इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो बसेको प्रतिनिधिसभाकाे बैठकमा कांग्रेसका सांसदहरु उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
बालुवाटारमा रहेकाे ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
सांसद मिन विश्वकर्माले ‘बाख्री हरायो होइन, तस्कर पल्कियो’ भन्ने चिन्ता बढेको भन्दै कसुरदारले उन्मुक्ति पाउने र निर्दोष थुनिने कुरा सामान्य प्रशासनको पद्धतिविरुद्ध रहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बालुवाटार परिसर साँघुरो भयो । विस्तार गर्ने योजना प्रधानमन्त्रीलाई मनपर्यो ।अनि योजना मागेर प्रस्ताव लैजाँदा स्वतः सामान्य प्रक्रियाबाट गएको मन्त्रीलाई कसुर सजायको माग गर्ने । जसले निर्णय गर्नुभयो, निर्णय गर्ने व्यक्ति चाहिँ निर्दोष ठहरिने?’
सरकारको नियोजित कार्यक्रमभित्र रहेर अख्तियारले पूर्वाग्रही व्यवहार गरेको भन्दै उहाँले गम्भीर आपत्ती जनाउनुभयो । न्याय निरुपण गर्ने निकायलाई नै छायाँमा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको आराेप लगाउनुभयाे ।
उहाँले भन्नुभयो, ‘म लालपुर्जा फिर्ता गर्छु भनेकाे कारण उहाँहरुलाई उन्मुक्ति दिएको हो । अहिले सामाजिक सञ्जालमा ठ्ट्टा मजाक हुने गरेको छ । कुनै एक चोरले एक वर्षपछि चोरेको सामान फिर्ता गर्यो भने उ पक्राउ पर्छ कि पर्दैन ?’
सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिनेबित्तिकै कांग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी कामलाई स्वीकार्न नसकिने भन्दै सदन सुरु हुन नसक्ने जनाउनु भएको थियो ।
त्यसपछि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । कांग्रेसले बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।