बोक्सा-बोक्सी, दाइजोलगायत कुरीतिविरुद्ध सांसदहरु

 फागुन १८, २०७६ आइतबार २१:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले बोक्सा-बोक्सी, दाइजोलगायत कुरीति र एसिड प्रहारजस्ता आपराधिक क्रियाकलाप अन्त्यका लागि कानुनी कारबाही गरी विशेष अभियान सञ्चालन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले आपराधिक क्रियाकलापमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका हुन् ।

बैठकमा सांसद विन्दा पाण्डेले ‘बोक्सा-बोक्सी, दाइजो लगायतका कुरीति र एसिड प्रहारजस्ता आपराधिक काम देशमा विद्यमान रहेको अवस्थामा अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा, प्रचलन अन्त्यका लागि कानुनी कारबाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएको’ भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको थियो ।

प्रस्ताव दर्ता गर्दै सांसद पाण्डेले कानुनले दाइजोलाई अपराधीकरण गरे पनि दाइजोको नाममा गएको वर्षमात्रै १३ जना महिलाले ज्यान गुमाउनुपरेको बताउनुभयो । प्रस्तावको समर्थन गर्दै सांसद नवराज सिलवालले कानुन निर्माण भए पनि व्यवहारिक रुपमा प्रयोगमा आउन नसकेको बताउनुभयो ।

सांसद सरिता गिरीले छोरीलाई दाइजोको सट्टा शिक्षा देउ भन्ने अभियान प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । सांसद कृष्णभक्त पोखरेलले त्रुटिपूर्ण सामाजिक मूल्यमान्यताले स्थापित गरेका प्रथा जीवित रहेकाले कानूनले समेत त्यसको अन्त्य गर्न नसकेको बताउनुभयो ।

सांसद डिला संग्रौला पन्तले महिला हिंसा विरुद्धका दिवस नजिकिने समयमा मात्रै यस्ता कुराहरु बहसमा आउने र कानुन कार्यान्वयनमा गम्भीर हुन नसक्दा घटनामा कमी आउन नसकेको बताउनुभयो ।

सांसद पार्वता डिसी चौधरीले अभियानविरुद्धको सुरुवात आफैँबाट गर्नुपर्ने बताउनुभयो । सांसद सत्या पहाडीले गलत सोचका कारण यस्ता प्रवृतिहरु देखापर्ने गरेको बताउनुभयो । सांसद थममाया थापाले अभियानहरु अभियानमा मात्रै सिमित हुन नहुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया