काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिन नदिन उच्च सावधानीसँगै राष्ट्रव्यापी जनएकता अहिलेको अपरिहार्य शर्त हो । तर विदेशबाट फर्किएका नागरिक अहिले कोरोनाभन्दा डरलाग्दो सामाजिक घृणाको महामारीले पिल्सिन थालेका छन् । विदेशबाट फर्केका नागरिकसँगै उनीहरुको परिवार समेत भेदभावको सिकार हुन थालेका छन् । यस्ता अमानवीय कर्मलाई कतिपय पालिका र प्रतिनिधिले उक्साएको कारण गाउँ-गाउँमा कोरोनाका नाममा एक घरले अर्को घरलाई घृणा गर्ने अवस्था सिर्जना भएको छ ।
कतिपय जनप्रतिनिधिले जानेर,नजानेर वा ढङ्ग नपुगेर घृणाको खेतीलाई विस्तार गरिरहेका छन् । यस्ता पालिका र समुदायका कारण विदेशबाट फर्किएका नागरिक अहिले ज्वरो आउँदा समेत अस्पताल जान नपाएर आफ्नो घर र गाउँमा लुकेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कोरोना सङ्क्रमित बागलुङ कुँडुलेकी युवतीले यस्तै नियति भोग्नुपरेको तथ्य यसअघि नै सार्वजनिक भएको हो । उनी गएको चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । घर पुगेपछि बिरामी परे पनि उनी अस्पताल जान सकिनन् ।
छरछिमेकले कोरोना सङ्क्रमण भएको थाहा पाए घृणा गर्ने र पछि विवाह गर्न केटो नपाइने डरले सङ्क्रमण लुकाउनु परेको गुनासो उनको परिवारले गरेको छ । उनको स्वास्थ अवस्था अहिले सामान्य छ । अहिले हामी सबैले उनको शीघ्र स्वास्थ लाभको कामना गर्नुपर्ने बेला हो र गर्नुपर्दछ ।
सङ्क्रमण नहुँदै र स्वस्थ रहँदा पनि विदेशबाट फर्किएका आम नागरिकले चाहिँ समाजमा मुख देखाउनै पनि अप्ठ्यारो हुने अवस्था सिर्जना भएको छ । उनीहरुलाई भेदभाव गर्ने काममा नागरिक र छिमेकी मात्र होइन, पालिकाहरु समेत अग्रसर देखिएका छन् ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विदेशबाट गाउँमा आउने मानिसबारे जानकारी दिने व्यक्तिलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । पालिकाले माइकिङ गरेर विदेशबाट आएकाहरुबारे जानकारी दिन उर्दी जारी गरेको हो ।
त्यस्तै गुल्मीको गुल्मी दरबार गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरघरमा रातो झण्डा राख्न थालेको छ । छिमेकी देश भारत तथा अरु देशबाट आएका नागरिकको पहिचानका लागि झण्डा राख्ने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य संयोजकको दाबी छ ।
पालिकाहरुले राम्रै नियतले माइकिङ गरेका र घर-घरमा झण्डा गाडेका भए पनि यो काम गलत समयमा भएको छ र हचुवा तालमा भएको छ । पालिकाका यस्ता कामले विदेशबाट आएका नागरिक र उनीहरुको परिवारमा त्रास पसेको छ । साथै पालिकाका यो कामबाट 'कोरोना लागेपछि मान्छे बाँच्दैन' भन्ने अर्को अप्रत्यक्ष त्रास सहितको सन्देश पनि घर घरमा पुगेको छ ।
त्यसै पनि विदेशबाट फर्किएका नागरिक कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । यस्तो बेलामा उनीहरुले आफ्नो घर, समुदाय र पालिकाबाट सहयोग र सद्भावको अपेक्षा गरेका छन् । तर विदेशबाट फर्किएका नागरिकलाई पहिचान गर्ने नाममा पालिकाहरुले गाउँ-गाउँमा माइकिङ गर्नु,घरमा झण्डा गाड्नु तथा प्रहरीको सहयोगमा पक्राउ गर्नु निन्दनीय छ ।
हो, अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएका पाँचै जना विदेशबाट फर्किएका नेपाली नै हुन् । तर विदेश जानु र विदेशबाट फर्किनु न उनीहरुको अपराध हो, न त उनीहरुले 'आईज आईज' भनेर कोरोनालाई बोलाइ आफ्नो जीउमा बोकेर आएका हुन् । उनीहरु फर्केका देश र ट्रान्जिटमा पनि उनीहरुका कारण कोरोना फैलिएको होइन भन्ने कुरा स्पष्ट छ ।
कोरोना सङ्क्रमणका कारण संसार नै आर्तनाद गरेर चिच्याइरहेका बेला विदेशबाट फर्किएका नागरिक आफ्नो परिवार, समुदाय र आफूले छानेको पालिकाका प्रतिनिधिबाट सद्भाव, माया र सहयोगको हकदार छन् ।
पालिकाहरुले विदेशबाट फर्केका नागरिकलाई सम्झाएर, बुझाएर र स्वास्थ सेवा उपलब्ध गराएर नागरिकले अपेक्षा गरेको सद्भाव र सहयोग पूरा गर्न र गराउन सक्छन् ।
कोरोना सङ्क्रमणको डर या अरु कारणले विदेशबाट फर्केका नागरिकलाई उनीहरुकै आफन्त या छिमेकीले गर्ने व्यवहार नराम्रो हुनु भनेको समाजमा अर्को जोखिम बढ्नु हो । अहिले देश र संसार कोरोनासित लडिरहेको छ तर गाउँमा भारतबाट आएका या रोजिरोटीका लागि विदेश पुगेर फर्किएकाहरु सामाजिक वहिष्करणमा पर्ने खतरा बढेको छ ।
हो, विदेशबाट आएका व्यक्तिबाट सङ्क्रमणको खतरा छ, त्यसैले उनीहरुको स्वास्थ्य जाँच र १४ दिने एकान्तवासको नियम कडाइका साथ पालना गर्नु झनै आवश्यक छ । विदेशबाट फर्कनेलाई वैदेशिक रोजगार बोर्डले पनि विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार १४ दिन क्वरेण्टीनमा बस्न भनेको छ ।
कतिपय गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई व्यवस्थित क्वरेण्टीनमा राखेका छन् । परिवार र समुदायमा सङ्क्रमण नफैलियोस् भनेर आफै सचेत भइ सेल्फ क्वरेण्टीनमा बस्नेहरु पनि छन् ।
पालिकाका प्रतिनिधिले बुझ्नुपर्ने र बुझाउनुपर्ने मुख्य कुरा के हो भने सामान्य रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा महामारी भइ हाल्दैन । अनि सङ्क्रमण हुँदैमा ज्यान जान्छ भन्ने पनि सत्य होइन । नेपालमै पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनी पनि विदेशबाट फर्किएका थिए । अहिले उपचार गराइरहेका चार जनाको अवस्था पनि सामान्य छ ।
त्यसैले विदेशबाट फर्किएका सबै सङ्क्रमित हुँदैनन्, सङ्क्रमित भइ हाले भने पनि निको हुन्छ । यस्तो बेला अरुलाई सर्न नदिनको लागि उच्च सावधानी अपनाउने हो, १४ दिनको एकान्तवास त्यही सावधानीको पहिलो चरण हो ।
यो सावधानी सबैभन्दा पहिले विदेशबाट फर्किएकाहरुले अपनाउनुपर्छ । कथंकदाचित थाहै नपाइ आफूले कोरोना भाइरस बोकेको रहेछ भने सबैभन्दा पहिले त्यो भाइरसले आफ्नै घरका पाका र स्वास्थ्य समस्या भएका मानिसलाई आक्रमण गर्छ । अनि फैलियो भने केही घण्टामै आफ्नो परिवार, समुदाय र पालिकाका सीमा पार गरेर देशर विदेशमा फैलिन्छ ।
त्यसैले सङ्क्रमण देखिए समयमै स्वास्थ जाँच गराएर र नभए पनि १४ दिन एकान्तवासमा बसेर परिवार, समुदाय र देशमा सङ्क्रमण फैलिन नदिने अभियान सफल बनाउन विदेशबाट फर्केको नागरिकले सहयोग गर्नुपर्छ । यो कुरा बुझेकाहरु विदेशबाट फर्केकै दिनदेखि घरमै क्वरेण्टीनमा बसिरहेका पनि छन् ।
गाउँ फर्केर पनि क्वरेण्टीनमा बस्न नमान्नेलाई उनीहरुको परिवार, समुदाय र पालिकाहरुले सम्झाइ बुझाइ गरेर र आवश्यक पर्दा दबाब दिएर पनि स्वास्थ जाँच सहित क्वरेण्टीनमा राख्ने व्यवस्था मिलाउनुपर्छ । तर विदेशबाट फर्केकै कारण उनीहरुलाई पक्रन उर्दी जारी गर्ने, उनीहरुका घरमा झण्डा गाडेर अपमानित गर्ने, हेलाँ र भेदभाव गर्ने छुट न समुदायलाई छ, न नेपालका तीनै तहका सरकारलाई ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kumar limbu
April 3, 2020, 1:13 p.m.आसाध्यै महत्वपुर्ण र हाम्रो मनमा गुम्सिएका समस्या मिडियामा प्रकाशन गर्नुभयो धेरै धेरै धन्यबाद । हो यी नै अपरिपक्व नगरपालिका गाउपलिकाको प्रतिनिधीहरुले नै गर्दा हामी घर फर्कु या कता लुकेर बसु जस्तो एउटा त्रास र अपमान महसूस गरि रहेका छौ।हिजो कमाऊदसमम हाई हाई गर्ने आफ्नै साथिहरु त बोल्न छाडी सेक यो सोचाई छ हामी नेपालीमा के भन्नू र मन रोईरहेको छ