बन्द भयो कतारका लागि श्रम स्वीकृति, कतार भिसा सेन्टरको सेवा पनि अस्थायी रुपमा रोकियो

 फागुन २७, २०७६ मंगलबार १४:२२:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा कतार जानेको श्रम स्वीकृति आज मंगलबारदेखि बन्द गरेको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएसँगै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिनुभयो । 

‘कतारले नै नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ, त्यसैले आजदेखि पुन : र नयाँ श्रम स्वीकृति दुवै हुँदैन,’ प्रमुख बस्नेतले भन्नुभयो ।

यस्तै, नेपालमा रहेको कतार भिसा सेन्टरको पनि आज मंगलबारदेखि अर्को सूचना नआउँदासम्मका लागि सेवा बन्द भएको सेन्टरका प्रबन्धक गौरव क्षेत्रीले जानकारी दिनुभयो । भिसा सेन्टरले रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक, स्वास्थ्य परीक्षण, औँठा छाप लिने र करारपत्रमा हस्ताक्षर लगायतको काम गर्छ । 

‘नयाँ जान चाहनेका लागि सबै प्रक्रिया अहिलेलाई रोक्नू भन्ने निर्देशन कतार सरकारकै भएकाले आजबाट सेवा बन्द भएको छ, तर यसअघि मेडिकल प्रक्रिया गरेकाहरुको लागि पुनः मेडिकल गर्नुपर्ने भएमा भने सेवा दिइएको छ,’ सेन्टरका प्रबन्धक क्षेत्रीले भन्नुभयो । 

घर बिदामा आएर फर्किन नपाउनेहरुले आफ्नो रोजगारदातासँग छलफल गर्न सक्ने सेन्टरका प्रबन्धक क्षेत्रीले बताउनुभयो । उनीहरुको सम्बन्धमा पछि मात्रै निर्णय हुने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि विश्व स्वास्थ्य संगठनले जोखिमको सूचीमा राखेको छ । 

रोकियो उडान

कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएसँगै नेपालको निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उडान रोकेको छ । हिमालय एयरलाइन्सले सोमबारदेखि लागू हुनेगरी कतारमा निर्धारित सबै उडान अर्को सूचना जारी नभएसम्मका लागि रद्द भएको हो । 

९ मार्चपछि काटिएका सबै टिकट फिर्ता गर्न सकिने वा निःशुल्क मिति परिवर्तन गर्नसक्ने सुविधा दिइएको एअरलाइन्सले जनाएको छ । 

यस्तै, कतार एअरवेजले भने ट्रान्जिट र कतारबाट फर्किनेका लागि उडान भर्ने भएको छ । 

तर ट्रान्जिटका रुपमा कतारको विमानस्थलमा ओर्लन भने पाइने छैन । एयरवेजले दोहामा पूर्वनिर्धारित टिकटहरु निःशुल्क फिर्ता वा मिति परिवर्तन गर्न सकिने जनाएको छ । साथै, नेपाल एयरलाइन्सले पनि कतारका लागि अस्थायी रुपमा उडान राेकेकाे जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया