'काेराेना जाँच गर्ने भन्दै पक्रेर जाँच नगरेरै कतार सरकारले हामीलाई नेपाल डिपाेर्ट गर्‍याे'

 चैत ९, २०७६ आइतबार १२:४१:१३ | मेरो कथा मेरो भोगाई

नारायणप्रसाद सिग्देल / नवलपरासी

कतार सरकारले गएको बिहीबार १ सय ५० जना नेपाली श्रमिकलाई डिपोर्ट (देशनिकाला) गरेर नेपाल पठायो । कोरोनाको सङ्क्रमण फैलिनबाट रोक्न सार्वजनिक स्थलमा भिडभाड नगर्नु भनेकोमा उनीहरुले त्यसको अवज्ञा गरेको भन्दै डिपोर्ट गर्नुपरेको कतार सरकारले जनाएको छ । 

कोरोना जाँच गर्ने बहानामा पक्रेर आफूहरुलाई डिपोर्ट गरेको पीडितहरु बताउँछन् । प्रहरीले गरेको दुव्र्यवहार र त्यहाँको सरकारले गरेको निर्णयबाट उनीहरु दुखित छन् । यो लेख डिपोर्ट भएर फर्किनुभएका तिनै नेपालीहरुमध्ये नवलपरासीका नारायणप्रसाद सिग्देलको अनुभव हो ।

मार्च १३ तारिख । कतारको औद्योगिक क्षेत्र सनैरा । तीन दिन पहिलेमात्र हामीहरु त्यस क्याम्पमा गएका थियौँ । शुक्रबारको दिन छुट्टी थियो । साँझ चार बजेतिर हामी क्याम्प बाहिर गयौं ।  साथीहरु क्याम्पको छेउमा भलिबल खेलिरहेका थिए । हामी पनि त्यहीँ गयौँ । त्यहाँ नजिकै सानो हाटबजारजस्तो छ । बंगालीहरुले हरियो साग बिक्री गरिरहेका थिए । भलिबल हेर्न थालेको पाँच मिनेटजति भएको थियो । एकाएक प्रहरी आए । सादा पोसाकमा आएका प्रहरी र सीआईडीहरुको टोलीले सबैलाई घेर्‍यो ।  खेल्ने र हेर्ने सबै गरेर एक सय जनाजति थियौं । प्रहरी आएपछि कोही भागे भने कोही के भएछ भनेर हेर्न गए । हेर्न गएकाहरु पनि प्रहरीको फन्दामा परे ।

कोरोनाको परीक्षण गर्ने, पोजेटिभ रिपोर्ट आए अस्पतालमै बस्नुपर्ने र नआए कोठा फिर्ता पठाइदिने भन्दै प्रहरीले सबैलाई सम्झायो । त्यसपछि सबैलाई बसमा चढायो । स्वास्थ्य परीक्षणकै लागि हो भने त के भयो र भन्दै हामी बसको पहिलो सिटमै गएर बस्यौँ ।

यसरी स्वास्थ्य परीक्षणको लागि लग्ने भनेर ५० जना सिट भएको बसमा १ सय जनाभन्दा बढी हुलेर राख्यो । बसभित्र राखिसकेपछि प्रहरीको व्यवहार अर्कै थियो । त्यसपछि अलि शंका लाग्न थाल्यो । त्यस ठाउँमा पार्किङ गरेर राखेका कम्पनीका सबै बसमा मान्छे समात्दै भित्र हुल्दै गर्न थाले । केही नभए पनि त्यही ठाउँबाट एक हजारभन्दा बढीलाई पक्रेर बसभित्र राख्यो होला ।

त्यसपछि हामीलाई घुमाउँदै एक्कासी सीआईडी जेलभित्र हाल्यो । यो सनैया दुई नम्बरमा दोहातिरबाट जाँदा दायाँ पर्छ । त्यसपछि हामीलाई झन् डर लाग्न थाल्यो । मेडिकल परीक्षणको लागि भनेर जेलभित्र लगेर गएपछि कसलाई डर लाग्दैन । तर पनि अस्पतालमा ठाउँ नभएर यहाँ ल्याएको होला भन्ने लाग्यो । 

हामीलाई कारागारको ६ नम्बर कोठामा लगेर राख्यो । त्यस कोठामा सुरुमा हामी ३ सय ६५ जना थियौँ । हामी सबैको मोबाइल लग्यो । त्यसपछि प्रहरीले हामीसँग ठूलै अपराधीको जस्तो व्यवहार गर्न थाले । उनीहरुले गरेको गाली त सुनाउनै सकिँदैन । केही सोध्यो भने गाली गर्थे । छातीमा हान्थे । बाथरुमको पानी दिएको थियो । 

डस्टबिनमा फालेको प्लास्टिक ल्याएर त्यसैमाथि खाना दिए । सुत्नको लागि पनि ठाउँ थिएन । क्षमताभन्दा चार गुणा बढी मान्छे राखेपछि सुत्ने ठाउँ नै भएन । त्यही जेलमा हामी ६ दिन यसैगरी बितायौँ । हामीले केही अपराध गरेर गएको भए गाली ग¥यो भनेर चित्त बुझाउन हुन्थ्यो । तर केही अपराध नगरेरै त्यस्तो गाली जिन्दगीमा पहिलोपटक सुनेको हुँ ।

कोरोनाको उपचार गर्न भनेर लगेको थियो । तर हामीलाई त त्यहाँ केही पनि स्वास्थ्य परीक्षण भएन । उल्टै त्यसरी हुलेर ६ दिनसम्म राख्दा नलागेको कोरोना पनि लाग्यो होला भन्ने शङ्का लाग्न थाल्यो ।

त्यहाँ हामीहरु विभिन्न कम्पनीका साथी थियौँ । म अलानिस ट्रेडिङ कम्पनीमा काम गर्थेँ । मेरो कम्पनीमा काम गर्ने चार जना पनि पक्राउ परेका थिए । प्रहरीले फोन थुत्नुभन्दा अगाडि नै मैले कम्पनीमा फोन गरेर प्रहरीले पक्रेर लगेको जानकारी गराएको थिएँ । तर कम्पनीले कुनै प्रतिक्रिया जनाएन । 

हाम्रो तलब १६ तारिखमा आउँथ्यो । मेरो कम्पनीले तलब हालिदिएको रहेछ । तर कतिपय कम्पनीमा काम गर्ने साथीहरुको तलब पनि हालिदिएको छैन भन्ने सुनेको छु । उनीहरुसँग एक पैसा पनि साथमा छैन । प्रायः बंगाली र पाकिस्तानी साथीहरुमा यस्तो समस्या छ । हामी सबै साथीहरुले नेपाल आएर दूतावासमा सम्पर्क गर्ने र आफ्नो समस्या राख्ने कुरा गरेका थियौँ । तर यहाँ आएपछि सबै साथीहरु यताउता गए । 

सन् २०१६ देखि म त्यही कम्पनीमा काम गर्दै आएको थिएँ । छुट्टीमा घर आएर गएको तीन महिनामात्र भएको थियो । कम्पनीलेभन्दा पनि कतारको सरकारले नै श्रमिकलाई विभिन्न बहानामा उनीहरुको देश फिर्ता पठाउन खोजेको हो जस्तो लाग्छ ।

कसैलाई के, कसैलाई के मुद्दा लगाएर फिर्ता पठाइएको छ । दश–पन्ध्र जना हुन सक्छन्, त्यस्तो गलत क्रियाकलाप गर्ने तर सोझासीधाहरुलाई पनि विभिन्न आरोप लगाएर पठाइएको छ ।

त्यहाँको सरकारले बाहिर ननिस्किनु भनेर १५ तारिखमा सूचना निकालेको थियो । तर हामीलाई १३ तारिखमा पक्रेको छ । पक्रेर खोरमा हालेर बाहिर नघुम्न भनेकाे र त्यसपछि मात्रै सूचना निकालेर सबैलाई उनीहरुको देशमा पठाउने प्रक्रिया सुरु गरेको देखिन्छ । त्योभन्दा अगाडि कम्पनीहरुमा बाहिर ननिस्किनु भनेर सामान्य जानकारी मात्र गराएको थियो । त्यसरी कडाइका साथ पक्राउ गर्ने भन्ने सूचना दिइएको थिएन ।

बिहीबार बिहान १० बजे हामीहरु नेपाल आयौँ । नो इन्ट्री भनेर पठाएको छ तर कति वर्षको लागि हो, के हो भन्ने केही थाहा छैन । हामी आफ्नो देश त फर्कियौँ । तर अरु नेपालीले यस्तो अवस्था भोग्नु नपरोस् । साथीहरुका दुःख कति थिए । हामी कोही धनीमानीका छोरा छैनौँ । कोही ऋण गरेर गएको दुई महिना पनि भएको थिएन, फर्किनुपर्‍यो । कसैले तीन, चार महिनादेखिको तलब पाएका थिएनन् । कोहीको यो देशैँसम्म काम गरेर घर फर्किने र घर बनाउने सोच थियो । साथीहरुका पीडा सम्झिदा आँखाबाट आँसु आउँछ ।

अहिले पनि त्यही जेलमा थुप्रै नेपालीलगायत विदेशी श्रमिक साथीहरु छन् । जहाँ भेट्यो त्यहीँबाट पक्रेर जेल हाल्ने गरेको छ । त्यहाँ रहेको नेपाली दूतावासले केही गरेको देखिदैन । हामीले गएर रिपोर्ट गर्ने सम्भावना नै छैन । 

नेपाल पठाउने भनेको अघिल्लो दिन जेलबाट हत्कडी लगाएरै कोठा लगेको थियो । त्यहाँ गएर कपडा ल्याउन पाएँ । खानेकुरा थियो अरु धेरै सामानहरु थिए । सबै सामान कोठामै छुट्यो । 

मैले त्यहाँ काम गरेको साढे तीन वर्ष भयो । तलब आए पनि त्यति लामो समयसम्म काम गरेकोमा उपदान दिइएको छैन । कोहीकोही त पन्ध्र बीस वर्षदेखि काम गरिरहनुभएको थियो । उहाँहरुको कसैको १० हजार कसैको ८ हजार कतारी रियाल बराबरको उपदान पाउन बाँकी थियो । उहाँहरुले त्यो पाउनुभएन । कति साथीहरुले त झन् दुईतीन महिनाको तलब समेत नपाएर फर्किनुपरेको छ ।

अब हामीले कहाँ, कसलाई भनेर न्याए पाउने हो रु दूतावासले पनि कानमा तेल हालेर बसेको छ । हामीले मरिमेटेर उनीहरुको देश बनायौँ, अहिले आफ्नो काम फुत्काएपछि हामीहरुलाई यसरी गलहत्याएर नेपाल पठायो । यो कहाँसम्मको न्याय हो रु के यसबारे नेपाल सरकारले बोल्नुपर्दैन रु
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Santosh

    March 29, 2020, 7:45 a.m.

    ६ जनाको भलीवल हेर्न १०० जना ... त्यो पनि लकडाउनको समयमा ..... ठिक गरेछ , कतारसरकारले । उसले आफ्नो देश र जनताको लागी सोच्ने हो । जव भिडभाड नगर्नु भनेर पहिल्यै सुचित गरिसकेको थियो त ... १००/१०० जना भलिवल हेर्न ...??यो त हजम भएन नी कान्छा ....

  •  0 Reply
  • sharan

    March 25, 2020, 11:55 a.m.

    कानूनअनुसार हिंड्नुपर्छ अनि बोल्ने ठाउँ हुन्छ /नेपालीको बानी हजुर कुरै नगरौं / जे नगर्नु भनेको छ, त्यही गर्नु पर्छ , अनि जे गर्नु भन्यो, त्यो चाहिं गर्दैनन / विदेशमा हुनेलाई मात्र थाहा छ हजुर , नेपालीले यहाँ कस्तो व्यवहार देखाएर हिंडछन् भनेर .....यो त आफैले बुझ्नुपर्ने कुरा हो नि , यस्तो त्रासको समयमा जमघट नगर्नु भनेपछि किन जम्मा भएर होहल्ला गर्दै हिंड्नु परेको हो /

  •  0 Reply
  • Hari khadka

    March 22, 2020, 2:23 p.m.

    के गर्छाैं त कान्छा बिदिबिधान बनाउने नेता बिदेश पठाउनेलाई चुन्छाै बिदेश अायर पनि सम्बन्धित देशको नियम पालना गर्दैनौं यस्तै हाे चित्त बुझाउ देशमा केही गर्ने साेच बनाउ ।

  •  0 Reply
  • Prabin

    March 22, 2020, 1:09 p.m.

    अर्काकाे देशमा बसे पछि नियम मान्नै पर्ने हुन्छ भन्ने कुरा हामी नेपालीलाई कसले सिकाउने ? कम्पनीले नाेटिस बाेर्ड र साइट सुपरभाइजर द्वारा बाहिर ननिस्कन सूचना जारी गरेकाे छ। सूचना पढ्ने त कहाँ हाे कहाँ, नाेटीस बाेर्ड कहाँ छ नी थाहा हुन्न नेपनलीलाई। बजार, मल, बैङ्क, मनी ट्रान्फर के खुल्ने के नखुल्ने सबै सूचना हुन्छ नाेटीस बाेर्डमा। नभए कम्पनीकाे एडमिनमा गएर सूचना लिन सकिन्छ। सूचना लिने समयमा नचाहिदाे कुरामा समय बिताउने अनि कतारले अन्याय गर्‍याे भनेर हुन्छ। जय नेपाल।

  •  0 Reply

तपाईको प्रतिक्रिया