खाडीका देशमा क्वारेण्टीन अवज्ञा गर्नेलाई कडा सजाय

 चैत २९, २०७६ शनिबार १३:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ खाडीका देशमा हुनुहुन्छ र कोरोनाको कारण तपाईँलाई कम्पनीले क्वारेण्टीनमा राखेको छ भने सावधानी अपनाउनुहोला । होम क्वारेण्टीन उल्लङ्घन गर्नेलाई खाडीका केही देशले कडा कारबाही गर्ने नियम बनाएका छन् ।

यूएईले होम क्वारेण्टीन उल्लङ्घन गर्नेलाई एक लाख दिर्हाम जरिवान र तीन वर्ष सम्मको जेल सजाय हुने कानुन बनाएको छ । कोरोना रोकथामका लागि यूएईको दुबई सहर त लकडाउन नै छ । यस्तो बेला बाहिर निस्कंदा कारण देखाउनुपर्ने हुन्छ ।

सामान किन्न निस्किएको हो भने पनि किनेको बिल साथैमा राख्न दुबई प्रहरीले अनुरोध गरेको छ । तर बिना कारण बाहिर हिँडेमा पहिलो पटक ५० हजार दिर्हाम र फेरि पनि होम क्वारेण्टीनमा नबसी हिँडेको भेटेमा एक लाख दिर्हाम र तीन वर्षको जेल सजाय हुन सक्ने स्थानीय सञ्चारमाध्यम गल्फ न्युज र खालिज टाइम्सले उल्लेख गरेका छन् ।

यूएईको विपत व्यवस्थापनका निर्देशकले शुक्रबार यूएईको कानुन अनुसार होम क्वारेण्टीन उल्लङ्घन गर्नेलाई पहिलो पटक ५० हजार दिर्हाम र फेरि पनि त्यस्तो गरेमा एक लाख दिर्हामसम्म जरिबाना र तीन वर्षको जेल सजाय हुने बताएका छन् । विपद व्यवस्थापन र स्वास्थ्य मन्त्रालयको समन्वयमा होम क्वारेण्टीन उल्लङ्घन गर्नेलाई कारबाही अघि बढाइएको छ ।

शुक्रबार मात्रै होम क्वारेण्टीन उल्लङ्घन गर्ने १२९ जनालाई सार्वजनिक अभियोजनका लागि पठाएइको छ । कोरोना सङ्क्रमण रोकथामका लागि यो नीति लिइएको भन्दै आफू पनि बच्न र अरुलाई पनि बचाउन घरमै बस्न यूएईले आग्रह गरेको छ ।

यस्तै, बहराइनले पनि क्वारेण्टीन उल्लङ्घन गर्नेलाई तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ । कोराना सङ्क्रमण फैलन नदिन हातेमालो गर्दै क्वारेण्टीनमा बस्न बहराइनले आग्रह गरेको छ ।

कुवेत सरकारले पनि कोरोना सङक्रमण रोकथामका लागि कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिबाना हुन्छ ।

मलेसियामा पनि २८ अप्रिलसम्म लकडाउन भएकाले यो समयमा बिना कारण बाहिर हिँड्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया