फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - विनाशकारी भूकम्प गएको शुक्रबार ५ वर्ष पुगेको छ । बि.स. २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण ८ हजार ७ सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए । भूकम्पबाट भौतिक संरचनामा ठूलो क्षति पुग्यो । क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा र सार्वजनिक भवनलगायतका पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ । बितेका ५ वर्षमा पुनर्निर्माणको प्रगति र अबको कार्ययोजनाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग मदन पौड्यालले गर्नुभएको कुराकानी ।
भूकम्प गएको ५ वर्ष भइसक्यो । निजी आवासको काम कहिलेसम्म सकिन्छ ?
निजी आवास पुनर्निर्माणमा उत्साहजनक प्रगति भएको छ । अहिलेसम्म ८८ प्रतिशत प्रगति भएको तथ्याङ्क छ । अनुदान लिन योग्य ८ लाख २७ हजार पीडितमध्ये ४ लाख ९४ हजार अर्थात् ६३ प्रतिशतले घर बनाइसक्नुभयो । झण्डै २ लाख अर्थात् २५ प्रतिशतले घर बनाउने कामलाई निरन्तरता दिनुभएको छ । शतप्रतिशत नतिजा खोज्न सकिने अवस्था हुँदैन । तर यो आर्थिक वर्षभित्र निजी आवासको काम सक्ने हाम्रो उद्देश्य हो ।
तथ्याङ्कअनुसार १२ प्रतिशत घरधनीले अहिलेसम्म पुनर्निर्माणको काम सुरु नै नगरेको देखिन्छ । अब के गर्नुहुन्छ ?
पुनर्निर्माणको काम आफैँमा जटिल छ । ७० हजार घरको प्रबलीकरण गर्ने काममा ढिलासुस्ती भएको हो । प्रबलीकरणको कामलाई अगाडि बढाउनुपर्ने छ । त्यस्तै सम्पदा क्षेत्रका बस्ती, जोखिम वर्गका लाभग्राही, सहरी क्षेत्रको पुनर्निर्माणमा केही समस्या रहेको छ । तर पछिल्लो समय धेरै विषय सम्बोधन भइसकेको छ । जोखिम वर्गलाई सहयोग, जोडिएका घर भत्काउँदा क्षति पुग्ने घरधनीलाई पनि अनुदान दिने व्यवस्था, सम्पदा बस्तीमा पनि थप अनुदानबाट काम अगाडि बढेको छ । प्राधिकरणको समयावधिभित्रै टुङगोमा पुग्ने आशा गर्न सकिन्छ ।
प्राधिकरण आफैँले जिम्मा लिएका भौतिक संरचना निर्माणमा किन ढिलासुस्ती ?
तपाईंले धरहरा र रानीपोखरीलाई इङ्गित गर्नुभयो । सरकारले गरेको लकडाउनलाई पालना गरी अहिले पुनर्निर्माणको काम रोकिएको छ । धरहरा १० औं तलामा पुगेर रोकिएको छ । धरहरा आउँदो पुससम्ममा बनाइसक्ने लक्ष्य हो । यो एक महिनाको लकडाउनले केही पर धकेलिन सक्छ । तैपनि कार्ययोजनालाई हेरफेर गरी निर्धारित समयावधिमा सक्ने गरी गृहकार्य हुन सक्छ ।
फास्ट ट्याकमा २, ३ सिफ्टमा काम गर्नेगरी योजना बनाएर काम गर्ने विकल्प छ । तर यसबारे कोरोना सङ्क्रमणको जोखिम सहज भएपछि मात्रै छलफल गर्न सकिन्छ । रानीपोखरी आज अर्थात् बैशाख १२ गते उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको थियो । तर नहुने भयो । रानीपोखरीमा पानी राख्नको लागि तयारी गरिएको छ । कामले निरन्तरता पाएपछि एक डेढ महिनामा सकिन्छ ।
धरहरा र रानीपोखरी मात्रै होइन । अरु सम्पदाको काममा पनि ढिलासुस्ती नै छ ?
भूकम्प प्रभावित ३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण भएको छ । १५ प्रतिशत अहिले पनि काम भइरहेको छ । तपाईंले भनेजस्तै काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार र गुम्बालगायतको पुनर्निर्माण सक्ने काम बाँकी नै छ । काठमाण्डौ उपत्यकाभित्रका सम्पदा हेर्दा १ सय ७० मा ५९ प्रतिशत उपलब्धि हासिल गरेका छौँ । समग्रमा जुन जटिलताबाट आजको दिनसम्म आइपुग्यौँ सन्तोषजनक मान्नुपर्छ ।
कोरोना सङ्क्रमणले अर्थतन्त्रसँगै पुनर्निर्माणमा पनि असर पुगेको भन्नुभयो । अबको काम कसरी अगाडि बढ्छ ?
पछिल्लो चरणमा पुनर्निर्माणले गति लिइरहेको थियो । तोकेको समयमा यी कामहरुलाई टुङगोमा पुर्याउनुपर्छ भनेर लागिपरेका थियौँ । अब पुनर्निर्माणमा दुईखाले असर देखिने भएको छ । प्राधिकरणले वित्तीय व्यवस्थापन र निर्धारित समयावधिको चुनौती सामना गर्नुपर्ने छ । एक महिनादेखि लकडाउन छ । यो कति अगाडि जाने हो, निश्चित छैन । त्यसैले केही काममा पक्कै बाधा पुग्ने छ । अर्को, सरकारको राजस्वमाथि भर पर्नुपर्ने भएकोले आर्थिक समस्या झेल्नुपर्ने देखिन्छ । प्राधिकरणले आउँदो पुससम्ममा काम सक्ने भनेपनि केही समय थप हुन सक्छ । यसैपनि प्राधिकरणको एक वर्ष थप हुन सक्ने प्रावधान छ ।
उसोभए प्राधिकरणको एक वर्ष थप हुने निश्चित भयो ?
होइन । प्राधिकरणले कामको प्राथमिकता हेर्छ । पहिला निजी आवास सक्नेतर्फ नै स्रोत व्यवस्थापन गर्छौँ । त्यसपछि विद्यालय र स्वास्थ्य संस्थाको काम सक्छौँ । पुरातात्विक सम्पदाको काम नसकिने देखिन्छ । त्यसका लागि समय र स्रोत लाग्छ । अरु नवनिर्माणका केही कामहरु छन् । प्राधिकरणले धरहरा, रानीपोखरी र रत्नपार्क समेटेर बृहत् गुरुयोजना बनाएको छ । त्यसलाई सक्न समय लाग्छ । अहिले नै समय थप गर्नेबारे निष्र्कषमा पुग्न हतारो हुन्छ ।
भूकम्पले गरेको असरबाट पार पायौँ भन्ने दिन कहिले आउँछ ?
नेपालले पुनर्निर्माण र पुनस्र्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको छ । नेपाली नागरिकमा विपद्को प्रतिरोधी क्षमता छ र कठिन अवस्थाबीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि पुगेको छ । नेपालले विपद्पछि मुहार फेर्न सक्ने अवसरको रुपमा सदुपयोग गर्न सकेको छ । कोरोना भाइरसको महामारीबाट बाहिर निस्कनेबित्तिकै सबै लागेर बाँकी कामलाई टुङ्गोमा पुर्याउनुपर्छ । हामीले अब धेरै समय नलगाई पुनर्निर्माणका काम सक्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।