ सुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ । महोत्सवमा गजलकारहरुले  गजल  तथा गीति गजल प्रस्तुत गर्नेछन् । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गजलप्रतिको आकर्षण बढ्दै गएकाले पहिलोपटक राष्ट्रियस्तरको गजल महोत्सवको अयोजना गरिएको बताउनुभयो ।

‘देश, विकास र समृद्धिको दिशामा अग्रसर बनिरहेको छ’, उहाँले भन्नुभयो, ‘सहित्यकारहरु निराशा र कुण्ठालाई पन्छाएर सकारात्मक सोचका साथ समग्र रुपान्तरणको अभियानमा अग्रसर हुनुपर्छ ।’

उहाँले मुलुकको परिवर्तनमा कला, साहित्य क्षेत्रले पुर्याएको योगदानलाई आत्मसाथ गर्दै वाङ्गमय क्षेत्रको विकासका लागि राज्यले ठोस योजना निर्माण गर्ने बताउनुभयो । 

गजल साहित्यको विकासका लागि प्रतिष्ठानले काम गर्न सुरु गरेको भन्दै उप्रेतीले गजल साहित्यलाई प्रबद्र्धन गर्न खोजिएको बताउनुभयो । ‘नेपालको धर्म, संस्कृति, भाषा र साहित्यलाई अनुवादको माध्यमबाट अन्तराष्ट्रिय जगतसम्म पुर्याउन विभिन्न देशसँग समन्वय र छलफल गर्ने कार्यको सुरुवात गरिएको छ’, उहाँले भन्नुभयो ।

कार्यक्रम आयोजक समितिका संयोजक प्राध्यापक डा. हेमनाथ पौडेलले महोत्सवले गजलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले बहुलतामा रहेको मुलुकका सबै भाषा, संस्कृतिको संरक्षण सके समृद्धिको अभियानले साकार रुप लिने बताउनुभयो । 

युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले युवा अवस्थामा विकास भएको साहित्यले पछि व्यक्तिलाई अब्वल सावित गर्ने बताउँदै युवा उमेरलाई सिर्जनशील र रचनात्मक बनाउनुपर्ने बताउनुभयो । ‘साहित्यले अव्यक्त पक्षलाई पनि व्यक्त गर्न मद्दत गर्दछ’, उहाँले भन्नुभयो, ‘साहित्यले सिङ्गो समाजलाई दिशानिर्देश गरेको हुन्छ ।’
 
प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले प्रतिष्ठानलाई साहित्य प्रतिष्ठनको रुपमा हेरिए नि यो समग्र वाङ्मय प्रतिष्ठान रहेको बताउनुभयो । वरिष्ठ गजलकार बुँद रानाले युवाको ‘यु’को अर्थ युग र ‘वा’ को अर्थ वाहक भएको भन्दै युग वाहकका रुपमा रहेका जमातले समाज सुधार र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया